• २८ वैशाख २०८३, सोमबार

प्रधानमन्त्रीले लिनुभयो जेनजी आन्दोलनमा घाइतेको स्वास्थ्यबारे जानकारी

blog

जेनजी आन्दोलनमा दुवै आँखा गुमाउनुभएका घाइते सन्तोष बोहरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै प्रधानमन्त्री सुशीला कार्की।

काठमाडौँ, मङ्सिर २ गते । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दुवै आँखा गुमाउनुभएका घाइते सन्तोष बोहरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुगेर उहाँले घाइते बोहराको उपचारको अवस्थाबारे जानकारी लिँदै परिवारसँग पनि भलाकुसारी गर्नुभएको हो । 

वीरेन्द्रनगर नगरपालिका–२, भुरेली, सुर्खेतका बोहरालाई भदौ २४ गते सुर्खेतमै गोली लागेको थियो। गोली लागेपछि उहाँले दुवै आँखा गुमाउनुभएको हो।

उहाँका बुवा चन्द्रबहादुर बोहोराले छोरा सन्तोषलाई यो अवस्थामा पुर्‍याउनेमाथि कारबाही हुनुपर्ने माग गर्नुभयो।

उहाँले आफ्नो छोरा जीवनभर काम गर्न नसक्ने भएकाले श्रीमती, चार वर्षीया छोरी र बुवाआमाको सहारा गुमेकोमा चिन्ता पनि व्यक्त गर्नुभयो।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘तपाईँलाई धेरै दुःख परेको छ, त्यो त मैले बुझिरहेको छु। किनभने हामी पनि आमाबाबु हौँ। सन्तानको माया कस्तो हुन्छ भन्ने मैले पनि महसुस गर्न सक्छु। तर यो समस्या तपाईँको मात्र होइन। उपचारका लागि सम्भव हुन सक्ने जति सबै उपाय लगाऔँला। बच्चाको पढाइ, श्रीमतीको कामको लागि पनि पहल गरौँला। चिन्ता नगर्नुहोस्।’ 

अस्पतालमा श्रीमती निर्मला र अन्य आफन्त हुनुहुन्थ्यो।