• २० कात्तिक २०८२, बिहिबार

उपत्यकामा मतदाता दर्तामा युवाको उत्साहजनक सहभागिता

blog

काठमाडौँ, कात्तिक २० गते । आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य जारी छ । 

यसक्रममा काठमाडौं उपत्यकाका तीनै जिल्लामा विशेष गरी २५ वर्षभन्दा कम उमेरका युवाको उत्साहजनक सहभागिता देखिएको छ ।

निर्वाचन आयोगको निर्णयअनुसार असोज १० गतेदेखि देशभर मतदाता नामावली सङ्कलन कार्य सुरु भएको हो । काठमाडौं उपत्यकाका तीन जिल्ला निर्वाचन कार्यालयहरूमा दैनिक सयौँ नयाँ मतदाता दर्ता गराइरहेका छन् ।

काठमाडौंमा नयाँ मतदाता थप्ने उत्साह

जिल्ला निर्वाचन कार्यालय, काठमाडौँका प्रमुख ठाकुरप्रसाद भट्टराईका अनुसार राजधानीमा हालसम्म १४ हजार ८५१ जनाले नयाँ नाम दर्ता गराइसकेका छन् । तर यो सङ्ख्या काठमाडौँमा बसोबास गर्नेको मात्र होइन अन्य जिल्लाका नागरिकलाई समेत समेट्छ ।

काठमाडौँमा हाल पुराना मतदाताको सङ्ख्या ६ लाख ५५ हजार ९९८ रहेको छ, जसमा महिला मतदाता ३ लाख ३८ हजार ६०६ र पुरुष मतदाता ३ लाख १७ हजार ३८३ जना छन् ।भट्टराईका अनुसार अहिले दैनिक ८ देखि ९ सय जना मतदाता नाम दर्ताका लागि आउने क्रम जारी छ ।

उहाँले भन्नुभयो, “हाल दर्ता गराउनेहरूमा २० देखि २५ वर्ष उमेर समूहका जेनजी पुस्ताका युवा धेरै छन् । बिहान १० देखि १२ बजेसम्म कार्यालयमा निकै भीड हुन्छ । उत्साहजनक कुरा के हो भने, युवा पुस्ता आफ्नो मतदान अधिकारप्रति सचेत हुँदै सहभागी भइरहेका छन्।”

ललितपुरमा पनि युवाको सक्रियता

जिल्ला निर्वाचन कार्यालय, ललितपुरका प्रमुख गोमा धमला घिमिरेका अनुसार ललितपुरमा हालसम्म ६ हजार २४७ जना नयाँ मतदाता थपिएका छन् ।

त्यसमध्ये पुरुष मतदाता ३ हजार ४४६ र महिला मतदाता २ हजार ८०१ जना छन् ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा ललितपुरमा जम्मा २ लाख ५० हजार ४१० मतदाता थिए ।

घिमिरेका अनुसार अहिले पनि दैनिक सरदर ४ सयभन्दा बढी नागरिक नाम दर्ताका लागि आइरहेका छन् ।

उहाँले भन्नुभयो, “२५ वर्षभित्रका युवाहरूको सहभागिता अत्यन्तै उत्साहजनक छ । मागअनुसार नाम दर्ता कोटा बढाउने तयारीमा छौँ ।”

भक्तपुरमा पनि बढ्दो भीड

जिल्ला निर्वाचन कार्यालय, भक्तपुरका प्रमुख प्रकाश मगरका अनुसार भक्तपुरमा हालसम्म ५ हजार १६१ जना नयाँ मतदाता थपिएका छन् ।

त्यहाँ दैनिक सरदर साढे तीन सयभन्दा बढी नयाँ मतदाता दर्ताका लागि आउने गर्छन् ।

मगरका अनुसार मङ्गलबार मात्रै करिब ४ सय जना, बुधबार करिब ५ सय जना नयाँ मतदाता दर्ताका लागि आएका थिए ।

उहाँले भन्नुभयो, “भक्तपुरमा पनि युवाको उपस्थिति उत्साहजनक छ । साँझसम्म कार्यालयमा भीड लाग्ने गरेको छ ।”

भक्तपुरमा अघिल्लो निर्वाचनमा जम्मा १ लाख ९३ हजार ४८२ मतदाता रहेका थिए ।

तीनवटै जिल्लाको मतदाताको यो विवरण कात्तिक १९ गतेसम्मको हो । 

युवाप्रति केन्द्रित निर्वाचन तयारी

काठमाडौं उपत्यकामा देखिएको यो बढ्दो उत्साह आगामी निर्वाचनप्रति नयाँ पुस्ताको चासो र जिम्मेवारी बोधको संकेतको रूपमा हेरिएको छ ।

२५ वर्षभित्रका युवाले पहिलो पटक आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउँदा निर्वाचन आयोगले समेत यसलाई लोकतान्त्रिक सहभागिताको सशक्त उदाहरणका रूपमा मूल्याङ्कन गरेको छ ।

युवाको यो बढ्दो सहभागिता आगामी प्रतिनिधि सभा निर्वाचनमा मतदान दर वृद्धि र सचेत मतदाताको उदयतर्फको सकारात्मक संकेतका रूपमा पनि हेरिएको छ ।



Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।