• २४ वैशाख २०८१, सोमबार

खाद्य कम्पनीसँग छैन खाद्यान्नको मौज्दात

blog

काठमाडौँ, माघ २९ गते । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग खाद्यान्नको मौज्दात सकिनै लाग्दा जोखिमपूर्ण अवस्थामा पुगेको देखिएको छ । 

भैपरी आउने प्राकृतिक प्रकोप, बाढीपहिरो, भूकम्प जस्ता विपत्तिमा खाद्यान्नको आपूर्ति व्यवस्था सहज बनाउन पर्याप्त मात्रामा खाद्यान्न मौज्दात राख्नुपर्ने व्यवस्था भए पनि कम्पनीसँग न्यून मात्र खाद्यान्न मौज्दात रहेको छ । 

समयमा खाद्यान्नको मौज्दात पर्याप्त राख्न नसक्दा आपत्कालीन अवस्था आइपरे खाद्यान्नको अभाव हुने देखिएको छ । कम्पनीको मुलुकभर रहेका अधिकांश गोदाम खाली छन् । 

सार्क खाद्य बैङ्कमा आठ हजार मेट्रिक टन र बफर स्टकमा २५ हजार मेट्रिक टन अनिवार्य रूपमा खाद्यान्न मौज्दात राख्नुपर्ने व्यवस्था भए पनि हाल कम्पनीसँग अहिले कुल आठ हजार ९६३ मेट्रिक टन खाद्यान्न मौज्दात छ । 

कम्पनीसँग खाद्यान्नको मौज्दात न्यून हुँदा भैपरी आउने समस्याका लागि खाद्यान्न ढुवानी गर्न सकिने अवस्था छैन । कम्पनीका खरिद विभाग प्रमुख भेषनाथ न्यौपानेका अनुसार यो वर्ष धान खरिद गर्न नसक्दा खाद्यान्नको मौज्दात कम भएको हो ।

 कम्पनीसँग हाल पाँच हजार ६३१ मेट्रिक टन चामल, तीन हजार २६८ मेट्रिक टन धान, ५३ क्विन्टल गहुँ, मास, मुसुरोको दाल १० मेट्रिक टन खाद्यान्न बाँकी छ । 

यसमध्ये २३ दुर्गम जिल्लामा एक हजार २८६ मेट्रिक टन मात्रै चामल मौज्दात छ । काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा चार हजार ३४४ मेट्रिक टन चामल मौज्दात रहेको कम्पनीले जनाएको छ । 

कम्पनीले आफूसँग भएको सम्पूण मौज्दातलाई सार्क खाद्य बैङ्कको गणनामा समावेश गरेकाले बफर स्टकमा भने ९६३ मेट्रिक टन जगेडा राखिएको छ । दक्षिण एसियाली सहयोग सङ्गठनका सदस्य राष्ट्रहरूमा खाद्य सङ्कट र प्राकृतिक विपत्तिका बेलामा सघाउन सार्क खाद्य बैङ्कमा खाद्यान्न मौज्दात राखिन्छ । देशभित्रै आउन सक्ने बाढीपहिरो, भूकम्प जस्ता प्राकृतिक विपत्तिका लागि बफर स्टकमा खाद्यान्न जोगाएर राखिएको हुन्छ । खाद्यान्नको मौज्दात नहुँदा दुर्गम जिल्लामा समेत समयमा खाद्यान्न ढुवानी गर्न नसकिने देखिएको छ । 

कम्पनीले बजारबाट धान खरिद गरेर कुटाएर सुगम तथा दुर्गम जिल्लामा सुपथ मूल्यमा बिक्री गर्दै आएको छ तर यस वर्ष भने धान खरिद गर्न कम्पनी अफसफल रह्यो । कम्पनीले चालु आर्थिक वर्षमा पाँच लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेकामा ४६ हजार ६४९ क्विन्टल मात्र खरिद गरेको छ । 

सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा किसानले व्यापारीलाई धान बिक्री गर्दा बजारमा धान नपाएर खरिद गर्न नसकेको कम्पनीको दाबी छ । 

सरकारले चालु आवका लागि मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १९८ रुपियाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ३६२ रुपियाँ निर्धारण गरेको थियो । धान खरिद गर्न नसकेपछि तीन लाख ३६ हजार क्विन्टल चामल खरिद गर्न कम्पनीले गत मङ्सिर ६ गते टेन्डर आह्वान गरेकोमा कसैले पनि आवेदन दिएनन् । 

कम्पनीले पुनः दुई लाख ७७ हजार क्विन्टल चामल खरिद गर्न टेन्डर आह्वान गरेको जनाएको छ ।