शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
पाटन (ललितपुर), कात्तिक ६ गते । ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशीले गए राति २ः५० बजे खोटाङ, साकेला गाउँपालिका-१ का शिवकुमार विकलाई पेस्तोल र चार लाख अठहत्तर हजारसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।
खोटाङ, साकेला स्थानीय ठेगाना भएका विक हाल ललितपुर महानगरपालिका-२३, धापाखेलमा बस्दै आएका थिए । “विकले मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनी स्थानीय खबर गर्नुभएपछि प्रहरी प्रभाग धापाखेलबाट खटिएको टोलीले शङ्काका आधारमा जाँच गर्दा ५००००४९१ नम्बरको म्याग्जिनसहितको गोली नभएको चाइनिज पेस्तोल थान-१, नगद र मोबाइल फोन पनि बरामद भएको छ ।”
विकलाई हाल नियन्त्रणमा लिई अनुसन्धान सुरु भएको उहाँले बताउनुभयो । रासस