• १५ वैशाख २०८१, शनिबार

यु–१९ क्रिकेट मिश्रित प्रदर्शन

blog

विश्वस्तरीय खेलकुदमा क्रिकेटले नेपाललाई धेरै खुसी दिएको छ । यस मामिलामा नेपालको यु–१९ क्रिकेट टिम पनि पछाडि छैन । एक समय टेस्ट नखेल्ने राष्ट्रबाहेक एसियाली उमेर समूह क्रिकेटमा नेपालको छवि अजय टिमको थियो । त्यसबेला नेपालले चार पटक लगातार एसिसी कपको उपाधि जितेको थियो ।  विगतमा नेपाल यु–१९ विश्वकपमा टेस्ट राष्ट्रलाई स्तब्ध पार्ने ‘जायन्ट किलर’ नै थियो । सन् २००० मा केन्या, सन् २००२ मा पाकिस्तान र बङ्गलादेश, सन् २००४ मा दक्षिण अफ्रिकालाई हराएको नेपालले सन् २००६ को संस्करणमा त आयरल्यान्डसाथै दक्षिण अफ्रिका र न्युजिल्यान्ड जस्ता टेस्ट खेल्ने राष्ट्रको युवा टिमलाई धरापमा पारेको इतिहास छ ।

नेपालले विश्वकप यु–१९ प्लेट च्याम्पियनसिप नै जितिसकेको छ । त्यसैले विश्व क्रिकेटमा नेपाली यु–१९ क्रिकेट टिमको नाम ठुलो सम्मानका साथ लिइन्छ । सन् २००० देखि २००८ सम्म नेपालले लगातार पाँच पटक यु–१९ विश्वकप खेलेको थियो तर सन् २०१० पछि युवा विश्वकपमा नेपाल दुई पटक मात्र खेल्न सकेको छ । नेपालले सन् २०१२ र २०१६ मा पनि यु–१९ विश्वकपमा सहभागिता जनाएको छ । यसपालि नेपाल आठ वर्षपछि विश्वकपमा पुग्न सफल भएको हो ।  गत फागुनमा नेपालको युवा क्रिकेट टिमले आइसिसी यु–१९ विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई नाटकीय रूपमा हराएर विश्वकपमा खेल्न योग्य भएको  हो । लामो समयपछि पुनरागमन जनाएको नेपालले आइसिसी यु–१९ विश्वकपमा नेपालको प्रदर्शन मिश्रित रह्यो ।

नेपाल यसपालि कठिन समूहमा थियो । नेपालको समूहमा तीन टेस्ट राष्ट्र न्युजिल्यान्ड, दुई पटकको विजेता पाकिस्तान र अफगानिस्तान थिए । सिनियर टिममा यी तीनै राष्ट्रको स्तर नेपालभन्दा धेरै माथि छ तर उमेर समूहमा नेपाललाई हलुका रूपमा लिइएको थिएन । किनभने यु–१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध दुई पटक भएको भिडन्त (सन् २००६ र सन् २०१६) मा नेपालले बाजी मारेको थियो ।

यो मञ्चमा नेपालले पाकिस्तानलाई पनि हराइसकेको थियो । अफगानिस्तानको युवा टिमलाई त नेपाल बराबर नै मानिएको थियो । समूह चरणका सुरुका दुई खेलमा नेपाल न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भयो । नेपाल न्युजिल्यान्डविरुद्ध ६४ रन र पाकिस्तानविरुद्ध पाँच विकेटले निराश बनेको थियो । यद्यपि यी दुवै खेलमा नेपालले आत्मसमर्पण भने गरेन । 

नेपालले न्युजिल्यान्डविरुद्ध विशाल लक्ष्य पछ्याउने क्रममा प्रारम्भिक ब्याट्सम्यान अर्जुन कुमालले ९० रनको पालि खेलेर विशेष ब्याटिङ गर्नुभयो । अर्जुन नर्भस नाइटिजको सिकार हुनुभयो । अन्यथा उहाँ यु–१९ विश्वकपमा शतक बनाउने नेपालका पहिलो ब्याट्सम्यान बन्नुहुन्थ्यो । पाकिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै १९७ रनको स्कोर तयार पारेको थियो । नेपाली बलरहरूले पाकिस्तानलाई सजिलै खेल जित्न दिएन । पाकिस्तानले पाँच विकेट गुमाएपछि १४ बल बाँकी हुँदा मात्र सामान्य मानिएको स्कोर पछ्याउन सकेको हो । नेपाल र अफगानिस्तानविरुद्धको खेल यस विश्वकपकै सबभन्दा सनसनीपूर्ण खेल बन्यो । सुपर सिक्समा पुग्न यी दुवै टिमलाई अन्तिम खेलमा ‘गर या मर’ को स्थिति बनेको थियो । जुन खेलमा नेपालले अफगानिस्तानलाई नाटकीय रूपमा एक विकेटले हरायो । पुछारका ब्याट्सम्यानको अन्तिम समयसम्म हार नमान्ने लडाकु स्वभावले नेपालले सनसनीपूर्ण जित हात पा¥यो । सोही जितले नेपाल समूहमा तेस्रो हुँदै सुपर सिक्समा पुग्यो । त्यसपछि सुपर सिक्समा नेपालको अगाडि थिए– पछिल्ला दुई संस्करणका विजेता बङ्गलादेश र भारत । सुपर सिक्समा भने नेपालले यी दुवै टिमलाई खासै चुनौती दिन सकेन ।

यसपालि ब्याटिङ नेपालको विश्वकप यात्रामा हारको सबभन्दा ठुलो कारण बन्यो । नेपाली युवा ब्याट्सम्यानले राष्ट्रको इज्जत काँधमा बोक्न सकेनन् । स्तरीय तेज बलिङ र स्पिन आक्रमणमा नेपाली ब्याट्सम्यान रन बनाउन सङ्घर्षरत बने । नेपालका शीर्ष ब्याट्सम्यान आलोचनाका भागी बने । नेपाललाई ब्याटिङले सबभन्दा ठुलो धोका दियो भन्दा फरक पर्दैन । किनभने बलिङ यसपालि पनि सधँै जसो शानदार थियो । अहिलेको आधुनिक क्रिकेट हेर्ने हो भने यो ब्याट्सम्यानको खेल भइसकेको छ । त्यसैले यस पक्षमा सुधार हुन सकेन भने अब स्तरीय टिमका सामु टिक्न सकिँदैन भन्ने यस प्रतियोगिताले साबित गरेको छ ।

प्रारम्भिक ब्याट्सम्यानले पालिको आधार नै तयार पार्न सकेन । जग बलियो भए मात्र टिकाउ घरको आशा गर्न सकिन्छ तर नेपालका प्रारम्भिक जोडी हरेक खेलमा असफल भए । अर्जुनले न्युजिल्यान्डविरुद्ध खेलेको ठुलो अर्धशतकीय पालि र विपिन रावलले पाकिस्तानविरुद्ध खेलको ३९ रनबाहेक अन्य सबै खेलमा प्रारम्भिक ब्याट्सम्यान असफल भए । प्रशिक्षक जगत टमाटाले अर्जुनलाई साथ दिनसक्ने लायक प्रारम्भिक जोडी फेला पार्न सक्नुभएन । उहाँले विपिन रावल र दीपक बोहोरालाई खेलपिच्छे अर्जुनसँग प्रयोग गरिरहनुभयो ।

कप्तान देव खनालका अनुसार नेपालले सबै खेल ब्याटिङका लागि अनुकूल पिचमा नै खेलेको थियो तर नेपालले आफूले खेलेका पाँच खेलमध्ये न्युजिल्यान्डविरुद्ध मात्र दुई सय रन नाघ्न सक्यो । सो खेलमा पनि न्युजिल्यान्डले पहिले ब्याटिङ गरी ३०२ रन बनाएको थियो । नेपाली ब्याट्सम्यान टेक्निकली कमजोर देखिए । विशेषतः शीर्ष र मध्य क्रमका ब्याट्सम्यानले निराश पारे । प्रायः खेलमा पुछारका ब्याट्सम्यानको उपयोगी पालिले नेपाल सम्मानजनक स्कोरसम्म पुगेको थियो ।  व्यक्तिगत प्रदर्शन हेर्ने हो भने बलरहरू हिट र ब्याट्सम्यान फ्लप बने । नेपालका ब्याट्सम्यानहरूले किस्तामा मात्र राम्रो खेले । मज्जा तब मात्र आउँथ्यो, जब पूरै टिम एकजुट भएर खेल्थ्यो । बलरलाई कुनै पनि खेलमा ब्याट्सम्यानले साथ दिएको देखिएन । जित सधँै सामूहिक प्रयासमा मात्र प्राप्त हुन्छ तर नेपालले खेलेका सबै खेलमा बलिङको मात्र प्रमुख योगदान रह्यो । नेपालको तर्फबाट प्रतियोगिताभरि मात्र दुई अर्धशतक प्रहार भयो । पहिलो खेलमै शतकको नजिक पुगेका अर्जुनले बाँकी खेलमा आफ्नो लयलाई कायम राख्न सक्नुभएन । 

कप्तान देवले अफगानिस्तानविरुद्धको जितमा ५८ रनको प्रेरणादायी पालि खेल्नुभयो । विशेषतः नेपाली सिनियर टिमका नियमित सदस्य गुलसन झाले निराश पार्नुभयो । यस विश्वकपमा उहाँको काँधमा नेपाललाई अगाडि बढाउने ठुलो जिम्मेवारी थियो । नेपालका लागि केही अविस्मरणीय पालि खेलिसकेका गुलसनले पाँच पालिमा २५ रन मात्र बनाउन सक्नुभयो । विश्वकपअघि अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध ११४ रनको शतकीय पालि खेलेपछि गुलसनले दक्षिण अफ्रिकामा चमत्कार गर्ने अपेक्षा गरिएको थियो । आइसिसीले नै गुलसनलाई प्रतियोगितापूर्व हेर्नलायक खेलाडीको श्रेणीमा राखेको थियो तर गुलसन अपेक्षामा खरो उत्रन सक्नुभएन । गुलसनको ब्याट्बाट रन निस्कन्छ भन्ने आसैआसमा नेपालको चुनौती सकियो ।

बलिङमा नेपालको स्पिन आक्रमण स्तरीय थियो । सुभाष भण्डारी, दीपेश कँडेल र तिलक भण्डारीले हरेक खेलमा आफ्नो टिमलाई खेलमा फर्काउने भरमग्दुर प्रयास गरे । तेज बलिङ आक्रमणमा भने सामूहिक प्रयास भएन । तेज बलर आकाश चन्दको क्षमतासँग भने विश्व क्रिकेट नै परिचित भयो । उहाँलाई गुलसन र दुर्गेस गुप्ताले उचित साथ दिन नसक्दा नेपाललाई फाइदा पुगेन । आकाश र सुभाषले कुल नौ/नौ विकेट लिनुभयो । 

आकाशले त विश्वकपमा राम्रो प्रदर्शन गरेपछि सिनियर टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईबाट पुरस्कार पनि पाउनुभयो । देसाईले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय शृङ्खलामा आकाशलाई नेपालको सिनियर टिममा सामेल गर्नुभएको हो । आकाश पहिलो पटक राष्ट्रिय टिममा पर्नुभएको हो । यु–१९ विश्वकप क्रिकेट राष्ट्रिय टिमको ढोका ढकढकाउने ठुलो अवसर हो । यु–१९ विश्वकपमा राम्रो गर्ने क्रिकेटरले राष्ट्रिय सिनियर टिममा फटाफट स्थान बनाएको उदाहरण विश्वका सबैजसो टिममा देख्न पाइन्छ । यस उदाहरणमा नेपालका तेज बलर आकाश चन्द पनि थपिएका छन् ।