काठमाडौँ, असोज १९ गते । नेपाली क्रिकेटले थुप्रै महत्वपूर्ण फड्को पार गरेको छ । हालै नेपालले अर्को उपलब्धि हासिल ग¥यो टेस्ट मान्यताप्राप्त वेस्ट इन्डिजविरुद्धको शृङ्खला जितको रूपमा ।
संयुक्त अरब इमिरेट्स (युएई) को शारजाहा क्रिकेट मैदानमा नेपालले तीन खेलको टी–२० शृङ्खलाको आयोजना गरेको थियो । नेपालले आइसिसीको पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय शृङ्खला खेलेको यो पहिलो पटक थियो । वेस्ट इन्डिज सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जित्ने टिम हो । त्यसैले टी–२० शृङ्खला खेल्नुअघि नेपालले वेस्ट इन्डिजविरुद्ध शृङ्खला जित्छ भन्ने कमै थिए । त्यसैले कप्तान रोहित पौडैलले युएई जानुअघि वेस्ट इन्डिजविरुद्ध शृङ्खला जितेर नेपाली जनतालाई खुसी दिन्छु भन्ने भनाइ बढी बोलेको त होइन भन्ने पनि थिए ।
विगतमा अपराजित टिम थियो वेस्ट इन्डिज तर लगातार उसको प्रदर्शन खस्किँदै गयो र वेस्ट इन्डिज साधारण टिममा रूपान्तरित हुन गयो । यद्यपि क्रिकेटका अन्य संरचनामा खस्कँदै गए पनि वेस्ट इन्डिज टी–२० संरचनामा निकै सशक्त टिम हो । वेस्ट इन्डिजका प्रायः सबै खेलाडी आइपिएल र बिग ब्यास जस्ता टी–२० प्रतियोगितामा छाएकै कारण पनि वेस्ट इन्डिज टी–२० संरचनामा हेर्नलायक टिमका रूपमा रहेको हुन्छ । अझ वेस्ट इन्डिज क्यारबियन प्रिमियर लिग (सिपिएल) खेलेर नेपालसँग खेल्न युएई आएकाले खेलाडीहरू राम्रो ‘म्याच प्राक्टिस’ मा थिए ।
यद्यपि रोहितको शृङ्खला जित्छु भन्ने भनाइ खेलाँची पनि थिएन । त्यसका केही कारण थिए । भारतसँगको शृङ्खलाका लागि वेस्ट इन्डिजले पहिलो रोजाइका खेलाडीलाई तयारीमा राखेर नेपालविरुद्ध खेल्न वेस्ट इन्डिजले स्पिनर अकिल हुसेनको नेतृत्वमा युवा टिमलाई युएई पठाएको थियो । वेस्ट इन्डिजको टिममा पाँच नयाँ खेलाडी थिए । वेस्ट इन्डिजको टिममा लय पनि थिएन । नेपालसँग खेल्नुअघि उसले पाँचमध्ये चार खेलमा हार बेहोरेको थियो । यसै गरी सन् २०२४ अप्रिलमा वेस्ट इन्डिज ‘ए’ टिमले पाँच टी–२० शृङ्खला खेल्न नेपालको भ्रमण गर्दा नेपाललाई दुई खेलमा जित हात पारेको थियो । त्यसैले पनि नेपाली टिमबाट अपेक्षा भने थियो ।
नेपालका कप्तान रोहितले कुरा मात्र होइन काम गरेर देखाउनुभयो । नेपालले पहिलो खेल १९ रनले जितेर नै आफ्नो क्रिकेटको इतिहासमा गौरवशाली अध्याय कोरेको थियो । जुन आइसिसीको पूर्ण सदस्य राष्ट्रविरुद्ध नेपालको पहिलो जित हो । अझ टेस्ट मान्यताप्राप्त राष्ट्रसँग द्विपक्षीय शृङ्खला खेलेको पहिलो पटकको सुरुको खेल भएकाले पनि यो जित विशेष बन्यो ।
नेपालले दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले सजिलै हराएर पहिलो जित टुक्का नभएको साबित गर्दै टेस्ट राष्ट्रविरुद्धको शृङ्खला कब्जा गरेर इतिहास बनायो । यद्यपि तेस्रो तथा अन्तिम खेलमा दस विकेटले पराजित भएपछि नेपालले शृङ्खला क्लिन स्विपको अर्को इतिहास भने बनाउन सकेन ।
वेस्ट इन्डिजविरुद्धको यस जितले नेपाली क्रिकेट अब विश्वका ठुला क्रिकेट राष्ट्रलाई पनि हराउन सक्षम छ भन्ने सन्देश दिएको छ । यसै गरी यस शृङ्खला जितले आगामी दिनमा अझ ठुलो सम्भावनाको ढोका खुल्ने पक्का छ ।
उल्लेखलायक ब्याटिङ, बलिङ र फिल्डिङ
अन्तिम खेललाई छोड्ने हो भने क्रिकेटका तीनै पक्ष ब्याटिङ, बलिङ र फिल्डिङमा वेस्ट इन्डिजले नेपालको सामना गर्न सकेन । पहिलो खेलमा नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४८ रनको सामान्य स्कोर बनाएको थियो । सो खेलमा कप्तान रोहित पौडेलले सङ्कटमोचक बन्दै सर्वाधिक ३८ रन बनाएर नेपाली पालिको उद्धार गर्नुभएको थियो ।
वेस्ट इन्डिज जस्तो सशक्त टिमलाई नेपालले दिएको लक्ष्य कम हुने अनुमान गरिएको थियो तर नेपालले शानदार बलिङ र फिल्डिङमार्फत वेस्ट इन्डिजलाई नौ विकेटको क्षतिमा १२९ रनमै रोक्यो । नेपाली खेलाडीले मैदानमा चुस्त फिल्डिङ गरेर थुप्रै रन बनाएपछि वेस्ट इन्डिजका ब्याट्सम्यानलाई ‘स्ट्राइक रोटेट’ गर्न पनि कठिन भएको थियो । सोही दबाबमा वेस्ट इन्डिजले लगातार विकेट गुमायो ।
दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई पूर्ण रूपमा दबाबमा राखेर खेल जित्यो । नेपालले पहिले ब्याटिङ गरी निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । वेस्ट इन्डिज जवाफमा १७.१ ओभरमा ८३ रनमा अलआउट भयो । एक खेलअघि नै शृङ्खला कब्जा गरिसकेको नेपाललाई अन्तिम खेलमा दस विकेटले हराएर वेस्ट इन्डिजले आफ्नो इज्जत भने जोगाउन सफल भयो ।
व्यक्तिगत प्रदर्शन हेर्ने हो भने यस प्रतियोगितामा नेपाल कुनै विशेष खेलाडीको भर परेन । सबैले फरक फरक खेलमा जितको योगदान दिए । पहिलो खेलमा कप्तान रोहित र कुशल मल्लले सङ्कटको समयमा सङ्कटमोचक बनेर ब्याटिङ गर्नुभयो । दोस्रो खेलमा आसिफ शेखले अविजित ६८ रनको पालि खेल्नुभयो । सो खेलमा सन्दीप जोराले ३९ बलमा बनाएको ६३ रन लामो समयसम्म सम्झिने पालि रह्यो । सो खेलमा जोरासँग अर्का खेलाडी आदिल आलमले चार विकेट लिएर नेपालको टिममा आआफ्नो पुनरागमन सफल पार्नुभयो । कुशल भुर्तेलले तीन विकेट लिनुका साथै फिल्डिङमा विश्वस्तरीय प्रदर्शन गर्नुभयो । गुलसन झाले पनि अपत्यारिलो दुई क्याच लिनुभयो ।
तेस्रो खेलमा वेस्ट इन्डिजले एकपक्षीय जित हासिल ग¥यो तर सो खेलमा पनि भुर्तेलले उल्लेखलायक ब्याटिङ गर्नुभयो । भुर्तेल ब्याटिङमा ठिकठाक प्रदर्शनपछि पनि बलिङ र फिल्डिङमा चम्केर प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी चुनिनुभयो । नेपालका लागि जोराले १४३.३३ को स्ट्राइकर रेटमा सर्वाधिक ८६ रन बनाउनुभयो ।
उच्च मनोबलसहित विश्वकप छनोटमा
वेस्ट इन्डिजविरुद्धको शृङ्खला नेपालका लागि आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको अन्तिम तयारी पनि थियो । नेपाल लगातार टी–२० विश्वकप खेल्ने अभियानमा रहेको छ । कप्तान रोहितले बिदाइ कार्यक्रममा वेस्ट इन्डिजविरुद्धको शृङखला जित र विश्वकपमा चयन हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँको एउटा प्रतिबद्धता पूरा भइसकेको छ ।
वेस्ट इन्डिजविरुद्धको शृङ्खलापछि नेपाल विश्वकप टी–२० खेल्ने प्रमुख दावेदारका रूपमा प्रस्तुत भएको छ । नेपाली समर्थक अहिले ओमानमा अक्टोबर ८ देखि १७ सम्म हुने प्रतियोगितामा आफ्नो टिमको अर्को उत्कृष्ट प्रदर्शनको पखाईमा छ । विश्वकप छनोटमा नौ टोली सहभागी छन् । जसमध्ये शीर्ष तीन टिम विश्वकपमा खेल्न योग्य हुने प्रावधान रहेको छ । नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्ने छ ।