काठमाडौँ, साउन १८ गते । उपत्यकाका नेवार समुदायले चन्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्रशुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुंला पर्व मनाउने गरिन्छ । यस पर्वमा २२ टोलका गुंला बाजा (धाःबाजा) सहितको समूहले बिहान सबेरै स्वयम्भूलगायत विभिन्न विहार, चैत्यको परिक्रमा गर्दछ ।
सात बहाः बहीका गुंला बाजा समूह शनिबार स्वयम्भूबाट सिधै इतुम्बहाल पुगे । सन्दर्भ थियो, ‘गुंलाबाजा साङ्गीतिक शुभकामना आदानप्रदान तथा प्रदर्शनी ।’ जुन प्रदर्शनी केशचन्द्र गुंलाबाजं खलःले आयोजना गरेको हो । सो प्रदर्शनीमा आयोजकसहित धर्मचक्र महाविहार गुंलाबाजं खलः वतु, कीर्तिपुण्य महाविहार गुंलाबाजं खलः लगं, कीर्तिपुण्य महाविहार गुंलाबाजं खलः कोहिति, ओमबहाः गुंला बाजं खलः, रत्नमण्डल महाविहार गुंलाबाजं खलः नघः र चारुमती गुंला बाजं खलः चाबही सहभागी भएका थिए । यी समूहले ‘चो, जति, पलेमा’ जस्ता ताल र बोलमा प्रस्तुति दिए । गुंला बाजा भगवान् बुद्धलाई मनपर्ने सङ्गीत हो, भनिन्छ ।
प्रत्येक बहाः बहीका बाजा समूहबाट कम्तीमा सात र बढी १० जनाले प्रस्तुति दिएका थिए । विशेष आकर्षणका रूपमा अन्तिम प्रस्तुति रह्यो । सातै समूहले एकै पटक गुंला बाजा र नायखिं बजाएर वातावरण गुञ्जयमान बनाएका थिए । बाजा प्रदर्शनीमा सहयोगीका रूपमा बाँसुरी, भुस्याः, ता (तिंछु), छुस्या पनि बजाइएको थियो ।
आयोजक केशचन्द्र गुंलाबाजं खलःका अध्यक्ष सुजितमान शाक्यले यो कार्यक्रमको उद्देश्य विभिन्न बहाःबहीबिच सद्भाव बढाउने र युवापुस्तालाई यस्ता परम्परागत बाजा तथा पर्वमा आकर्षित गर्नु रहेको बताउनुभयो । “हामी सबै बाजा समूह छरिएर बसेका थियौँ । यो कार्यक्रमले हामी सबै एक हौँ भन्ने सन्देश दिएको छ,” उहाँले भन्नुभयो । यस्तो कार्यक्रमले युवापुस्तालाई आकर्षित गरेर पुस्तान्तरणमा सहयोग गर्ने उहाँको बुझाइ छ ।
प्रदर्शनीको विशेषता भनेको सबै समूहले बाँसुरीको धुनमा आआफ्नो प्रस्तुति दिनु रह्यो । केशचन्द्र गुंलाबाजं खलःका सचिव उमेशमान शाक्यका अनुसार यो प्रदर्शनी गर्नुको अर्को उद्देश्य गुंला बाजामा परम्परागत बाँसुरीको प्रयोग र महत्वलाई बुझाउनु पनि हो । उहाँ भन्नुहुन्छ, “अहिले धाःबाजासँग बाँसुरी बजाउने प्रचलन हराएको छ । बाँसुरीको स्थानमा विदेशी बाजा ट्रम्पेटको धेरै प्रयोग भइरहेको छ । अहिले युवापुस्तामा धाः बाजामा आकर्षण त बढेको छ तर बाँसुरीमा छैन । हाम्रो अभियान भनेको सबै बहाः बहीको गुंला बाजाले परम्परागत बाँसुरीकै प्रयोग गरोस् भन्ने हो ।” गुंला पर्वमा स्वयम्भूलगायत विभिन्न विहार, चैत्यको परिक्रमा गर्दा केशचन्द्र गुंलाबाजंबाहेक अन्य बाजा समूहले गुंला बाजाको साथमा विदेशी बाजा ट्रम्पेट प्रयोग गर्दै आएका छन् ।
विगतमा केशचन्द्र गुंला बाजं खलःले गुंला बाजा प्रतियोगिताको आयोजना गरेर यसको संरक्षण र संवर्धनको प्रयास गरेको थियो । यस पटक सो खलःले फरक किसिमले पहिलो पटक साङ्गीतिक शुभकामना आदानप्रदान तथा प्रदर्शनी गरेको हो । कोषाध्यक्ष रूपकुमार शाक्यले परापूर्वकालदेखिको यो परम्परालाई अनन्तकालसम्म जोगाइराख्न तथा संरक्षण र संवर्धन गर्ने उद्देश्यसहित पहिलो पटक यो गुंलाबाजं साङ्गीतिक कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।