• १९ असोज २०८२, आइतबार

उद्धारमा नेपाली सेना (फोटो फिचर)

blog

काठमाडौँ, असोज १९ गते। अविरल वर्षापछि संकटमा परेका सर्वसाधारणको उद्धारमा नेपाली सेना सक्रिय छ।आइतबार सेनाले मोरङ, झापा र इलाममा धेरै सर्वसाधारणको उद्धार गरेको छ।बाढी र पहिरोमा परेकाको उद्धारमा सेनाले हेलिकप्टरसमेत प्रयोग गरेको छ।

मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारमा लोहन्द्रा खोलामा आएको बाढीका कारण सुकुम्बासी टोल डुवानमा परेपछि शिवदल गणको टोलीले ६ जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

झापाको झापा गाउँपालिका–१ मिलनबस्तीमा बाढीको कारण डुवानमा परेका १० जना पुरुष र ५ जना महिला गरी कुल १५ जना स्थानीयलाई अरिदमन गणबाट खटिएको टोलीले मोटरबोटबाट उद्धार गरेको छ।

त्यसैगरी हुलाकी राजमार्ग कटान हुँदा फसेका ८० जनाको उद्धार सेनाले गरेको छ।उद्धारका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टर आवश्यक उपकरण र दक्ष जनशक्तिसहित उक्त स्थानतर्फ खटिएको थियो।

सेनाले इलामको इलाम नगरपालिका–६ घोस इलाकामा पहिरोमा पुरिएका व्यक्तिको खोज तथा उद्धार कार्यको लागि रणशार्दुल गणबाट खटिएका फौज सक्रिय भएको छ।