काठमाडौँ, साउन २५ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि फ्रेन्चाई क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) सुरु गर्यो । भव्य रूपमा सफल भएपछि एनपिएललाई पहिलो संस्करणमै भारतको आइपिएलसँग तुलना गर्न थालियो । एनपिएल पहिलो संस्करणमै विश्वको सबभन्दा भ्यालुएबल फ्रेन्चाई क्रिकेट लिगको शीर्ष पाँचमा परेको थियो । त्यसैले पनि एनपिएलको दोस्रो संस्करण बहुप्रतिक्षीत बनेको छ ।
त्यसैले एनपिएलको दोस्रो संस्करणका लागि शनिबार भएको क्रिकेटर बोलकबोल (अक्सन) मा पनि सबैको नजर रह्यो । फ्रेन्चाई क्रिकेट लिगको प्रमुख विशेषतामध्ये एक क्रिकेटर बोलकबोल (अक्सन) बाट खेलाडी आआफ्नो टिममा भित्र्याउने पनि हो । सोही प्रावधानमार्फत एनपिएलमा सहभागी आठ टिमले खेलाडी अक्सनबाट खेलाडीलाई आआफ्नो टिममा भित्र्याएका छन् । एनपिएलका आठै टिमले पहिलो संस्करणमा आआफ्नो टिमबाट खेल्ने पाँचदेखि छ खेलाडी रिटेन गरिसकेकाले यसपालिको अक्सन मिनी अक्सन बनेको थियो । यस पटक क्यानले क्याटगोरी ‘ए’ मा आठ खेलाडी, ‘बी’ मा ३५ र ‘सी’ मा १०७ खेलाडी राखेका थिए ।
खेलाडी बोलकबोलमा ‘ए’ क्याटागोरीमा रहेका आठमध्ये चार जना देव खनाल, अर्जुन साउद, पवन सराफ र आदिल अलाम सर्वाधिक १५ लाख रुपियाँमा अनुबन्धित हुनुभयो । यस समूहमा ‘बेस प्राइस’ १० लाख रुपियाँ रहेको थियो । यसैगरी ‘बी’ ग्रेडका खेलाडीको न्यूनतम मूल्य पाँच र अधिकतम १० लाख तथा ‘सी’ ग्रेडका क्रिकेटका लागि न्यूनतम दुई र अधिकतम पाँच लाख रुपियाँसम्म बोली लगाउन पाउने प्रावधान थियो । अक्सनबाट कुल ३७ क्रिकेटर बिक्री भए ।
सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज, विराटनगर किङ्स र लुम्बिनी लायन्सले पाँच/पाँच र पोखरा एभेन्जर्स, कर्णाली याक्स र च्याम्पियन जनकपुर बोल्ट्सले चार/चार खेलाडी आआफ्नो टिममा भित्र्याएर घरेलु क्रिकेटरको कोटा पूरा गरे । एनपिएलको नियम अनुसार सबै टिमलाई अधिकतम ९० लाख रुपियाँ खर्च गर्ने अधिकार दिइएको थियो । जसमध्ये प्रायः टिमले आधाभन्दा बढी रकम खेलाडी रिटेनमै खर्च गरिसकेको थियो । विदेशी खेलाडीको हकमा भने बजेटको सीमा तोकिएको छैन । सबै टिममसक्ष अझै अधिकतम पाँच विदेशी खेलाडी टिममा भित्र्याउने अवसर छ ।
आदिल सबै टिमको रोजाइमा
स्पट फिक्सिङ निलम्बनबाट फुकुवा भएका अलराउन्डर आदिलले लामो समयपछि खुसी हुने अवसर पाउनुभयो । प्रमुख प्रतियोगितामा पुनरागमनको तयारीमा रहेको आक्रामक ब्याट्सम्यान आदिलमाथि आठै टिमले इच्छा देखाएका थिए । उहाँ गोलाप्रथामार्फत काठमाडौँ गोर्खाजमा आबद्ध हुनुभयो । दुई वर्षअघि नेपाल टी–२० लिगमा स्पट फिक्सिङ प्रकरणमा आदिल फस्नुभएको थियो । त्यसैले उहाँले एनपिएलको पहिलो सत्र खेल्न पाउनुभएन ।
यसअघि सबभन्दा पहिले यु–१९ राष्ट्रिय टिमका पूर्वकप्तान देव लक्की ड्रबाट चितवनमा पुग्नुभएको थियो । उहाँलाई लुम्बिनीले पनि अन्तिमसम्म बोली लगाएको थियो । अर्का प्रारम्भिक ब्याट्सम्यान अर्जुनलाई आआफ्नो टिममा ल्याउन चितवन, विराटनगर र कर्णाली अधिकतम रकममा पुगेका थिए । अर्जुनको मामिलामा पनि चितवन लक्की ड्रमा भाग्यमानी बन्यो ।
पवनमाथि चितवन, लुम्बिनी, कर्णाली र विराटनगरले बोली लगाए । जसमा कर्णाली लक्की ड्रमा पवनलाई भिœयाउन सफल भयो । गत सत्रमा अलराउन्डर पवन चोटका कारण अक्सनमै समावेश हुनुभएको थिएन । ‘ए’ क्याटोगोरीका अन्य खेलाडी विकेटकिपर ब्याट्सम्यान दिलीप नाथ र स्पिनर सूर्य तामाङ बेस प्राइस दस लाखमा क्रमशः लुम्बिनी र विराटनगरमा पुग्नुभयो ।
‘विस लिस्ट’ बाट टिम पूरा
अक्सनको पहिलो चरण सकिएपछि अनसोल्ड क्रिकेटरमध्येबाट टिम पूरा गर्न विस लिस्टको प्रावधान पनि थियो । काठमाडौँ र कर्णालीले अक्सन प्रक्रियाबाट अक्सनबाटै आफ्नो टोली पूरा गरेका थिए । बाँकी छ टिमले टिम पूरा गर्न सकेका थिएनन् । चितवनले विपिन रावल, विपिन आचार्य र रञ्चित कुमार र विराटनगरले श्रवण किस्कु र शङ्कर रानालाई विस लिस्टबाट आआफ्नो टिममा भित्र्यायो । यसै गरी लुम्बिनीले दुर्गेस गुप्ता र आदिल खान, सुदूरपश्चिमले दीपक बोहरा र मिलान बोहरा, जनकपुरले विकास आग्री तथा पोखराले सन्दीप क्षेत्रीलाई विस लिस्टबाट खरिद गरे ।
मिति र पुरस्कारको घोषणा बाँकी
एनपिएलमा एक टिममा १७ खेलाडी हुने छन् । जसमा एक मार्की, एक स्थानीय आइकोनिक खेलाडी, १० खेलाडी अक्सनबाट र पाँच विदेशी रहने प्रावधान रहेको छ । नेपालको सर्वाधिक ठुलो धनराशिको क्रिकेट प्रतियोगिता एनपिएलको मिति र पुरस्कार घोषणा भने भएको छैन ।
अक्सनमा बिक्री भएका क्रिकेटर
काठमाडौँः आदिल आलम (१५ लाख), सन्तोष यादव (१० लाख), आकास त्रिपाठी (सात लाख), उत्तम थापामगर (तीन लाख), तुलबहादुर थापा (दुई लाख) ।
चितवनः देव खनाल (१५ लाख), अर्जुन साउद (१५ लाख), विपिन रावल (पाँच लाख), विपिन आचार्य (दुई लाख), रञ्जित कुमार (दुई लाख) ।
लुम्बिनी : दिलीप नाथ (१० लाख), शेर मल्ल (१० लाख), दुर्गेस गुप्ता (पाँच लाख), विशाल पटेल (पाँच लाख), आदिल खान (दुई लाख) ।
कर्णाली याक्स : पवन सराफ (१५ लाख), युवराज खत्री (१० लाख), इमरान शेख (दुई लाख), दीपक डुम्रे (दुई लाख) ।
विराटनगर : सूर्य तामाङ (१० लाख), साहिल पटेल (पाँच लाख), नारायण जोशी (पाँच लाख), शङ्कर राना (पाँच लाख), श्रवन किस्कु (दुई लाख) ।
पोखरा : अर्जुन कुमाल (पाँच लाख), अभिषेक तिवारी (दुई लाख), कृष्ण पौडेल (दुई लाख), सन्दीप खत्री क्षेत्री (दुई लाख) ।
जनकपुर : मयन यादव (सात लाख ७५ हजार), विकास आग्री (पाँच लाख), आदित्य महता (पाँच लाख), सचिन भट्ट (दुई लाख)
सुदूरपश्चिम : हेमन्त धामी (१० लाख), दीपक बोहरा (पाँच लाख), मिलन बोहरा (पाँच लाख), टेकबहादुर रावत (दुई लाख) र दीपेन्द्र थापा (दुई लाख) ।