• १३ असोज २०८१, आइतबार

यु–१९ विश्वकप क्रिकेट : सुपर सिक्समा नेपालको प्रतिद्वन्द्वी भारत र बङ्गलादेश

blog

नेपाली यू–१९ विश्वकप क्रिकेट टिम । तस्बिर : क्यान

काठमाडौँ, माघ १५ गते । दक्षिण अफ्रिकामा जारी आइसिसी विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले भारत र बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । आइसिसीले सुपर सिक्समा प्रवेश गरेका १२ टोलीलाई सुपरसिक्समा दुई समूहमा विभाजन गरेको छ । नेपालले सुपर सिक्सको पहिलो खेल बुधबार बङ्गलादेशसँग खेल्नेछ । दोस्रो खेल शुक्रबार भारतसँग खेल्नेछ । भारत साविक विजेता टोली हो । 

नेपालका प्रशिक्षक जगत टमटाले नेपालले सुपर सिक्सका पुग्ने लक्ष्य पूरा गरेकोले सुपर सिक्समा खेलाडीले राम्रो प्रदर्शन गर्ने बताउनुभयो । ‘‘सुपर सिक्समा भारत र बङ्गलादेश जस्ता बलियो टेस्ट टोली रहेका छन् । समूहमा अफगानिस्तानलाई हराउन ब्याटिङमा कप्तान देब खनार र बलिङमा आकाश चन्दको प्रदर्शन उत्कृष्ट रह्यो । अन्य खेलाडीले पनि टिमको रुपमा राम्रो क्रिकेट खेलेका छन् । आशा छ सुपर सिक्समा राम्रो गर्नेछौँ,’’ प्रशिक्षक टमटाले भन्नुभएको छ ।

विश्वकपमो समूह  ‘डी’ बाट प्रतिस्पर्धा गरेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार खेपेको थियो । अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराउँदै सुपर सिक्समा स्थान बनाएको थियो । 

आइसिसीले सुपर सिक्समा समूह ‘ए’ र समूह ‘डी’ बाट आएका तीन तीन टोलीलाई एउटा समूहमा तथा समूह ‘बी’ र समूह ‘सी’ बाट आएका तीन तीन टोलीलाई अर्को समूहमा विभाजन गरेको छ । 

जस अनुसार सुपर सिक्स चरणको समूह ‘ए’ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, बङ्गलादेश, नेपाल र आयरल्यान्ड रहेका छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, इङ्ल्यान्ड र जिम्बाबे छन् ।  

सुपर सिक्समा समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्स चरणमा पुगेको टोलीले समूह ‘डी’ को विजेतासँग भने खेल्ने छैन । समूह ‘ए’ को विजेताले समूह ‘डी’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र खेल्नेछ । समूह ‘डी’ को विजेताले पनि सुपर सिक्समा समूह ‘ए’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र प्रतिस्पर्धा गर्नेछ । 

सुपर सिक्समा दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलमा एक समूहको शीर्ष र अर्को समूहको दोस्रो टोलीबिच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल फेब्रुअरी ११ तारिखमा खेलिनेछ । सन् २००० मा श्रीलङ्कामा भएको तेस्रो संस्करणदेखि यु–१९ विश्वकपमा सहभागिता जनाउन थालेको नेपालको यो आठौँ विश्वकपकाे सहभागिता हो ।