• २० असार २०८२, शुक्रबार

एपिएफ एएफसी महिला च्याम्पियन्सको समूह ‘बी’मा

blog

लिग जितेपछि एपिएफका खेलाडी । फाइल तस्बिर

काठमाडौँ, असार १९ गते । नेपालको महिला लिग च्याम्पियन विभागीय टोली एपिएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको  छनोट खेलमा समूह ‘बी’ बाट पतिस्पर्धा गर्ने भएको छ । 

एसियाली फुटबल महासङ्घ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार समूह ‘बी’मा एपिएफसँगै थाइल्यान्डको कलेज अफ एसियन स्कलर, उज्वेकिस्तानको पिएफसी नासाफ र साउदी अरबको अल–नासर रहेको छ । समूहको खेलहरु उज्बेकिस्तानमा हुने छ।

एपिएफले यसअघिल्लो संस्करणमा पनि लिग च्याम्पियनको रुपमा प्रारम्भिक छनोट खेलेको थियो । पहिलो खेलमा मलेसियाको सबाह एफसीलाई गोलरहित बराबरीमा रोकेको एपिएफ खेलमा भने नासाफसँग १–० गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

यसपटक प्रारम्भिक चरणमा १९ टोलीबिच प्रतिस्पर्धा हुने छ । सहभागी टोलीलाई  चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता टोली फाइनल चरणको प्रतिस्पर्धामा छनोट हुने छन् ।