• २५ वैशाख २०८१, मङ्गलबार

पाँच महिनामा एक अर्ब सतासी करोडको चिया निर्यात

blog

काठमाडौँ, पुस १८ गते । मुलुकमा उत्पादित चियाको निर्यातमा गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा एक अर्ब ८७ करोड १७ लाख ७२ हजार रुपियाँ बराबरको ७१ लाख ८१ हजार १४० किलो चिया निर्यात भएको छ । गत वर्षको सोही अवधिमा दुई अर्ब २३ करोड २१ लाख ५२ हजार रुपियाँ बराबरको एक करोड ६५ हजार ५३० किलो चिया निर्यात भएको थियो ।

चालु आवमा गत आवको तुलनामा ३६ करोड तीन लाख ८० हजार रुपियाँको चिया निर्यातमा कमी आएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता डा. दीपक खनालले स्पेसल किसिमको चियामा लागत अनुसार मूल्य नपाउँदा उत्पादकले चिया बिक्री नगरी मौज्दात राख्दा निर्यातमा कमी आएको जानकारी दिनुभयो । स्पेसल चिया, ग्रिन टी र गोल्डेन टीको निर्यात कम हुँदा समग्र निर्यातमा सामान्य कमी आएको उहाँको भनाइ छ । भारतले नेपाली चिया सस्तो मूल्यमा खरिद गरेर लैजाने र विश्व बजारमा महँगो मूल्यमा बिक्री गरिरहेको उहाँको भनाइ छ । 

ग्रिन टी, ह्वाइट, गोल्डेन टी र सिल्भर जस्ता चिया स्पेसलमा पर्ने र यिनीहरूको मूल्य अरू साधारण चियाको भन्दा बढी पर्ने गरेको छ । व्यवसायीका अनुसार भारतले नेपाली चिया प्रतिकिलो ५६० रुपियाँमा खरिद गर्ने गरेको छ । विश्व बजारमा भने भारतले करिब तीन हजार रुपियाँ प्रतिकिलोमा बिक्री गर्ने गर्छ । 

नेपालमा सिटिसी र अर्थाेडक्स चिया उत्पादन हुने गरेको छ । बोर्डका अनुसार ३० जिल्लामा २० हजार २३७ हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदै आएको छ । सबै प्रकारको गरी वार्षिक दुई करोड ६३ लाख ७९ हजार ४९३ किलो चिया उत्पादन हुन्छ । यसमध्ये एक करोड ८९ हजार दुई हजार आठ सय किलो सिटिसी चिया उत्पादन हुन्छ भने अर्थोडक्स ६५ लाख ८७ हजार ८७१ किलो र ग्रिन टी सात लाख ३२ हजार ८११ किलो उत्पादन हुन्छ । 

बोर्डका अनुसार कुल चियाको उत्पादनमध्ये पनि झन्डै ५५ प्रतिशतभन्दा बढी सिटिसी चिया मात्रै उत्पादन हुँदै आएको छ । इलाम, पाँचथर, धनकुटा, कास्की, लमजुङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, खोटाङ, चितवन, सिन्धुली, पर्वत, काभ्रे, गोर्खा, दोलखा, ललितपुर, रामेछाप, प्युठान, अर्घाखाँचीलगायतका जिल्लामा चिया खेती हुने गरेको छ । मुलुकमा उत्पादन भएको चिया अस्ट्रेलिया, क्यानडा, चीन, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, जापान, इटाली, नेदरल्यान्ड, अमेरिका, पोल्यान्ड, स्विडेन, थाइल्यान्ड, ताइवानलगायतका देशमा निर्यात हुने गरेको छ ।  

सिटिसी चियाको ट्रेडमार्क तयार गरिँदै 

यसैबिच बोर्डले सिटिसी चियाको ट्रेडमार्कको डिजाइनका लागि सूचना सार्वजनिक गरेको छ । 

नेपालमा उत्पादित गुणस्तरीय सिटिसी चियामा प्रयोगका लागि उपयुक्त ट्रेडमार्कको डिजाइन आवश्यक परेकाले बोर्डले सूचना सार्वजनिक गरेको हो । बोर्डले सिटिसी चियाको ट्रेडमार्क डिजाइन गर्न सार्वजनिक सूचनासमेत जारी गरेको छ । अर्थोडक्सको चियाको ट्रेडमार्क प्रदान गर्दै आए पनि सिटिसी चियामा हालसम्म ट्रेडमार्कको व्यवस्था गरेको थिएन । सिटसी चियाको घरेलु र बाह्य बजार सुनिश्चित गर्न ट्रेडमार्कको अवधारणा कार्यान्वयनमा ल्याउन लागिएको बोर्डका प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो ।  

‘नेपाल टी प्रिमियम सिटिसी’ भन्ने नारासहित ट्रेडमार्क लोगो तयार गर्नुपर्ने बोर्डले सर्त राखेको छ । यो लोगो डिजाइन गर्ने एक डिजाइनले तीन वटासम्म डिजाइन तयार गर्न सक्ने व्यवस्था गरिएको छ ।  डिजाइनरले तयार पारेको लोगोमध्ये उत्कृष्ट लोगोलाई ५० हजार रुपियाँ पारिश्रमिक उपलब्ध गराउने बोर्डले जनाएको छ । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र लोगो तयार पारी बोर्डको कार्यालयमा बुझाउन सूचना जारी गरेको छ ।