नयाँदिल्ली, कात्तिक २० गते । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी)का मालिकले टोली बिक्री गर्ने सम्भावनाबारे गम्भीररूपमा विचार गर्न थालेका छन् ।
यो प्रतिष्ठित फ्रेन्चाइजको मूल्याङ्कन करिब दुई अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी डियाजियोको भारतीय शाखा युनाइटेड स्पिरिट्स लिमिटेड (युएसएल) ले मुम्बई स्टक एक्सचेन्जमा दर्ता गराएको विवरणमा आरसिबीमा गरेको लगानीको ‘रणनीतिक समीक्षा’ सुरू भएको औपचारिकरूपमा जनाएको छ ।
युएसएलका प्रमुख कार्यकारी अधिकृत प्रवीण सोमेश्वरले बुधबार पठाइएको पत्रमा आरसिबीलाई ‘एक मूल्यवान र रणनीतिक सम्पत्ति’ भन्नुभएको छ । तथापि, उहाँले यसलाई ‘हाम्रो मुख्य अल्कोबेभ व्यवसायसँग प्रत्यक्षरूपमा सम्बन्धित नभएका’ कारण समीक्षा आवश्यक भएको बताउनुभयो ।
“यो निर्णयले युएसएल र डियाजियो दुवैको भारतस्थित व्यवसायिक पोर्टफोलियोको समीक्षा र सुदृढीकरणप्रति प्रतिबद्धता झल्काउँछ”, सोमेश्वरले भन्नुभयो, “हामी आरसिबी र त्यससँग सम्बन्धित सम्पूर्ण हितलाई प्राथमिकतामा राख्ने छौँ ।” यो समीक्षा प्रक्रिया पुरुष तथा महिला दुवै टोलीका स्वामित्व सम्हाल्ने रोयल च्यालेन्जर्स स्पोट्र्स प्राइभेट लिमिटेड सम्म फैलिने बताइएको छ र आगामी वर्षको मार्चसम्ममा यसको निष्कर्ष आउने अपेक्षा गरिएको छ ।
सन् २००८ मा स्थापना भएको यो चर्चित टी-२० क्रिकेट लिगमा आरसिबीले पहिलो पटक यसै वर्ष जुन महिनामा आइपिएल उपाधि जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । ब्लुमबर्ग न्युजका अनुसार, टोलीका मालिक अहिले ‘क्लबको केही हिस्सा वा सम्पूर्ण स्वामित्व बिक्री गर्ने सम्भावनाबारे विचार गर्दै’ दुई अर्ब डलरसम्मको मूल्याङ्कन लक्ष्य राखिरहेका छन् ।
तर विजयको उत्सवपछि आरसिबीमाथि दुः खद क्षण पनि आयो । अहमदाबादमा अन्तिम जित हाँसिल गरेको एक दिनपछि, बैङ्गलोरको एम. चिन्नास्वामी स्टेडियम बाहिर आयोजित विजय परेडमा ठेलमठेल हुँदा ११ जना प्रशंसकको मृत्यु भयो भने ५० भन्दा बढी घाइते भए । हजारौँको भीडले आफ्ना प्रिय नायक विराट कोहली र विजयी टोलीलाई घर फर्किदा स्वागत गर्न सडकमा उत्रिएका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनालाई ‘पूर्णरूपमा हृदयविदारक’ भन्दै गहिरो शोक प्रकट गर्नु भएको थियो । कप्तान कोहलीले पनि सामाजिक सञ्जालमार्फत लेख्दै आफू ‘शब्दविहीन र अत्यन्त पीडित’ भएको प्रतिक्रिया दिनु भएको थियो । आरसिबीको सम्भावित बिक्रीबारे हुने यो समीक्षा र निर्णयले भारतीय खेल इतिहासमै सबैभन्दा ठूलो व्यावसायिक सम्झौता बन्ने सम्भावना देखिएको छ । रासस/एएफपी