• २७ वैशाख २०८१, बिहिबार

जीवन भोगाइ नै प्रेरणाको स्रोत बन्यो : प्रतिमा गुरुङ

blog

काठमाडौं, पुस १५ गते । काठमाडौँस्थित पद्मा कन्या बहुमुखी क्याम्पसमा करिब २० वर्षदेखि उपप्राध्यापन गर्दै आउनुभएको प्रतिमा गुरुङ मानव अधिकार र अपाङ्गता भएका व्यक्तिको अधिकारका सवालमा उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँले सन् २००८ देखि २०१० सम्म जेनेभास्थित संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा रहेर सोही विषयमा अन्तर्राष्ट्रिय स्तरमा बहस एवम् पैरवी समेत गर्नुभएको छ ।

गत डिसेम्बर १५ मा मानव अधिकारको विश्वव्यापी घोषणाको ७५ औँ वार्षिकोत्सवको अवसरमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुट्रेसले उहाँलाई मानव अधिकार र वातावरण पुरस्कारद्वारा सम्मानित गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उहाँले जुन ख्याति कमाउन सफल हुनुभएको छ, यसका पछाडि आफ्नो जीवनको भोगाइ नै प्रेरणाको माध्यम बनेको उहाँ सुनाउनुहुन्छ ।

आमा जमुना कुमारी गुरुङ र बुवा पूर्ण बहादुर गुरुङको जेठी सन्तानको रूपमा २०३५ सालमा उहाँको जन्म पोखरामा भएको हो । भैरहवा बहुमुखी क्याम्पसमा स्नातक तहसम्मको अध्ययन सकेर स्नातकोत्तरका लागि सन् २००१ मा उहाँ काठमाडौँ प्रवेश गर्नुभयो । पोखरा विश्वविद्यालयबाट अङ्ग्रेजी विषयमा एमफिल सम्पन्न गर्नुभएको उहाँ अचेल विद्यावारिधिको तयारीमा हुनुहुन्छ ।

सात वर्षको उमेरमा सडक दुर्घटनामा परी उहाँको बायाँ हात गुम्यो । जसकारण उपचारका करिब दुई वर्ष पढाइमा अवरोध झेल्नुपर्‍यो । परिवारमा अलि धेरै पढेका अर्थात् दीक्षित व्यक्ति थिएनन् । हजुरआमाको प्रेरणाले अध्ययन–अध्यापन र सामाजिक क्षेत्रलाई सँगसँगै अघि बढाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुर्घटनाले अपाङ्गता भइसकेपछि विशेषगरी पढ्नुपर्छ र  आदिवासी समुदायमा पनि महिला त्यसमाथि अपाङ्गता भएको व्यक्तिलाई हेर्ने सामाजिक दृष्टिकोण, विशेषगरी पितृसत्तात्मक सोच, मान्यता जुन संस्कार छ त्यसबाट कसरी दीक्षित गराउन र स्वतन्त्र बनाउन सक्छौँ भन्ने श्रेय चाहिँ मेरो हजुरआमालाई दिन चाहन्छु ।”

उच्चस्तरीय अध्ययनको क्रममा करिब १३ लाखको हाराहारीमा रहेका आदिवासी अपाङ्गताका विषयमा कुनै पनि शैक्षिक खोज–अनुसन्धान नभएको बोध उहाँले गर्नुभयो । त्यसैले गर्दा उहाँलाई अपाङ्गताको सवालमा अध्ययन गर्नैपर्छ भन्ने झनै लाग्यो ।

उहाँले भन्नुभयो, “त्यसपछि विभिन्न सङ्घ, संस्थामा सदस्यताका लागि प्रयास गरेँ । तर, म विफल भएँ, त्यही कुरा मेरो जीवनमा कोशेढुङ्गाको रूपमा साबित भयो । म मास्टर तहको अध्ययन सकेर समाजलाई कसरी योगदान दिन सक्छौँ भनेर हेर्दै गर्दा राज्यको संस्थामा कसरी संरचनागत विभेद हुँदो रहेछ भन्ने कुरा जीवनमा पहिलो चोटि अनुभूति गर्न पाएँ ।”

उहाँको सन् २०१० मा हाल गण्डकी प्रदेशका सांसद रहनुभएका डा। टकराज गुरुङसँग मागी विवाह भयो ।  “मेरो जीवनसाथी मेरो अवस्था, स्तर र क्षमताको बारेमा विज्ञ हुनुहुन्छ । कतिपय समस्या हुँदा एकअर्कालाई बुझ्ने, बुझाउने गर्‍यो” उहाँले भन्नुभयो, “वैवाहिक स्थितिबाट अवरोध भएन । सँगै गर्नुपर्ने यात्रा सहजरुपमा तय भयो ।”

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा हाल अपाङ्गता विज्ञ समेत रहनुभएका प्रतिमा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ, नेपालमा पनि अध्यक्ष पदमा रहेर नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । 

अपाङ्गता भएका व्यक्तिलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्मको यात्रा तय गर्न कति चुनौतीपूर्ण हुन्छ भन्ने प्रश्नमा उहाँले अपाङ्गता भएकालाई मात्र अवरोध हुने नभई जो कोही मानिसको जीवनमा विभिन्न प्रकारका चुनौतीहरू हुने गरेको बताउनुभयो । ती चुनौतीहरूलाई कसरी लिने भन्ने कुरा महत्पूर्ण रहने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “म एक प्रतिनिधि पात्र मात्र हुँ । सबै मान्छेलाई फरक–फरक किसिमका चुनौती हुन्छन्, त्यसलाई कसरी लिनुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो । अध्ययन–अनुसन्धानको क्रममा मैले समस्या, विभेद, गरिबी देखेँ । र समस्या सम्बोधन गर्नु मेरो दायित्व हो भन्ने बुझेँ । परिवारभित्र विद्यावारिधि पनि गर्दै यति पढेको म एउटा मात्र सदस्य हुँ । मैले लिएको शिक्षा व्यक्तिको लागि मात्र लिन्छु कि, परिवार, समाज र राष्ट्रको लागि हो भन्ने कुरा महत्त्वपूर्ण हो ।”

उहाँले संविधान तथा कानुनले दिएको सबै मानिसले सम्मानपूर्वक बाँच्न पाउने अधिकारका लागि सर्वप्रथम अपाङ्गता भएका व्यक्तिलाई परिवारले अपनत्वसँगै सम्मान र समान अवसर दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबैभन्दा पहिला परिवारले अन्य सन्तान जस्तै अपाङ्गता भएका सन्तान पनि मेरै हुन् भनेर अपनत्वसँग जोडिएको सम्मान र समान अवसर दिनुपर्छ । अपाङ्गता भएका व्यक्ति हाम्रो लागि व्यर्थहीन भयो भन्ने हाम्रो सामाजिक मान्यता छ, यो चिर्न घरपरिवारमा सबैभन्दा सचेतीकरण कसरी दिन्छौँ भन्ने कुरा एकदम महत्त्वपूर्ण हुन्छ ।”

उहाँले यसअघि  एसिया अपाङ्गता मञ्च, मलेसिया सरकारद्वारा इन्टरनेशनल एक्सलेन्स अवार्ड, सुबाह एडभाइजरी वमन अवार्ड, अष्ट्रेलियन अवार्ड प्राप्त गर्नुभएको छ । यसैगरी, संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरू युएनवमन, युएनडिआरआर, युनएनडिपीले उहाँको योगदानको कदर  एवम् सम्मान गरेको छ । 

उहाँलाई राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष मानव अधिकार वर्ष पुरस्कार ( २०७९ बाट सम्मान गरेको थियो ।


भिडियोः मनोजरत्न शाही र केशव गुरुङ

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।