विश्व फुटबल खेलाडी लियोनेल मेसी सिन्धुलीमा जुनार खाइरहेको तस्बिर सामाजिक सञ्जालमा एकाएक भाइरल बन्यो । फेसबुक पेज ‘सिन्धुली’बाट पोस्ट भएको सो तस्बिरमा केही दिनमै एक लाख लाइक, चार सयभन्दा बढी कमेन्ट र करिब चार सय सेयर भएको थियो ।
०००
मध्य मङ्सिरतिर चिया र मम खाँदै गरेका रोचक तस्बिरले सामाजिक सञ्जाल तातिँदै थियो । ‘सालको पात टपरी...’ बोलको गीत आफ्नै आवाजमा सुनेपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कात्तिक २५ गते फेसबुकमा स्टाटस लेख्नुभयो, “मलाई अचम्म लाग्यो ! टिकटक हेर्दै जाँदा आफ्नै आवाजको जस्तो गीत सुनियो । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी यसरी आफ्नो स्वरमा गीत बनाउने प्रविधि पनि आइसक्यो । प्रविधिको विकास हुनु राम्रो हो ।”
उहाँले सामाजिक सञ्जालका प्रयोगकर्तालाई सचेत पार्दै लेख्नुभयो, “तर आफूले बोल्दै नबोलेका कुराहरू पनि यसरी आइरहेका छन् कि जस्तो पो लाग्दै छ । प्रविधिले सजिलो मात्र होइन, दुरुपयोगको चुनौती पनि थप्छ ।”
यी त एआईका रमाइला प्रसङ्ग भए । यसको अर्को पाटो अन्तर्गत, ‘डिप फेक’ प्रविधिको दुरुपयोग गरेर नायिकाको अश्लील भिडियो सार्वजनिक भइरहेका छन् । यस्ता भिडियो प्रायः सबै भाइरल हुने गरेका छन् । जसका कारण नायिकाको चरित्रमै प्रश्न उठ्ने गरेको छ । यस्ता भिडियोबाट बलिउडका नायिका काजोल अग्रवाल, कट्रिना कैफ र रश्मिका मन्दनालगायत कलाकार प्रविधिको सिकार भएका छन् ।
एआई के हो ?
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अहिले विश्वभर निकै चर्चाको विषय बन्न पुगेको छ । नेपालमा समेत यसको प्रयोग दिनदिनै बढ्दै छ । एआई एक कृत्रिम बुद्धि हो । सरल भाषामा भन्नु पर्दा तपाईं हामीले दिएको कुरा मान्ने, बुझ्ने, स्थान, अनुहार चिन्ने र आफैँ सोचविचार गर्न सक्ने कृत्रिम बुद्धि नै एआई हो । यो मानिसको निर्देशन बुझ्ने, सो अनुसार काम गर्ने, मानिसलाई चिन्ने, गाडी आफैँ हाँक्ने, कुनै खेल निकै सोचविचार गरेर खेल्नेलगायत काम गर्न सक्ने मानव निर्मित कम्प्युटर प्रोग्राम हो । यसले मानिसलाई विभिन्न क्षेत्रमा अनेकौँ गुणा छिटो र गल्तीबिना धेरै काममा सघाउन सक्छ । मानिसमा भएको क्षमतालाई ‘प्रोग्रामिङ’ मार्फत मेसिनमा नक्कल गरिसकेपछि जब यसले मानिसले जस्तै सोच्न र व्रिmयाकलाप गर्न थाल्छ, तब त्यसलाई आर्टिफिसियल इन्टेलिजेन्स भनिन्छ । यस्तो कृत्रिम बुद्धिले मानिसलाई विभिन्न ज्ञान, सिपका क्षेत्रमा सहयोग गर्छ । एआईले मेसिनलाई सोच्न सक्ने र आफैँ निर्णय लिन सक्ने बनाउँछ । यो मानिसले बनाएको भए पनि मानिसभन्दा निकै गुणा तेज र बुद्धिमान छ । एआईमा आफैँ सिक्न सक्ने क्षमता हुन्छ, यो ‘डिप लर्निङ’ मा आधारित हुन्छ ।
अहिले एआईको प्रयोग धेरै ठाउँमा भइरहेको छ । विश्वका ठुला प्रविधि कम्पनी गुगल, माइक्रोसफ्ट, युट्युब, फेसबुक, एप्पललगायत कम्पनीले एआईको प्रयोग गरिरहेका छन् । जस्तो कुनै विषयमा एउटा निबन्ध लेख भन्नासाथ निबन्ध तयार हुने, यस्तो यस्तो दृश्य भएको चित्र बनाऊ भनेर आदेश दिँदा चित्र बनाएर दिने, मानवीय भाषा बुझ्ने र अनुवाद गर्न सक्ने, भिडियो बनाउनभन्दा आदेश बुझेर तत्काल केही सेकेन्डमै तयार गर्नेलगायतका काम एआईमार्फत भइरहेका छन् । यसले मानव समाजमा सकारात्मक र नकारात्मक दुवै किसिमले परिवर्तन ल्याएको छ । एआईले हाम्रो जीवन र काम गर्ने तरिकामा परिवर्तन ल्याएको मात्र छैन शिक्षा, स्वास्थ्य, यातायात, विज्ञान, कला, मनोरञ्जनलगायत हरेक क्षेत्रमा उलेख्य रूपमा रूपान्तरण गरेको छ । अहिले विश्वमा प्रचलित च्याटजिपिटी, डाल–ई, बार्ड र अल्फाकोड जस्ता एआई सफ्टवेयरले सिर्जना गरेका लेख, रचना, निबन्ध, कविता, चुट्किलादेखि कम्प्युटर कोड, रेखाचित्र, तस्बिर, चित्र र कलाकृति मान्छेका रचनाभन्दा सामान्य मानिसले सहजै फरक खुट्याउन सकिँदैन । यसरी बनेका सामग्रीहरू निकै सुन्दर र सिर्जनशीलसमेत हुने गर्छन् ।
अहिलेका स्मार्टफोनमा एआई प्रविधिको प्रयोग हुन थालेको छ । मोबाइलमा हुने फेस रिकग्निसन, थम प्रिन्ट स्क्यानरलगायत सुविधा एआई नै हो । मोबाइल गेममा पनि एआईको प्रयोग भइरहेको छ । जसमा कुनै साथीबिना एपको अर्को भर्चुअल खेलाडीसँग गेम खेल्न सक्छौँ । एआईले मेसिन लर्निङको सट्टा डिप लर्निङको सहायताले काम गर्ने गर्छ ।
मेसिन लर्निङ र डिप लर्निङ के हो ?
यी दुवै शब्दावली एक अर्काका परिपूरक भए पनि यसका बिच निकै फरक छ । डिप लर्निङ, मेसिन लर्निङकै एउटा हिस्सा हो । सुन्दा उस्तै लागे पनि यी निकै फरक हुन् । मेसिन लर्निङमा प्रोग्रामरले डाटा फिड गर्छन् । सामान्य भाषामा भन्नुपर्दा मसिनको पढाइ मेसिन लर्निङ हो । डिजिटल डिभाइसले अङ्क, अक्षर, तस्बिर, आवाज जस्ता डाटा प्राप्त गर्दा यो के हो भनेर बुझ्ने क्षमता नै मेसिन लर्निङ हो । एआईको मेरुदण्डको रूपमा डिप लर्निङलाई लिने गरिन्छ । अहिले डिप लर्निङ प्रयोग गरेर विश्वमा थुप्रै एआई प्रविधिका टुल विकास भएका छन् । डिप लर्निङ मानव मस्तिष्कको आधारमा तयार गरिएको एउटा मोडेल हो । यसले मेसिन लर्निङमा भएका कमजोरीलाई समाधान गर्छ । अहिले हामीले दैनिक जीवनमा प्रयोग गरिरहेका विभिन्न एप्लिकेसन, भाषा अनुवाद, फेस रिकग्निसन, अटो रिप्लाईलगायत विभिन्न एआई टुल डिप लर्निङका उपज हुन् । मानिसको स्वास्थ्य परीक्षण गरी रोग पत्ता लगाउने, खानी उद्योगदेखि अन्तरिक्ष यात्रादेखि शल्यक्रिया गर्नसमेत एआईको प्रयोग भइरहेको छ ।
‘डिप फेक’ भिडियो
‘डिप फेक’ भिडियो ‘मेसिन लर्निङ’ र ‘फेस स्वापिङ’ एप वा सफ्टवेयरको प्रयोग गरी बनाइने नक्कली भिडियो हो । जसमा एक व्यक्तिको अनुहार अर्को भिडियोमा रहेको व्यक्तिको अनुहारमा साटफेर गरेर राख्न सकिन्छ । यस्तो भिडियो सामान्य मानिसले हेर्दा साँच्चिकै हो जस्तो लाग्ने गर्छ । पछिल्लो समय यो प्रविधिको दुरुपयोग बढेको छ । चरित्रहत्या गर्ने जस्ता अपराधिक क्रियाकलाका सिकार कलाकार तथा उच्चपदस्थ व्यक्तित्व पर्ने गरेका छन् ।
एआईको सुरुवातसन् १९५० मा बेलायती गणितज्ञ एलन ट्युरिङले ‘कम्प्युटिङ मेसिनरी र इन्टेलिजेन्स’ शीर्षकको एउटा पेपर लेख्नुभयो । जसमा उहाँले ‘के मेसिनले सोच्न सक्छ ?’ भन्ने प्रश्नको जाँच गर्नुभयो । ट्युरिङको जवाफ सक्छ भन्ने आयो । उहाँले भविष्यवाणी गर्नुभयो, २१ औँ शताब्दीको सुरुवातमा, मेसिनले बौद्धिकताको परीक्षा उत्तीर्ण गर्न सक्षम हुने छ । यसलाई नै एआईको विकासको सैद्धान्तिक जग मान्न सकिन्छ । एआईको औपचारिक अवधारणा सन् १९५६ मा न्यु ह्याम्पसायरको डर्टमाउथ कलेजमा भएको सम्मेलनपछि आएको हो । सम्मेलनमा जोन म्याक कार्थीले एआईका बारेमा व्याख्या गर्नुभएको थियो । त्यसपछि आर्टिफिसियल इन्टेलिजेन्सको अध्ययन र उपयोगमा वैज्ञानिक लागिरहेका छन् । २०२२ नोभेम्बरमा सार्वजनिक भएको पछिल्लो एआई च्याट जिपिटीले विश्वमै तहल्का मच्चाइदियो । अहिले पनि एआईको पर्यायवाची च्याट जिपिटी बन्न पुगेको छ । च्याट जिपिटी एक एआई मोडल हो । जसलाई प्रयोगकर्ताले आफूलाई लागेका कुनै पनि विषयका प्रश्न सोध्न सक्छन् । यसले प्रयोगकर्ताको प्रश्नको उत्तर निकै सहज रूपमा दिन्छ । त्यति मात्र होइन यसले दिएको उत्तर चित्त बुझेन भने विभिन्न वैकल्पिक उत्तर झिँजो नमानी दिन्छ ।
केही दिनअघि गुगलले आफ्नो नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल ‘जेमिनी’ सार्वजनिक गरेको छ । ‘जेमिनी’ नामको यो एआई टुल विभिन्न विषयमा मानिसले जस्तै काम गर्न सक्षम रहेको दाबी गरिएको छ । यसले कुनै चिजलाई हेरेर अन्दाज लगाउने मामिलामा यसले मानिसले जस्तै पहिचान गर्न सक्ने बताइएको छ । जेमिनी एउटा मल्टीमोडेल जनरल एआई भएको र यो अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एआई टुलको रूपमा रहेको गुगलको दाबी छ ।
शिक्षामा एआईको आकर्षण
स्लिङ्टन कलेजका कार्यकारी अधिकृत रोहित पाण्डेले विशेष गरी एआई स्वास्थ्य, शिक्षा, कृषि, ग्राफिक डिजाइनिङलगायत क्षेत्रमा उल्लेख्य मात्रामा प्रयोग भइरहेको बताउनुहुन्छ । हामीले एआई टुल केही वर्षदेखि नेपालमै शिक्षा क्षेत्रमा प्रयोग गरिरहेका छौँ । अहिलेको बजार एआईको नै हो । यस्तै भिए इन्टरनेसनल कलेजका आइटी शिक्षक योगेन्द्रबहादुर महताले एआईले परम्परागत पेसा सङ्कटमा आउन सक्ने बताउनुहुन्छ । उहाँका अनुसार अहिले विभिन्न तहमा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल, पोखरा र काठमाडौँ विश्वविद्यालयका साथै विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजमा एआईको पढाइ भइरहेको छ । “विद्यार्थीको चाख र रुचि पनि एआईमा बढेको छ । एआईको यो सुरुवाती चरण हो, यसमा अझै धेरै काम हुन बाँकी नै छ । यसको प्रयोगले मानव विकासलाई थप मद्दत पुग्ने विश्वास गरिएको छ,” उहाँले भन्नुभयो, “एआईले रोजगारी खोसिदियो भन्ने गरिएको छ । हो यसले परम्परागत पेसा सङ्कटमा आउन सक्छन् ।”
भाइरल तस्बिर बनाउने ?
अहिले प्रचलित एआईमा टेक्स टु इमेल, कमान्ड टु आर्टिकल, इमेज टु भिडियो, फेस स्वापलगायतका काममा प्रयोग भइरहेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा एआई टुलका सहयोगमा बनेका तस्बिरहरू निकै चर्चामा छन् । केही शब्द लेखेको भरमा तस्बिर बनाउने अर्थात् टेक्स्ट टु इमेज एआई टुल धेरै नै छन् । यीमध्ये बिङ एआई इमेज क्रिएटर, लिओनार्दाे एआई, एडोबी फायरफ्लाई, क्यान्भा एआई इमेज क्रिएटर, पिक्सआर्ट एआई इमेज क्रिएटर, ड्रिम डट एआई, क्रेयोनलगायत छन् । यी निःशुल्क वा सशुल्क उपलब्ध एआई टुलको प्रयोग गर्न प्रयोगकर्ताले इमेलको सहायताले अकाउन्ट बनाउने र एआईलाई निर्देशन (प्रम्ट) दिएर सजिलै अहिले सामाजिक सञ्जालमा देखिने भाइरल तस्बिर बनाउन सकिन्छ ।
‘एआईले रोजगारी सिर्जना गर्छ, खोस्दैन’
एआई आफैँमा एक बृहत् विधा हो । यसले थुप्रै विषयगत विधालाई समेटेको छ । तिनमा एनएलपी पनि एक हो । जति पनि भाषासँग सम्बन्धित एआईका टुल छन्, ती सबै नेचुरल ल्याङ्वेज प्रोसेसिङ अर्थात् एनएलपी अन्तर्गत पर्छन् । अहिले प्रचलनमा रहेको च्याट जिपिटी पनि एनएलपी अन्तर्गत पर्छ । नेचुरल ल्याङ्वेज भनेको मानिसको भाषा अर्थात् ह्युमन ल्याङ्वेज भन्न खोजिएको हो । एआईभित्र संसारमा द्रुत गतिमा बढ्दै गएको विधा हो, एनएलपी ।
एआईको प्रयोगले निकै परिवर्तन ल्याउँदै गरेको अर्को क्षेत्र स्वास्थ्य क्षेत्र हो । मानिसबाट हुने सर्जरीमा हात काप्ने, नसा आदि पहिल्याउन गल्ती हुने जस्ता समस्यालाई रोबट मेसिनबाट सर्जरी गराई न्यूनीकरण गर्ने प्रयास हुँदै छ । रोबोट मेसिनको प्रयोग रेष्टुरेन्टमा वेटरका रूपमा समेत गर्न थालिएको अवस्था छ । यसको बढ्दो प्रयोगले मानिसको रोजगारी खोसिने हो कि भन्ने चिन्ता पनि सँगसँगै उब्जने गरेका कुराहरू सुन्नमा आउँछन् तर वास्तविकता त्यसो होइन । एआईको बढ्दो प्रयोगले परम्परागत कामबाट मानिसलाई विस्थापन गर्ने सम्भावना त छ तर यसका कारण आइटीसँग जोडिएका नयाँ काममा रोजगारी वृद्धि हुने छ । गाडालाई गाडीले प्रतिस्थापन ग¥यो र गाडा चलाउनेको रोजगारी गुम्यो तर गाडी चलाउनका लागि ड्राइभरले नयाँ रोजगारी पायो । यस्तै हो, अहिले एआई पनि । अब थुप्रै एआई सिस्टम बनाउनु पर्छ । त्यहाँ निकै ठुलो मात्रामा कम्प्युटर प्रोग्रामर चाहिन्छन् । मेडिकल एआईले डाक्टरलाई स्वास्थ्य क्षेत्रमा थप सहयोग गर्ने छ । डाक्टरको सेवा प्रवाहमा थप गति दिनुका साथै मानवीय गल्ती घटाउने काम गर्ने छ ।
म चाहिँ एआई अहिले सुरुवाती अवस्थामा छ भन्न चाहन्छु । यस क्षेत्रमा अझै थुप्रै काम हुन बाँकी छ । सँगसँगै नयाँ प्रविधिहरू पनि विकसित हुँदै गइरहेको अवस्था छ ।
यसका साथै अहिले एआईले बनाएको लेख, रचना, तस्बिर, भिडियोमा प्रतिलिपि अधिकार (कपिराइट)का विषयमा छलफल भइरहेको छ । यस्ता सामग्री इन्टरनेटमा रहेका विविध लेख, रचना, तस्बिर, भिडियोलगायतका सामग्रीलाई सन्दर्भ सामग्रीका रूपमा लिएर एआईको एलगोरिदम (निर्देशन)ले तयार गर्छ । एआईले कसैको जागिर खाइदिँदैन बरु यसलाई थप सहयोगीका रूपमा काम लगाउन सकिन्छ । एआई आएपछि मानिसको रोजगारी र सिर्जना क्षमता गुम्यो भन्ने कुरा सत्य होइन । उनीहरूबाट हामीले सिक्ने कुरा धेरै छ । यस्ता सिस्टमलाई कलाकारका रूपमा लिनु पर्छ ।
‘कार्टुनिस्टमा खासै असर परिसकेको छैन’
कलामा एआइ अर्थात् कृत्रिम बौद्धिकताको प्रयोग केही वर्षदेखि हुँदै आए पनि यसको विकसित र परिस्कृत सुरुवात भएको धेरै भएको छैन । त्यसैले अहिले नै कलाकार तथा कार्टुनिस्टमा यसको खासै असर परिसकेको छैन तर भोलिका दिनमा पर्दैन भन्ने छैन । खास गरी यसले एनिमेटर, इलस्टे«टर, डिजिटल आर्टिस्ट, म्याट पेन्टिङ आर्टिस्टमा असर गर्न सक्छ । नेपालको हकमा केही अनलाइन सञ्चार माध्यममा एआई तस्बिर तथा इलस्ट्रेसनको प्रयोग भइसकेको देख्न सकिन्छ । समयको बचत र सस्तो पर्ने हुँदा एआई भोलि धेरैको छनोट बन्न सक्छ तर कलाकारले जस्तो मौलिक सिर्जना एआइले दिन सक्दैन ।
एआइले कार्टुन चित्र र क्यारिकेचर गर्न सके पनि कार्टुन विधा (पत्रपत्रिकामा छापिने पकेट कार्टुन र एडिटोरियल कार्टुन)मा भने यस्को खास प्रभाव पर्दैन । कार्टुन सिर्जना गर्न समय, समाज र घटनाको गहिरो अध्ययन गरी त्यसलाई कला चेतना, कलात्मक कौशल, हास्यचेतना, व्यङ्ग्य चेतना आवश्यक पर्ने हुँदा एआईले विस्थापित गर्न सक्दैन । एआईको प्रयोगले खास गरी डिजिटल माध्यमबाट कला सिर्जना गर्ने कलाकारलाई अपडेटेड हुन मद्दत पुग्ने छ ।
‘प्रम्ट इन्जिनियरिङको माग धेरै छ’
अहिले एआईको प्रयोग धेरै क्षेत्रमा भइरहेको छ । अहिले साइबर सेक्युरिटीमा एआईको प्रयोग गरिरहेका छौँ । एआईसँग कुरा गर्ने वा कुरा बुझाउने प्रक्रिया नै प्रम्ट इन्जिनियरिङ हो । यस्तो प्रम्ट भनेको एआईलाई प्रयोगकर्ताले दिने निर्देशन हो । यो एक लाइन, दुई लाइन, एक पेज, दुई पेज जति पनि हुन सक्छ । सजिलो भाषामा भन्नुपर्दा यो भनेको एआईसँग कुरा गरेर आउटपुट निकाल्ने कार्य हो । विश्वमा अहिले प्रम्ट इन्जिनियरिङको माग धेरै बढेको छ । विशेष गरी ग्राफिक डिजाइनिङमा विश्वभरि लाखौँको सङ्ख्यामा यस्ता प्रम्ट इन्जिनियरका लागि रोजगारी खुलिरहेको छ । जे भए पनि काम लिनलाई एआईसँग कुरा गर्ने मान्छे त चाहियो नि । त्यसैले प्रम्ट इन्जिनियरको माग विश्व बजारमा धेरै ठुलो मात्रामा छ ।
एआईले कतिको जागिर खोसिरहेको छ, तर अर्को पाटो हेर्ने हो भने यसले जागिर पनि दिइरहेको छ । अहिले नयाँ पुस्ताले यसको प्रयोग गरेर केही नयाँ गर्न सक्छन् भने त झन् नयाँ जागिर पायो नि त । जस्तै, कन्टेन्ट राइटरले च्याट जिपिटीको प्रयोग गरेर झन् राम्रो कन्टेन्ट लेख्न सक्छ । यसले गर्दा उसको जागिर गुम्ने होइन तलबसमेत वृद्धि हुन सक्छ । अहिले इलुस्ट्रेटरको जागिर एआईले गयो भन्ने सुनिन्छ तर मलाई यस्तो हो जस्तो लाग्दैन । त्यही इलुस्ट्रेटरले एआई टुलको प्रयोग गरेर अहिलेभन्दा राम्रो, छिटो र धेरै काम गर्न सक्यो भने जागिर गुम्ने होइन, तलब र स्तर वृद्धि पनि त हुन्छ । त्यसैले एआई एउटा टुल मात्र हो । अहिले एआईको प्रयोग गर्न जान्यो त्यो बजारमा बिक्यो, जसले जानेन त्यो बिकेन । कुरो यस्तो हो । हामीले यसरी पनि सोचौँ न ।
एआईको अर्को पाटो पनि छ, डिप फेक प्रयोग गरी वास्तविक जस्तै देखिने भिडियो तयार हुने । यसको खतरा मैले निर्वाचनका बेला हुन सक्ने देख्छु । उदाहरणका रूपमा एक जना नेताले कसैलाई गाली गरेको भिडियो फेस स्वाप एआई प्रविधिमार्फत बनाइदिन सक्छ तर वास्तवमा उसले कसैलाई गाली गरेको त हुँदैन । एआईको प्रयोगबाट यस्तो भिडियो बनाएर भाइरल गरिदिन सक्छ । यस्तो घटना अब आउने निर्वाचनमा हुन सक्ने खतरा छ ।