• २० वैशाख २०८१, बिहिबार

त्रिविको दीक्षान्त समारोहमा कर्मचारी सङ्घ सहभागी नहुने

blog

काठमाडौं, मंसिर २१ गते । त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घ केन्द्रीय समितिले विगतमा भएका सम्झौता कार्यान्वयन नभए दीक्षान्त समारोहमा सहभागी नहुने जनाएको छ । त्रिवि कर्मचारी सङ्घले मंसिर १८ गते पदाधिकारी समक्ष त्रिविमा कार्यरत प्राविधिक, नर्सिङ्ग तथा प्रशासनिक कर्मचारीको पेशागत हक हितको पक्षमा ज्ञापनपत्र पेश गरेको थियो ।

सङ्घसँग विगतमा भएका सम्झौतालाई पूर्ण कार्यान्वयन र गुमेका सुविधाको यथावत प्राप्तिको सुनिश्चितताका लागि तीन दिन अर्थात् आजसम्म ठोस निर्णय नआए त्रिविका सम्पूर्ण निकायमा प्रशासनिक कार्य तथा शैक्षिक कार्यक्रम पूर्णरुपमा ठप्प पार्ने चेतावनी दिएको थियो । यससँगै त्रिविले पुस २ गते ४९ औं दीक्षान्त समारोह आयोजना गर्ने तयारी समेत प्रभावित पार्ने सङ्घले बताएको छ । 

सङ्घका अध्यक्ष छत्रबहादुर कार्कीले एक वर्ष अगाडि विश्वविद्यालयका पदाधिकारीसँग वार्ता, छलफल र भएका सम्झौताका केही बुँदा कार्यान्वयन भएको तर धेरै महत्वपूर्ण विषय कार्यान्वयन गर्न बाँकी रहेको बताउनुभयो ।

कार्कीले भन्नुभयो, “त्यसका लागि आलटाल गर्दै आएपछि पछ्याउँदै गयौं । यसको निर्णय नआएपछि हाम्रा जायज मागहरुको सम्बोधन गर्नुपर्छ भनेर तीन दिनको अल्टिमेटम दियौं । विगतमा त्रिवि सभाले एउटा निर्णय गरेको थियो खर्च कटौतीको विषयमा चाहिँ त्रिविभित्र काम गरिरहेका कर्मचारीको सेवा, सुविधालाई पुनरावलोकन गर्ने भनेर एउटा समिति बनेको थियो । त्यो समितिले गरेको सिफारिस अहिलेसम्म लागू गरिएको छैन ।”

सङ्घसँग भएका सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन गर्ने प्रयास नभए थप कार्यक्रम अगाडि बढाउने उहाँको भनाइ छ । उहाँले त्रिविका कर्मचारीले गएको साउनदेखि सेवा, सुविधा नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीको पङ्क्तिले गएको साउनदेखि सेवा, सुविधा नपाएका कर्मचारी त्यो दीक्षान्त समारोह सफल बनाउन कसरी उपस्थित हुन सक्छ ? भनेर हामीले व्यवस्थापनलाई प्रश्न गरेको हो ।”

यस पटकको दीक्षान्त समारोह अन्तर्राष्ट्रिय महत्वको रहेकाले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश दिन पनि सङ्घसँगको सम्झौता कार्यान्वयनमा जोड दिइनुपर्ने उहाँको भनाइ छ । सङ्घको यसखाले गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तीकारी) ले त्रिविको दीक्षान्त समारोह कार्यक्रम नबिथोल्न आग्रह गरेको छ । 

६४ वर्ष इतिहास बोकेको विश्वविद्यालय दिनप्रतिदिन कमजोर बन्दै गइरहेको भन्दै शैक्षिक कार्यक्रमहरु बन्द हुने अवस्थामा पुगेको उल्लेख गर्दै अखिल क्रान्तिकारी जिल्ला समिति कीर्तिपुरले सो आग्रह गरेको हो । विद्यार्थीले दुःख पसिना बगाएर कमाएको भविष्य निर्माण गर्ने औपचारिक प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रोक्ने तथा प्रमाणपत्रहरु वितरण गर्न बन्द गर्ने कुटील शब्दजालको समितिले विरोध गरेको छ । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।