• २१ वैशाख २०८१, शुक्रबार

सन् २०२३ नोबेल पुरस्कार विजेता

blog

 - योगेश खपाङ्गी 

वार्षिक रूपमा प्रदान गरिने प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो नोबेल  । यो पुरस्कार एक स्विडेनी आविष्कारक, इन्जिनियर तथा उद्योगपति अल्फ्रेड नोबेलको नाममा सन् १८९६ मा स्थापना गरिएको थियो । 

नोबेल पुरस्कार भौतिकशास्त्र, रसायनशास्त्र, फिजियोलोजी वा मेडिसिन, साहित्य, शान्ति र आर्थिक विज्ञान विधामा प्रदान गरिन्छ । 

यी पुरस्कार हरेक वर्ष अल्फ्रेड नोबेलको मृत्यु भएको दिन डिसेम्बर १० मा स्टकहोमर ओस्लोमा आयोजित समारोहमा प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कार ओस्लोमा प्रदान गर्ने प्रचलन रहिआएको छ ।  

२०२३ मा नोबेल पुरस्कार प्राप्त गर्नेहरू : 

चिकित्सा : क्याटालिन कारिको र ड्रयु वेइसम्यान 


क्याटालिन कारिको र ड्रयु वेइसम्यानको अमेरिकी जोडीले कोभिड–१९ विरुद्ध लड्न पहिलो एमआरएनए खोप बनाउन योगदान गरेबापत  चिकित्सा (फिजियोलोजी) विधामा नोबेल पुरस्कार पाएका छन् ।

हङ्गेरीमा जन्मेका कारिको र अमेरिकी वेइसम्यानले एमआरएनए परिमार्जन गर्न पेन्सिलभेनिया विश्वविद्यालयमा अनुसन्धान गरेका थिए । तिनीहरूले सन् १९९० को दशकको अन्त्यमा यसमा अनुसन्धान सुरु गरेका थिए र त्यस अनुसन्धानको नतिजा उनीहरूले एक प्रमुख खोजका रूपमा सन् २००५ मा प्रकाशित गरे । 

पुरस्कार दिने निकाय कारोलिन्स्का इन्स्टिच्युटका अनुसार उनीहरूको अनुसन्धानमा आधारित रहेर नै कोभिडविरुद्ध फाइजर र मोडेर्ना खोपको विकास सम्भव भएको थियो । 


भौतिकशास्त्र : पियरे अगोस्टिनी, फेरेन्क क्राउज र एनी ह्युलियर 


पियरे अगोस्टिनी, फेरेन्क क्राउज र एनी ह्युलियरले भौतिकशास्त्रमा नोबेल पुरस्कार जितेका छन् । उनीहरूले अहिलेसम्मकै छोटो प्रकाशको पल्स अटोसेकेन्डमा मापन गरेका थिए । जुन एक सेकेन्डको एक अर्बौं भाग हुन्छ । उनीहरूको यस खोजका कारण फोक्सोको क्यान्सर जस्ता रोगको प्रारम्भिक पहिचानको सम्भावना खोल्छ ।ह्युलियर भौतिकशास्त्रमा नोबेल पुरस्कार जित्ने पाँचौँ महिला हुन् । 

रसायनशास्त्र : मौगी बावेन्डी, लुइस ब्रस र एलेक्सी एकिमोभ 


क्वान्टम डट्सको आविष्कार र संश्लेषणका लागि रसायनशास्त्रमा मौगी बावेन्डी, लुइस ब्रस र एलेक्सी एकिमोभले यो पुरस्कार जितेका छन् । क्वान्टम डट ती कण हुन् जो यति सानो हुन्छन् कि तिनीहरूका गुण क्वान्टम घटनाद्वारा निर्धारण गरिन्छ ।

यो प्रविधिले लचिला इलेक्ट्रोनिक्स, साना सेन्सर र इन्व्रिmप्टेड क्वान्टम कम्युनिकेसनको विकासका लागि मार्ग प्रशस्त हुने बताइएको छ ।  

साहित्य : जोन फोस्से 

साहित्यमा यस पटकको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोस्सेलाई प्रदान गरिएको छ । नाटक, उपन्यास, कविता, निबन्ध, बालपुस्तक, अनुवाद, नवीन नाटक र गद्यमा योगदान दिएबापत उनलाई यो पुरस्कार दिइएको हो । ६४ वर्षीय फोस्सेलाई स्विडिस एकेडेमीले उनको नवीन नाटक र गद्यलाई मान्यता दिएको थियो, जसले अव्यक्तलाई आवाज दिन्छ भनिएको छ ।

उनले करिब ४० वटा नाटकका साथै उपन्यास, लघुकथा, बालपुस्तक, कविता र निबन्ध लेखेका छन् ।  

शान्ति पुरस्कार : नरगेस मोहम्मदी 

सन् २०२३ को नोबेल शान्ति पुरस्कारका लागि इरानी अभियन्ता नरगेस मोहम्मदीलाई छानिएको छ । इरानमा महिला उत्पीडनविरुद्धको अथक लडाइँ र मानव अधिकार तथा स्वतन्त्रताका लागि उनको अटल प्रतिबद्धताका लागि उनलाई यो पुरस्कार प्रदान गरियो । 

मोहम्मदीले विगत दुई दशकदेखि धेरै पटक जेल सजाय बेहोरेकी छन् । उनी स्वतन्त्रताका लागि र इरानी महिलाको उत्पीडनविरुद्धको लडाइँका लागि विश्वभर परिचित छिन् । 

अर्थशास्त्र/आर्थिक विज्ञान : क्लाउडिया गोल्डिन 

आधिकारिक रूपमा स्भेरिगेक रिक्सबङ्क भनेर परिचित यस वर्षको अर्थशास्त्र वा आर्थिक विज्ञानको नोबेल पुरस्कार हार्वर्डकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई प्रदान गरिएको छ ।

उनको कामले दुई सय वर्षयता महिला श्रमशक्तिको सहभागितामा यु–सेप (अर्धचन्द्राकार) आकारको वक्र प्रकट गरेको छ । उनको यो ढाँचाले १९ औँ शताब्दीमा कृषिबाट औद्योगिक समाजमा रूपान्तरणका क्रममा भएको गिरावट र २० औँ शताब्दीमा सेवा क्षेत्रको वृद्धिसँगै भएको वृद्धि देखाउँछ ।