• १९ फागुन २०८०, शनिबार
blog

काठमाडौँ, मङ्सिर १६ गते । 

तिम्रो त्यो हँसिलो मुहारको, झझल्को जब आउँदा

विछोडका कुरा कल्पिन थाल्छन्, तिम्रो तस्बिरले चित्त बुझाउँदा...

शम्भुजित बाँस्कोटाका शब्द र सङ्गीतमा दीपक खरेलको गायनको यो गीत सदाबहार छ । त्यसैले तस्बिरलाई गीतमा चिनाउने विगतको यो गीत भविष्य पनि हो । 

त्यसो त तस्बिर भविष्यका लागि वर्तमानको चिनारी पनि हो । समयको विम्ब हो । यसले पुस्तौँपुस्तासम्म सम्झनालाई ताजा बनाउँछ । त्यसैले मानिस स्टुडियोसम्म धाएर तस्बिर खिचाउने र फ्रेममा सजाउने गर्छन् । त्यस्ता फोटोप्रेमी अहिले सार्वजनिक स्थल, मठ, मन्दिरमा भेटिने फोटोग्राफरसँग तस्बिर खिचाउन रुचाउँछन् । अहिले तस्बिरको नै रूपरङ परिवर्तन भएको छ । स्टुडियोको पेसा खुला स्थानमा पुगेको छ र उच्च तथा प्राविधिक विषय अध्ययन गर्नेले पनि यसलाई पेसा बनाउन थालेका छन् । 

कम्प्युटर इन्जिनियर आविष्कार रेग्मी तीन वर्षदेखि क्यामराको ‘सटर बटम’ मा अभ्यस्त बन्दै आउनुभएको छ । पशुपति, वनकाली र मृगस्थलीतिरै दिन बिताउने आविष्कारले रोजगारीको माध्यम ‘फोटोग्राफी’ बनाइरहनुभएको छ । रेग्मी जस्तै १८ युवाको रोजगारी वनकालीतिर फोटो खिच्ने नै छ ।  एकप्रति डिजिटल तस्बिरको २० रुपियाँ लिँदै आएका रेग्मीले यसरी फोटो खिच्न थालेको आठ वर्षभन्दा बढी भयो । उहाँले भन्नुभयो, “पहिला स्वयम्भूतिर फोटो खिच्थेँ । पशुपतितिर खिच्न थालेको तीन वर्ष जति भयो ।”

अङ्ग्रेजी साहित्य र पत्रकारितामा स्नातक एवं क्राइसिस म्यानेजमेन्टमा स्नातकोत्तर पासाङ लामालाई पनि रेग्मीसँगै भेट्न सकिन्छ मृगस्थली र वनकालीतिर । लामाले केही समय पत्रकारितासमेत गर्नुभयो । तथापि क्यामराले बढी आकर्षित गरेपछि पर्यटकको तस्बिर खिच्न थाल्नुभएका लामाले बढीमा सात हजार पाँच सय रुपियाँ दैनिक कमाएको बताउनुभयो । बिहे, व्रतबन्धलगायत कार्यमा समेत फोटो, भिडियो खिच्नुहुने लामाले भन्नुभयो, “अहिले फोटोग्राफीलाई पेसा बनाएको छु । मेरो करिअर नै यसैमा जान सक्छ ।”

हेटौँडाका नरेन्द्र मोक्तान सोखले फोटोग्राफीमा लागे पनि यसबाट राम्रै आम्दानी गर्दै आउनुभएको छ । बिहान ७ देखि बेलुका ६ बजेसम्म फोटो खिचेरै दिन बिताउँदै आउनुभएका उहाँले भन्नुभयो, “हामी फोटो मात्र खिच्दैनौँ, सम्झनायोग्य पोज सिकाउँछौँ । कपाल मिलाउने, जोडी भए अँगालो हाल्न सिकाउने काम पनि गर्छौं ।” फोटो खिचाउने ग्राहक धेरैजसो त खुसी भएर जान्छन् । फोटो राम्रो भएन भन्दै कतिपय रिसाएर जाँदा चाहिँ नरेन्द्रलाई नरमाइलो लाग्छ । 

पछिल्लो समय पशुपति, स्वयम्भू, पाटन, भक्तपुर, वसन्तपुर, कीर्तिपुर, दक्षिणकाली क्षेत्रमा काँधमा क्यामरा झुन्ड्याएर उताउता घुमिरहेका युवा भेटिन्छन् । काठमाडौँ उपत्यकाका धार्मिक एवं सम्पदा क्षेत्र, मठमन्दिर, दरबार, गुम्बा, तालतलैया, झरना, पार्कलगायत पर्यटकीय चहलपहल हुने क्षेत्रमा स्वरोजगार बन्ने प्रयासमा फोटोग्राफीतर्फ युवा आकर्षित हुँदै गएका छन् ।

पाँच, छ लाख रुपियाँसम्म मूल्य पर्ने क्यामरा लिएका युवाले ग्राहकको रुचि अनुसार फोटो भिडियो खिचेर स्वरोजगार बन्ने प्रयास गरिरहेका छन् । उनीहरूले ग्राहकको मोबाइलमा आवश्यकता अनुसारका तस्बिर तुरुन्तै सारिदिन्छन् । रेग्मीका अनुसार यसरी तस्बिर खिच्नेमा प्रायः नेपाली पर्यटक नै हुने गरेका छन् । केही भारतीय पर्यटकले समेत तस्बिर खिचाउने गरेको पाइन्छ । सस्तोमा गुणस्तरीय फोटो, त्यही पनि घुम्न गएको ठाउँमा खिचाउन पाउने भएपछि ग्राहक पनि मक्खै पर्ने गरेका छन् ।  

तस्बिर खिचेर राम्रो कमाइ गरिरहेको थाहा पाएपछि पशुुपति विकास कोषले स्वरोजगारीमा आँखा लगायो । त्यसैले तस्बिर खिच्ने कार्यमा समेत टेन्डर गरिएको छ । अहिले पशुपति क्षेत्रमा तस्बिर खिचेर स्वरोजगार बन्नेले दैनिक एक हजार रुपियाँ तिर्नुपर्छ । सामाजिक सञ्जालमा प्रयोगका लागि ग्राहकले तस्बिर खिचाउँदै आएका छन् ।  टिकटक बन्द भएपछि फोटो खिच्ने पेसामा केही सङ्कट आउने चिन्ता फोटो व्यवसायीमा छ । 

फोटोग्राफर मोक्तानले भन्नुभयो, “टिकटक बन्द भयो, फोटो खिचेर के गर्ने ? भन्ने प्रतिक्रिया ग्राहकबाट आउने गरेको छ ।” 

वसन्तपुर क्षेत्रमा तस्बिर खिचेर दैनिक पाँच हजार रुपियाँ कमाउँदै आएका एक युवाका अनुसार त्यहाँ फोटो खिच्न नगर प्रहरीको आँखा छल्नु पर्छ । उहाँले भन्नुभयो, “जागिरभन्दा फोटो खिच्ने यो काम राम्रै छ ।” फोटोग्राफर रेग्मीले पनि भन्नुभयो, “सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै तस्बिर खिचाउने मोह अझ बढ्दै गएको हो ।”

   

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।