• ५ असोज २०८२, आइतबार

जेनजी घाइतेका सुझाव सुशासन कायम होस्

blog

काठमाडौँ, असोज ५ गते । कैलाली टीकापुरका प्रकाश विष्ट (२३) गाउँमै १२ कक्षा पूरा गरेर केही समयअघि विदेश जाने तयारीमा काठमाडौँ छिर्नुभयो । अनेक हन्डर र ठक्कर खाँदा पनि विदेश अध्ययन गर्न जान भिसा नलागेपछि काठमाडौँमै पठाओ चलाउँदै जीविका चलाउन थाल्नुभयो ।

जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा आन्दोलन गर्ने पोस्ट इन्टरनेटमा फेला पारेपछि उहाँ पनि आन्दोलनमा होमिने निष्कर्षमा पुग्नुभयो । जेनजीको पहिलो दिन भदौ २३ गते संसद् भवनअगाडि प्रदर्शनमा उत्रिएपछि कम्मरमुनि पाँच छर्रा लाग्यो । सिभिल अस्पतालको २१० नम्बर शय्यामा पाँच छर्रा शरीरमै बोकेर प्रकाश पीडा खेपिरहनुभएको छ । उहाँका आमाबुवा गाउँमै सामान्य खेतीकिसानी गरेर घरखर्च चलाउँदै आउनुभएको छ । घरको कमाउने एक्लो छोरा प्रकाश घाइते भएपछि परिवारमा पीडामाथि पीडा थपिएको छ ।  

आन्दोलनमा धेरैको ज्यान जानुका साथै घाइते अस्पतालमै उपचाररत भएकाले देशमा केही परिवर्तन भए हुन्थ्यो भन्ने चाहना भएको उहाँ बताउनुहुन्छ । “जेनजी आन्दोलनपछि देशमा परिवर्तन भए हुन्थ्यो । कसैले भ्रष्टाचार, घुसखोरी गरेको सुन्न नपरे हुन्थ्यो । देशको नेतृत्व युवालाई गर्न दिएर परिवर्तन भएको हेर्ने चाहना छ । देशमा रोजगारी भए विदेश जानुपर्ने थिएन,” उहाँ भन्नुहुन्छ, “यदि जेनजीले सोचे जस्तो परिवर्तन नभए फेरि उठ्नु पर्छ । यति लडाइँ त लडियो, अब देशमा परिवर्तन नभएसम्म लड्नु पर्छ ।” देशमा सुशासन भए छोटो समयमै केही परिवर्तन हुन्छ भन्ने आशा गर्ने ठाउँ रहेको विश्वास उहाँमा छ ।

यस्तै जेनजी आन्दोलनमा लागेका इलाम स्थायी घर भई बानेश्वर क्याम्पसमा बिबिएस पहिलो वर्षमा अध्ययनरत लोसन सुब्बा (२०) ले जेनजी प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिने र गोली हान्ने प्रहरी दुवैलाई कडा कारबाही हुनुपर्ने माग राख्नुभयो । ट्रमा सेन्टरमा उपचाररत सुब्बाले देशमा भ्रष्टाचार नगर, सुशासन कायम गरभन्दा अबोध बालबालिकालाई गोली हान्नु निन्दनीय कार्य भएको भन्दै आक्रोश पोख्नुहुन्छ । देशमा एउटै नेताले भ्रष्टाचार गर्दै शासन चलाउँदा परिवर्तन नभएको उहाँको बुझाई छ । “गोली हान्न आदेश दिने र गोली हान्ने दुवैलाई कडा कारबाही हुनु पर्छ । अबोध बालबालिका मार्नेलाई कुनै हालतमा छोड्न हुँदैन । यो कस्तो मानवता नभएको प्रहरी हो ?” उहाँले भन्नुभयो, “अन्तरिम सरकारले शाक्तिशाली आयोग बनाएर भ्रष्ट शीर्ष नेतादेखि कर्मचारीलाई छानबिन गरेर जेल हाल्नै पर्छ । देशका सबै भ्रष्टचारीको छानबिन गरी सम्पत्ति राष्ट्रियकरण गरिनु पर्छ ।” आफूहरूको नेता बन्ने इच्छा नभएको बताउँदै उहाँले देशमा शान्ति र विकास भए पुग्ने उल्लेख गर्नुहुन्छ । 

सिन्धुपाल्चोक बलेफी स्थायी घर भई कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक पहिलो वर्षमा अध्ययनरत अभिषेक श्रेष्ठ (२२) ले यसअघिका सरकारभन्दा फरक कार्यशैली अपनाएर काम गर्न अन्तरिम सरकारलाई सुझाव दिनुहुन्छ । “जेनजी आन्दोलनले जुन माग राखेको थियो, त्यो केही पूरा भएको छैन, अहिले अन्तरिम सरकार मात्रै बनेको छ, उहाँले भन्नुभयो, त्यसपछि कुन कुन मुद्दालाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने हो, त्यसमा सरकार अघि बढेन । हाम्रै बलमा बनेको सरकार हुँदा केही गरेर देखाउनु पर्छ । यो बेलामा शीर्ष १० काम प्राथमिकतामा राखेर काम गर्न सुरु गरिसक्नुपर्नेमा त्यसो हुन सकेन ।” 

सिन्धुपाल्चोक मेलम्चीका शम्भु दङ्गाल जेनजी युवाले जुन किसिमको विद्रोह गरे, त्यसको मर्मबमोजिम दलहरू अघि बढ्नुपर्ने सुझाव दिनुहुन्छ । “जेनजीले भ्रष्टाचार नियन्त्रण गर्दै  सुशासन कायम गर्नुप र्छ भनेका हुन् । दलभित्रै भ्रष्टाचार व्याप्त छ । कर्मचारीतन्त्रमा हुने भ्रष्टाचारको कुरै नगरौँ, त्यसको अन्त्य हुन जरुरी छ,” उहाँले भन्नुभयो, “देशमा सुशासन कायम गर्न नयाँ मार्गचित्र के हुन्छ, त्यो बाटो पहिल्याउन जरुरी छ ।” उहाँले सबै राजनीतिक दलमा नेतृत्वको पुस्तान्तरणसहित असल संस्कारको विकास गर्न जरुरी रहेको टिप्पणी गर्नुहुन्छ ।

नेपाल प्रहरीका अनुसार जेनजी आन्दोलनबाट ७४ जनाको ज्यान गइसकेको छ भने कैयौँ घाइते अस्पतारमा उपचाररत छन् । अझै सिभिल अस्पताल, ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताललगायतमा केही जेनजीको सघनकक्षमा उपचार भइरहेको चिकित्सकले बताएका छन् ।

  

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।