• २८ फागुन २०८२, बिहिबार

अपेक्षित हुन सकेन नवयुवाको प्रतिनिधित्व

blog

काठमाडौँ, फागुन २८ गते । देशैभरका १६५ निर्वाचन क्षेत्रसहित समानुपातिक मतपरिणामसमेत आइसकेको छ । निर्वाचनमा ‘नयाँ’ को भाष्यमा प्रभावित भएर मत लहर देखिए पनि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका धेरै नवयुवाको प्रतिनिधित्व सोचे जस्तो भने हुन सकेन । 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका जगमा भएको निर्वाचनमा प्रत्यक्षतर्फबाट निर्वाचित हुने प्रायः नवयुवा (जेनजी) उम्मेदवार समूहको वर्चस्व अपेक्षा थियो । प्रतिनिधि सभा निर्वाचनमा २५ वर्ष पूरा भएका नेपाली नागरिक प्रतिनिधि सभाको उम्मेदवार हुन पाउने व्यवस्था छ । रास्वपाबाट ३५ वर्षभन्दामुनिका युवाले सबैभन्दा बढी मौका पाएका छन् । रास्वपाबाट मात्रै ३५ वर्षमुनिका २० जना र ३० वर्ष उमेरका आठ जना उम्मेदवार निर्वाचित भएको निर्वाचन आयोगको विवरणले देखाएको छ । रास्वपाबाट अरू प्रायः ६० वर्षभन्दा कम उमेरका सांसदमा निर्वाचित भएका छन् । 

सबैभन्दा कान्छो सांसदका रूपमा मकवानपुर–२ बाट रास्वपाका प्रशान्त उप्रेती (२५ वर्ष) निर्वाचित हुनुभएको छ । उप्रेतीले ३० हजार ५० मत प्राप्त गरेर विजयी हुनुभयो भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार महेशकुमार बर्ताैलाले १८ हजार ८४६ मत प्राप्त गरेर दोस्रो हुनुभयो । रास्वपाबाटै २६ वर्षकै उमेरमा कैलाली–२ बाट केपी खनाल र नवलपरासीपूर्व–२ बाट मनिष खनालले सांसद हुने अवसर पाउनुभएको छ । 

तर रास्वपाबाट ज्येष्ठ सांसदका रूपमा सप्तरी –४ बाट सीताराम साह ६५ वर्षमा सांसद हुनुभएको छ भने कपिलवस्तु–२ बाट विक्रम थापा ६३ वर्षमा र दाङ–१ बाट निर्वाचित देवराज पाठक ६० वर्षमा निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसबाट सबैभन्दा कम उमेरका सांसद मुस्ताङबाट योगेश गौचन थकाली (३२ वर्ष) बन्नुभएको छ । उहाँ मुस्ताङबाट दोस्रो पटक निर्वाचित हुनुभएको हो । कांग्रेसबाटै निस्कल राई (३५ वर्ष) इलाम–१ बाट निर्वाचित हुनुभएको छ । 

सबैभन्दा ज्येष्ठ सांसद मनाङबाट निर्वाचित कांग्रेसकै टेकबहादुर गुरुङ (७१ वर्ष) हुनुभएको छ भने अछाम–१ बाट भरतबहादुर स्वाँर (७० वर्ष) र सोलुखुम्बुबाट प्रकाशसिंह कार्की (६२ वर्ष) ज्येष्ठ सांसद बन्नुभएको छ । कांग्रेसबाट निर्वाचित अधिकांश ६० वर्षभन्दा कम उमेरका हुनुहुन्छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट सबैभन्दा कम उमेरका सुहाङ नेम्वाङ (३६ वर्ष) इलाम–२ बाट निर्वाचित हुनुभएको छ भने क्षितिज थेवे ताप्लेजुङबाट ३८ वर्षको उमेरमा निर्वाचित हुनुभएको छ । एमालेबाट ३५ वर्षमुनि उमेरबाट कोही निर्वाचित हुनुभएको छैन । एमालेबाट सबैभन्दा बढी उमेरका लक्ष्मीप्रसाद पोखरेल (६३ वर्ष) दैलेख–२ बाट निर्वाचित हुनुभएको छ । 

नेपाली कम्युनिस्ट पार्टीबाट सबैभन्दा कम उमेरमा निर्वाचित हुनेमा युवराज दुलाल (४३ वर्ष) सिन्धुपाल्चोकबाट निर्वाचित हुनुभएको छ । नेकपाबाट ४० वर्षमुनिका कोही निर्वाचित हुनुभएको छैन । रुकुमपूर्वबाट निर्वाचित नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीबाटै सबैभन्दा बढी उमेर (७० वर्ष) का सांसद बन्नुभएको छ । संसद्मा नयाँ पार्टीका रूपमा उदाएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट आरेन राईले खोटाङबाट २९ वर्षको उमेरमा संसद्मा छिर्ने अवसर पाउनुभएको छ । 

   

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।