काठमाडौँ, फागुन २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ उपत्यकाका सबै क्षेत्रमा विजयोन्मुख भएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका १५ मध्ये ४ निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरिसकेको छ भने ११ क्षेत्रमा अग्रता लिएको छ ।
यो समाचार तयार पार्दासम्म रास्वपाले काठमाडौँका छ क्षेत्र र भक्तपुरका दुई क्षेत्रमा अग्रता लिएको छ भने ललितपुरका तीन क्षेत्रमा समेत रास्वपाले अग्रता लिएको हो । काठमाडौँ २ बाट रास्वपाका सुनील केसीले २१ हजार ३५८ मत ल्याएर अग्रता ल्याउनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कबिर शर्माले छ हजार १६९ मतले पछ्याइरहनुभएको छ । राप्रपाकी कुन्तीदेवी पोखरेलले तीन हजार ४३२ मत ल्याउनुभएको छ । काठमाडौँ ४ बाट रास्वपाका पुकार बमले २१ हजार ८५४ मत ल्याएर अग्रता लिनुभएको छ भने कांग्रेसका सचिन तिमिल्सेनाले छ हजार ४७१ मत, एमालेका राजन भट्टराईले पाँच हजार २९ मत ल्याउनुभएको छ ।
काठमाडौँ ५ बाट रास्वपाका सस्मित पोखरेलले २३ हजार ४३३ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ कांग्रेसका प्रदीप पौडेलले सात हजार ६३ मत, एमालेका ईश्वर पोखरेलले तीन हजार ६३५ मत ल्याउनुभएको छ । काठमाडौँ ७ बाट रास्वपाका गणेश पराजुलीले २३ हजार १८२ मत ल्याएर अग्रता लिनुभएको छ भने एमालेका प्रकाश श्रेष्ठले तीन हजार २२८ मत, कांग्रेसका प्रमोदहरि गुरागाईंले तीन हजार ३६५ मत ल्याउनुभएको छ । काठमाडौँ ९ बाट रास्वपाका डोलप्रसाद अर्यालले २२ हजार ३७८ मत ल्याएर अग्रता लिनुभएको छ भने कांग्रेसकी नानुमैया बास्तोलाले तीन हजार ७१३ मत ल्याउनुभएको छ । एमालेका अजयक्रान्ति शाक्यले दुई हजार ९८३ मत ल्याउनुभएको छ । काठमाडौँ १० बाट रास्वपाका प्रदीप विष्टले ३१ हजार ६३० मत ल्याएर अग्रता बनाउनुभएको छ भने कांग्रेसका हिमाल कार्कीले सात हजार १७४ मत, एमालेका विनोद श्रेष्ठले तीन हजार ९०८ मत ल्याउनुभएको छ ।
भक्तपुर १ बाट रास्वपाका रुकेश रञ्जितले १६ हजार ३५ मत ल्याएर अग्रता लिनुभएको छ भने नेमकिपाका प्रेम सुवालले ११ हजार १५० मत, कांग्रेसका किरण न्यौपानेले दुई हजार ४१५ मत ल्याउनुभएको छ । भक्तपुर २ बाट रास्वपाका राजिव खत्रीले १५ हजार २६१ मत ल्याएर अग्रता लिनुभएको छ भने एमालेका महेश बस्नेतले चार हजार २६९ मत, कांग्रेसका कबिर राणाले तीन हजार ८०१ मत ल्याउनुभएको छ ।
ललितपुर १ बाट रास्वपाकी बुद्धरत्न महर्जनले सात हजार ९२१ मतले अग्रता लिनुभएको छ । यस्तै कांग्रेसका उदयशमशेर राणाले ७ हजार २८७ मत लिनुभएको छ भने एमालेका चेतनाथ सञ्जेलले ४ हजार ११९ मत ल्याउनुभएको छ । ललितपुर २ बाट रास्वपाका जगदीश खरेलले तीन हजार १९९ मत ल्याएर अग्रता लिनुभएको छ भने नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ४९९ मत ल्याउनुभएको छ । ललितपुर ३ बाट रास्वपाकी तोषिमा कार्कीले १४ हजार २८५ मत ल्याएर अग्रता लिनुभएको छ भने कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले दुई हजार ७०४ मत, नेकपाका राजकाजी महर्जनले दुई हजार ५४९ मत ल्याउनुभएको छ ।
उपत्यकाको निर्वाचन इतिहास यस्तो छ
काठमाडौँ उपत्यकाको निर्वाचन इतिहास सधैँ परिवर्तन हुँदै आएको छ । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनपछिको निर्वाचन परिणामलाई हेर्दा मत परिवर्तन हुँदै आएको छ । तत्कालीन माओवादी शान्ति प्रकियामा आएका बेला भएको पहिलो संविधान सभा निर्वाचनमा काठमाडौँ उपत्यकाका १५ सिटमध्ये सात सिट जितेको थियो । बाँकीमा कांग्रेसले छ सिट र नेपाल मजदुर किसान पार्टीले दुई सिट जितेका थिए । दोस्रो संविधान सभा निर्वाचन २०७० सालको निर्वाचनमा कांग्रेसले ११ सिट जितेको थियो भने एमालेले तीन सिट, नेमकिपाले एक सिट मात्रै जितेको हो । माओवादी शून्य भएको थियो ।
२०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्र एउटै पार्टी बनाउने गरी चुनाव तालमेल गरेपछि एमाले नौ र माओवादीले एक गरेर दस सिट जितेका थिए । कांग्रेस चार सिट र नेमकिपा एक सिटमा निर्वाचित भएको थियो । २०७९ सालको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्रसहित दलहरूले निर्वाचनमा तालमेल गर्दा कांगे्रसले सात सिट जितेको थियो भने एमालेले दुई सिट मात्रै जितेको थियो । रास्वपाले पाँच सिट र नेमकिपाले एक सिट जितेका थिए । माओवादी केन्द्र शून्य भएको थियो ।