• २० असोज २०८१, आइतबार

झोला उद्योगमा फष्टाएकी व्यवसायी आचार्य

blog

इलाम नगरपालिका –९ भञ्ज्याङमा सञ्चालनमा रहेको यदु झोला उत्पादन तथा तालिम केन्द्रमा तयार भएका झोला देखाउँदै व्यावसायी दिपा आचार्य ढकाल । तस्विर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, मङ्सिर ६ गते । ‘एक महिने शिशु साथमा एक्लो जिन्दगी । रोएर आँसु रित्तियो, शिशुको भविष्य सुन्दर बनाउने जिम्मेवारी, अहिले सपनाजस्तै लाग्छ’ इलाम नगरपालिका–९ की दिपा आचार्य ढकाललाई । अहिले त छोरा युकेश ढकाल पनि १८ वर्षको भइसक्नु भएको छ । 

छोराको भविष्यका लागि चिन्तित दिपाले आर्थिक उपार्जनका अन्य विकल्प खासै नभेटिएपछि अहिले झोला व्यवसाय सुरु गर्नुभएको छ । इलाम सिद्धिथुम्कामा २०६२ सालमा घरमै सुतिरहेको बेला हातमा सर्पले डसेर पति भानुभक्तको निधन भएपछि एक्लिएकी दिपालाई छोरो हुर्काउन निकै सङ्घर्ष गर्नुपुर्‍यो । 

‘आफ्ना पीडा मेटाउन पनि सुरुमा इलाम सदरमुकाम निस्किएर आफूजस्तै एकल भएका महिलाका पीडामाथि मल्हमपट्टि लगाउन पहल गरियो’ दिपाले भन्नुभयो, ‘आफ्नाभन्दा उनीहरूका समस्या ठुला लाग्न थाल्यो । समाधानका लागि एकल महिला सङ्गठित गर्न मानव अधिकारका लागि एकल महिला समूह गठन गरियो । त्यसमा धेरै वर्ष काम गर्दैगर्दा आर्थिक स्रोत जुटाउनु पर्ने भयो र झोला व्यवसाय सुरु गरेँ ।’ 

कोभिड –१९ को सङ्क्रमणअघि तीन वर्षसम्म अचार व्यवसाय गरेर जीविकोपार्जन गर्दैगर्दा कोभिडका कारण त्यो व्यवसाय पनि बन्द भएपछि झोला व्यवसाय सुरु गरेको दिपाको भनाइ छ । तीन वर्षअघि ‘यदु झोला उत्पादन तथा तालिम केन्द्र’ घरेलु कार्यालयमा दर्ता गरेर व्यवसायलाई औपचारिकता दिए पनि करिब ६ वर्ष यता तालिम लिएर झोला सिलाउन थाल्नुभएकी दिपाले अहिले आफ्नो उद्योगको लगानी करिब १७ लाख रुपियाँ पुगेको बताउनुभयो । 

व्यवसायको आम्दानीले सामान्यतया छोरालाई पढाउन र घर खर्च चलाउन पुग्दै गरेको दिपाको भनाइ छ । ‘यहाँ अन्य पाँच जना दिदीबहिनीलाई तालिम दिएर झोला सिलाउन दक्ष बन्नु भएको छ । कटिङको काम म आफैँ गर्छु, सिलाउने काम अरूले गर्नुहुन्छ, उहाँहरूलाई पनि रोजगारी मिलेको छ ।’ दिपाले भन्नुभयो, ‘हामीले उत्पादन गरेको झोला बलियो र धेरै समय नबिग्रने भएकाले यसको बजार र माग राम्रै छ ।’

‘ट्राभल ब्याग, जेब्रा, क्रसबढी, साइड ब्याग, हेन्ड पर्स, हेन्ड ब्याग, मोबाइल ब्याग, पेन्सिल पर्स, तरकारी झोलालगायत’ यहाँका उत्पादन रहेका छन् । बजारभन्दा १००–२०० रुपियाँ सस्तो पर्नेभएकाले पनि बाहिरबाट ब्यागको माग आइरहेको उहाँको भनाइ छ । झोला बनाउने सामग्री भने काठमाडौँ र झापाको धुलाबारीबाट ल्याइने गरेको उहाँले जानकारी दिनुभयो । 

ब्याग उत्पादन मात्र नभएर तालिम दिइने गरेकाले सीप सिक्नेको पनि उत्तिकै चासो रहेको दिपाको भनाइ छ । ‘यहीँ पनि बेसिक र एडभान्स तालिम दिनेगरेकी छु । यो वर्ष चाहिँ विभिन्न पालिकाबाट पनि तालिमका लागि समय माग्नु भएको छ ।’ दिपाले भन्नुभयो, ‘सीप सिकेर दक्ष हुनु एउटा कुरा हो, सीप सिकेर व्यवसाय नै सञ्चालन गर्दा पनि यसबाट घाटा कसैलाई पनि छैन ।’ 

दिपाले केन्द्रमा अहिले ६ वटा सिलाइ मेसिन राख्नुभएको छ । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट पाएको दुई लाख रुपियाँ अनुदानले पनि मेशिन खरिद गरेको उहाँले बताउनुभयो । ‘अझै राम्रा र गुणस्तरीय झोला बनाउन अन्य मेशिनको आवश्यकता छ । पुँजी अभावले त्यो जोड्न सकिएको छैन । अब ती मेसिनहरू ल्याउन सक्दा बाहिरबाट बजारमा आएका नयाँ मोडल र क्वालिटीका ब्याग बनाउन सकिन्छ । त्यो प्रयासमा लागेकी छु’ उहाँले भन्नुभयो । 

त्यसो त इलाममा व्यावसायिक रूपमा झोला उत्पादन निकै कम छ । दर्ता नै भएर सञ्चालन भएको व्यवसाय त यदु झोला उत्पादन तथा तालिम केन्द्र नै हो । एकल महिला भएर पनि स्वरोजगार बन्दैगरेकी दिपा पनि व्यावसायिक बन्न खोज्नेका लागि जिल्लामा गतिलो उदाहरण पनि हुनुहुन्छ ।