जयकृष्ण यादव
इनरुवा, कात्तिक २३ गते । सुनसरीमा दशकअघिसम्म अस्तित्वमा रहेको गोरुगाडा यतिबेला लोप हुने अवस्थामा पुगेको छ । कुनै सयम यातायातको साधन र समान ओसार्ने एउटा महत्वपूर्ण साधनको रूपमा रहेको गोरुगाडा सुनसरीमा कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण भएसँगै गोरुगाढा लोप हुने अवस्थामा पुगेको हो ।
केहीले प्रविधिको प्रयोगले गोरुगाढा हराएको दाबी गर्दै आएका छन् भने केहीले पच्छिलो समय स्थानीय जातको गाईपालन कम भएसँगै गोरुगाडा पनि लोप हुँदै गएको बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ का राजेश ठाकुरले आइतबार बिहानको समयमा गोरुगाडा लिएर धान ल्याउन निस्कदा केहीले हेर्न सडकमा आएका थिए ।
कुनैबेला गोरुगाडा नै गोरुगाडा देखिने गाउँमा अहिले विरलै देखिने भएकाले बालबालिहरूका हेर्न उत्साहित भएको भोक्राहा नरसिंह गाउँपालिका २ का सुकदेव मेहताले बताउनुभयो । उहाँले भन्नुभयो, दुईदशक अघिसम्म प्रायः सबैको घरमा एउटा, दुई वटा गोरुगाडा रहेकोमा अहिले गाउँभरीमा एक वा दुई वटा गोरुगाडा भेटाउन मुस्किल रहेको छ । पहिलापहिला घरकाममा ओसार्नेदेखि अनाज ल्याउन लान मात्रै नभई गर्भवती महिलाको प्रसूति गराउन अस्पताल लान एम्बुलेन्सको काम पनि गर्ने साधनको रूपमा रहेको बैलगाडा(गोरुगाडा) अहिले देखिन छाडिसकेको छ ।
अर्का स्थानीय सुरेन्द्र मेहताले आइतबार बिहानको समयमा भोक्राहा नरसिंहमा गोरुगाडा लिएर धानखेतबाट धान पराल ल्याउन आफ्नो गन्तव्य तिर जादै एउटा गोरुगाडा हेर्न बालबालिकाहरूको भिड लागेको सुनाउनुभयो ।
मेहताका अनुसार विगतमा खासगरी कृषि पेसामा आधारित किसानहरू कृषिकर्ममा गोरु र काठबासको प्रयोग गरी बनाएको गोरुगाडा पच्छिलो समयमा आएर हाते ट्याक्टर, ट्याक्टर अर्थात प्रविधि प्रयोग बढदै गएपछि गोरुगाडाको प्रयोग घटदै लोपोन्मुख अवस्थामा पुगेको छ । स्थानीय किसानहरूले भने कुनै समयमा बिरामी ओसार्नेदेखि, जन्म, विवाहमा जन्ती जाने, मृत्युको बेला मलामी लाने, मेलापात, हाट बजारसँगै कृषि कर्ममा ओसारपसार गर्ने तथा आवतजावत साधानको रूपमा गोरुगाडाको प्रयोग गरिन्थ्यो तर अहिले देखिन छाडिसकेको बताएका छन ।
यसैबिच अर्कोतर्फ गोरु अभाव र थ्रोसर सहितको उपकरणले गर्दा विगतमा किसानले गोरु घुमाएर दाइँ लाउने, धान स्वाहार्ने काम पनि हराउँदै गएका छन् । किसानहरू एकापसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज वीरलै त्यस्ता दृश्य देख्न पाइन्छ । यहाँ पछिल्लो समय गोरुको सहायताले गरिने दाइँ संस्कृति लोप भएको छ । गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँँ संस्कृति हराउँदै जान थालेको हो ।