• १२ साउन २०८१, शनिबार

अर्घाखाँचीको भैरव नाच काठमाडौँमा

blog

काठमाडौँ, कात्तिक २३ गते । अर्घाखाँचीको ऐतिहासिक, पौराणिक, धार्मिक तथा सांस्कृतिक भैरव नाचको प्रदर्शन काठमाडौँमा भएको छ । बुधबार अर्घाखाँची जिल्लावासीको आयोजना तथा सम्पदा संरक्षण महाअभियानको सहकार्यमा हनुमानढोका, वसन्तपुर (कालभैरवअगाडि) भैरव नाचको प्रदर्शन भएको हो । 

भैरव नाच अर्घाखाँचीको नेवाः समुदायले नाच्ने ऐतिहासिक, पौराणिक, धार्मिक र सांस्कृतिक नाच हो ।  अरू जिल्लामा यसलाई लाखे नाच भनेर भन्ने गरिए पनि अर्घाखाँचीमा भने भैरव नाच भन्ने गरिएको भैरवनाथ व्यवस्थापन समितिका संयोजक अभिमन्यु बस्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “लाखे नाचमा एउटा मुकुट लगाएर नाच्ने गरिन्छ भने अर्घाखाँचीको भैरव नाचमा तीन वटा मुकुट लगाएर नाच्ने गरिएको छ । कालो मुकुट  शिवजीको स्वरूप हो भने रातो मुकुट देवीको र सेतो मुकुट गणेशको प्रतीक हो ।”

अर्घाखाँचीदेखि बुटवल र अन्य जिल्लामा स्थानीयको सहयोगमा यो नाच प्रदर्शन गरिँदै आएको छ । काठमाडौँमा यो नाच गर्नुको उद्देश्य भने काठमाडौँको नेवारी सभ्यता र संस्कृति तथा अर्घाखाँचीको सभ्यता र संस्कृतिलाई कसरी जोड्न सकिन्छ र कसरी पारस्परिक सम्बन्ध विकास गर्न सकिन्छ भन्ने रहेको बस्यालले बताउनुभयो । अर्घाखाँची सन्धिखर्कका युवा यो नाच पहिलो पटक काठमाडौँमा लिएर आएको पनि उहाँको भनाइ छ । भैरव नाच यहाँ प्रस्तुत गरेपछि अर्घाखाँची नै लिएर गइन्छ । घटस्थापनको दिन यो नाच विधिपूर्वक निकालिएको हो भने तिहारको औँसीको दिन यसलाई सेलाउने गरिन्छ । 

त्यस्तै अर्घाखाँची आयोजक टिमका अगुवा जनक भुसाल भन्नुहुन्छ, “यो धेरै पौराणिक नृत्य हो । जुन हजारौँ वर्षदेखि चल्दै आएको छ । हामीले यसलाई ताण्डव नृत्य पनि भन्न सक्छौँ । कालो भैरव ठुलो मुकुट लगाएर चौँरी गाईको छालाबाट बनेको ठुला ठुला मादलको तालमा नाचिन्छ । यो मादलको ताल तन्त्र साधना अन्तर्गतको हुन्छ, त्यसबाट विभिन्न किसिमको ध्वनि उत्पन्न हुन्छ । त्यसैको तालमा भैरव बन्नेले नाच देखाउँछन् । 

एउटा विशेष किसिमको झन्डै १० किलोको मुकुन्डो लगाएर संँगसँंगै डङ्किनी पनि लिएर करिब तीन घण्टासम्म सात तालमा नाच प्रस्तुत गरिन्छ । भुसाल भन्नुहुन्छ, “यो नाचका लागि ठुलै ऊर्जा र शक्ति चाहिन्छ ।”