• १४ फागुन २०८०, सोमबार
blog

काठमाडौँ, कात्तिक २० गते । २०७२ को भूकम्पको ताजा अनुभवले नेपाललाई भूकम्पको पूर्वतयारी र भूकम्पपछिको पुनर्निर्माणका धेरै कुरा सिकाएको छ । तर तिनको प्रयोग भने नभएको जाजरकोट भूकम्पले स्पष्ट पारेको छ ।

पश्चिम नेपालमा यस वर्ष ४.० रेक्टर स्केलभन्दा माथिका थुप्रै पटक भूकम्प र पराकम्पन गएका छन् । जाजरकोटमा शुक्रबार राति ६.४ रेक्टर स्केलको भूकम्प जानुअघि गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलका भूकम्प गए । त्यसअघि पनि गत वैशाख १४ गते बाजुरा केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । 

ती भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिमका विभिन्न स्थानको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले अनुगमन गर्नुभएको छ । उहाँले २०७२ को भूकम्पबाट  शिक्षा लिन नसकेको बताउनुभयो । भूकम्प प्रभावित स्थलको शनिबार बिहानै अवलोकन गरेर काठमाडौँ फर्केपछि आयोजित विपत् व्यवस्थापन जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै भन्नुभयो, “२०७२ मा पनि कुरा त भयो तर प्रभावकारी कार्यान्वयन भएन, त्यो हो– भूगोलको अध्ययन गर्ने । कुनै भूगोल भूकम्पमा बढी क्षति हुने खालको छ, कुनै कम क्षति हुने भूगोल छ, त्यसको अध्ययन चाहिन्छ । यस पटक सबैतिर भौगोलिक अध्ययन गर्ने र त्यसका आधारमा बस्ती बसाल्नेतिर सोच्नु पर्छ ।”

भूगर्भविद्ले पश्चिम नेपालमा ठुलै भूकम्प जाने पटक पटक सचेत गराउँदै आएका थिए । त्यही क्षेत्रमा एक वर्षअघि छिटो छिटो नै ‘ट्रेमर’ गइरहेका थिए तर प्रभावकारी रूपमा सचेतना अभिवृद्धि हुन नसक्दा जाजरकोट भूकम्पबाट ठुलो मानवीय क्षति भएको विज्ञहरूको ठम्याइ छ । त्यस क्षेत्रमा तत्काल नयाँ भवन निर्माण गर्न नसकिए पनि प्रबलीकरण कार्यलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्ने सुझाव विज्ञहरूको छ ।

भूगर्भविद् प्राध्यापक तारानिधि भट्टराईले २०७२ सालको भूकम्पपछि सबै विद्यालय, अस्पताल र भवनलाई प्रबलीकरण गरेर सुरक्षित बनाउन पहिलो प्राथमिकता दिनु पर्छ भन्ने पाठ सिकिए पनि सबै भवनको प्रबलीकरण हुन नसकेको बताउनुभयो ।

उहाँले सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि लागु गरिएको भवन निर्माण आचारसंहिता हुबहु पालना गरे नगरेको अनुगमन गर्न सरकारी निकाय चुकेको छ भन्दै थप्नुभयो, “पश्चिम नेपालमा भएको जनधनको क्षतिले घर तथा भौतिक संरचना निर्माणमा सुधार नभएको पुष्टि गरेको छ । ठुलो भूकम्प गएको खण्डमा विद्यालयमा सबैभन्दा ठुलो क्षति हुन्छ भन्ने ज्ञान राखेर काम गरिएन भने सिङ्गो पुस्ता नै भूकम्पले विनाश गर्न सक्छ ।”

भूकम्पपछि ठुला कङ्व्रिmट काट्ने मेसिनलगायत प्राविधिक उपकरणको अभाव छ । जसले उद्धारमा समस्या ल्याउने गरेको छ । यस कुराबाट पनि उद्धार कार्यसम्बन्धी तयारीमा कमजोरी रहेको पुष्टि भएको तर्क विज्ञहरूको छ । भूकम्पपछिको राहत प्रदान तथा पुनर्निर्माण गर्न छुट्टै संस्था स्थापना गर्नुपर्ने र त्यस्तो संस्था प्रधानमन्त्री मातहतमा राखिनुपर्ने उहाँहरूको सुझाव छ । 

तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता डा. भीष्मकुमार भुसालले विपत्अघि र पछि हुने सञ्चारलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिँदै भन्नुभयो, “त्यस क्षेत्रमा ठुलो भूकम्प जाने उत्तिकै सम्भावना छ ।  त्यसैले भूकम्पका कारण सिर्जना हुने विपत्तिबाट जोगिन सचेतना कार्यक्रम र सूचना प्रवाह प्रभावकारी रूपमा सम्प्रेषण गर्न सक्नु पर्छ ।” 

२०७२ को भूकम्पमा करिब आठ हजार नौ सयभन्दा बढीले ज्यान गुमाएका थिए । सो भूकम्पपछि चिरा परेका र जोखिममा रहेका पूर्वाधार र भवन पहिचान गरिएको थियो । सुदूरपश्चिमका पूर्वाधार कच्ची र भूकम्पमैत्री छैनन् भनेर त्यतिबेला नै सचेत गराइए पनि पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रभन्दा बाहिर गएर काम गर्ने कार्यादेश नभएकाले जोखिममा रहेको सो क्षेत्रमा प्रबलीकरणसम्बन्धी कार्य अगाडि बढाउन नसकिएको 

तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिका सदस्य ध्रुव शर्माले बताउनुभयो । डा. भुसालले पनि त्यति बेला जोखिमपूर्ण पहिचान गरिएका क्षेत्रमा पुनर्निर्माण प्राधिकरणले काम गर्न नपाएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । 

२०७२ सालमा गोरखा भूकम्पपछिको केही वर्ष भवन तथा पूर्वाधार निर्माणअघि सचेतनालगायतका काम प्रभावकारी रूपले सञ्चालन भयो । भवनसंहिता अनिवार्य पालना गर्नुपर्ने र भवन भूकम्प प्रतिरोधी डिजाइनलाई मात्रै पालिकाले निर्माण स्वीकृति दिने अभ्यास कार्यान्वयनमा आयो । तर पछिल्लो समय उक्त अभ्यासको पालना धेरै कम मात्रामा भएको सोही प्राधिकरणका अर्का सदस्य चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । 

पालिका प्राविधिक रूपले सक्षम छैनन् । जोखिमका आधारमा परम्परागत संरचनालाई बदल्नुपर्ने विषयलाई महìव र प्राथमिकता नदिँदा जाजरकोटमा ६.४ रेक्टर स्केलको भूकम्पमा समेत ठुलो मानवीय क्षति हुन पुगेको विज्ञहरूको बुझाइ छ । 

प्राधिकरणका तत्कालीन कार्यकारी समिति सदस्य श्रेष्ठले भन्नुभयो, “सिकेका कुरा कार्यान्वयनमा कम मात्रामा आए । पूर्वाधार निर्माणमा जुन संवेदनशीलता देखाउनुपर्ने हो स्थानीय सरकारले देखाएन । ६.४ रेक्टर स्केलको भूकम्पले पनि यति धेरै ठुलो क्षति हुनु भनेको हाम्रो घर नै भूकम्प प्रतिरोधी छैन भन्ने देखाएको छ ।”

प्रारम्भिक आकलन अनुसार जाजरकोट भूकम्पमा क्षति भएका अधिकांश संरचना भूकम्प प्रतिरोधी देखिन्नन् । भौगोलिक बनावट जटिल रहेको र मध्यरातमा भूकम्प गएकाले समेत क्षति बढी भएको आकलन गरिएको छ । 

दुःख घट्दै गएपछि सचेतना र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने विषय पनि बिर्सिने हुन्छ भन्ने जाजरकोटमा गएको भूकम्पले देखाएको डा. भुसालले टिप्पणी गर्नुभयो । मध्यरातमा भूकम्प गएपछि नै उद्धार तथा राहतको काम तत्कालै सुरु भएका थिए । उहाँले राहत तथा उद्धारमा तीनै तहका सरकारले तत्कालै तदारुकता देखाएको कुरा २०७२ सालको सिकाइले नै सम्भव भएको तर्क गर्नुभयो ।