• १५ कात्तिक २०८१, बिहिबार

कहिल्यै नभुल्ने त्यो चड्कन

blog

मान्छे जन्मदै भाग्यसँगै लिएर आएको हुन्छ । भाग्यलाई कर्ममा बदल्नेहरूको जीवन सुखी हुन्छ । भाग्यमा भर परेर कर्म नगर्नेहरूको जीवन ढलपल भएको देखिन्छ । जीवन एक किताब हो, मान्छेका प्रत्येक पाइलासँगै सङ्घर्षका पानाहरूसँगै पल्टन थाल्छन् । जीवनका घटना उपघटनाक्रमले हरेक दिन केही न केही सिकाइरहेका हुन्छन् । यही सिकाइले नै हाम्रो जीवनलाई मार्गनिर्देशन गर्छ । प्रत्येक मान्छेका जीवनका आआफ्नै भोगाइ हुन्छन्, ती भोगाइलाई लिपिबद्ध गर्दा धेरैलाई उत्साह भर्ने काम गर्छ । मैले पनि मेरा जीवनका यस्तै भोगाइ लिपिबद्ध गर्ने कोसिस गर्दै छु ।

–‘जीवन एक कला हो, त्यसमा हाम्रो जन्म पहिलो कला हो भने जीवन दोस्रो कला हो । पहिलो कला सृष्टि हो । दोस्रो कला स्थिति हो । जन्मपश्चात् जीवनलाई सफल बनाउनु महान वीरता हो । जीवनमा सफलताका लागि इच्छाशक्ति, ज्ञानशक्ति र कर्मशक्तिको सदुपयोग गर्नु पर्छ । जन्म भएपछि आफ्नो पूर्णशक्तिको विकास गर्नु जीवनको लक्ष्य हो ।’ महेश्वर बनेपालीज्यूका यी हरफहरूले जीवनको परिभाषा दिएका छन् । हरेक मान्छेका जीवनप्रति हेर्ने दृष्टिकोण फरक फरक हुन्छन्, लक्ष फरक हुन सक्छन्, जिउने कलामा एकरूपता नहुन सक्छ, तर जन्मने र मर्ने प्रव्रिmया एउटै हो । मान्छे जन्मेपछि मर्नै पर्छ । हरेक मान्छेले कर्मलाई उच्च स्थानमा राखेर कामलाई सम्मान गर्न सक्यो भने जीवनको लक्ष र सार्थकता प्राप्त गर्न सकिन्छ, यो मेरो भोगाइबाट प्राप्त भएको ज्ञान हो ।

अहिले मान्छे आफ्नो काम, कर्तव्य के हो, भन्नेमा अलमलिएको देखिन्छ । मान्छे आफ्नो जीवनको उद्देश्य तथा कर्तव्यबाट च्यूत भएर अहम्को पर्खाल चढ्न थालेका कैयौँ उदाहरण वर्तमान समयमा देख्दै र भोग्दै छौँ । यही भोगाइका केही पाटामा मेरो जीवन कहिले उर्वर बनेको छ, कहिले रुक्खासुक्खा, यी सबैले जीवनलाई सार्थक बनाएको छ । हण्डर र ठक्करबिना मान्छे लक्ष्यमा पुग्न सक्दो रहेनछ भन्ने ज्ञान पलाएको छ । मैले जीवनका यिनै पाटालाई शब्दमार्फत व्यक्त गर्न खोज्दै छु । लेख्ने खुराक धेरै छन् जीवनका । सुखका भन्दा पनि दुःख र सङ्र्घषका पाटा जीवनमा लमतन्न भएर रहेका छन् । कहाँ र कसरी सुरु गरौँ, भन्ने दुविधा मात्र हो । तर लेख्दै गर्दा विगतका घटना आफैँ शब्दमा उनिन पुग्छन्, जीवनको परीक्षा प्रत्येक क्षण–क्षणमा दिइरहेको हुन्छु जस्तो लाग्छ ।

अहिलेका मान्छेमा आदर, सत्कार र मानवीयताका भावना प्रायः देखिँदैनन् । संसार  पैसा र शक्तिमा कुदिरहेको छ । एकथरी मान्छेको बुझाइ छ, पैसा भएपछि शक्ति आफैँ आउँछ, त्यसैले उनीहरू पैसाको पछि कुदिरहेका छन् । पद–प्रतिष्ठामा पुगेकाहरू पुस्तौँ पुस्तालाई पुग्ने अकुत धन आर्जन गर्न व्यस्त छन् । जीवनमा पाएको पद–प्रतिष्ठालाई समाजमा बसेर उत्तरार्धमा समाज बदल्नु पर्ने व्यक्तिहरू धमाधम जेलको हावा खाइरहेका छन् । यो उनीहरूको नराम्रो कर्मको फल हो । हामीले धान फलाउन धान नै रोप्नु पर्छ, कोदो रोपेर धानको आशा गर्नु त्यो मूर्खता हो । हो, वर्तमानका मान्छेहरू पनि त्यही मूर्खता गरिरहेका छन् ।

कसैलाई कसैमाथि विश्वास छैन । मेरो बुबाको भाषामा भन्ने हो भने ‘यो कलि धपक्क बलेको अवस्था हो ।’ पुराना कुरालाई जोड्न खोज्छु, वर्तमानका अवस्थाहरूले छोड्दैनन्, हुन त हामी बाँचेको युगको कुरा हो, पचासको दशकमा टेकिरहेको छु, यो अवधिसम्म जिन्दगीले धेरै भोगाइ सकेको छ । धेरै अनुभव बटुली सकेको छु, जीवनको यात्रा छोटिँदै गएको छ तर म आफूलाई सधैँ ऊर्जावान् नै ठान्छु । सधैँ बिहान ब्युझँदा नयाँ जीवन प्राप्त गरेको ठान्छु । आखिर हामीले भोगेका सबै सबै यही छोडेर जाने हो, कृति येस बनाउन सकियो भने, युगले सम्झने छ, भन्ने भोक कहिले काहीँ जाग्छ, त्यही भोक शब्दमार्फत् यता पोख्ने गरेको छु । प्रकृतिको नियमको परिधि कसैले कुनै पैसा र पावरले मिच्न पक्कै सक्दैन । हो यही परिधिभित्र रहेर आफ्नो कर्तव्य पालना गरिरहनु उत्तम ठान्छु ।

मानिस र प्रकृतिको सहचर्य मानिसको सृष्टिसंगै सुरु हुन्छ । तर सुरुमा उसको स्वचेतना विकसित भएको थिएन । चेतना विकसित नहुन्जेल मान्छेलाई प्रकृतिको वास्तै थिएन । जब जब मान्छेलाई चेतनाको विकास हुनेक्रम बढ्यो अनि प्रकृति हाम्रो लागि नै  रहेछ भन्ने ज्ञान वढ्न थाल्यो । प्रकृतिका अनुपम सौन्दर्यसँग सहकार्य गर्दै अघि बढ्न थाल्यो, उसैको उपलब्धिहरूलाई हामीले पनि पालना गर्दै आज यहाँ जीवन जिउँने व्रmममा उभिएका छौँ । उभिइरहने छौँ ।

यही प्रकृतिको काखमा हामी प्रकृतिको नियम परिधिभित्र रहेर आफ्नो जीवनको अन्तिम पलको पर्खाइमा लामबद्ध भएका छौँ । सानोमा आफूले भोगेका, गरेका काम सम्झँदा अहिले कता कता रोमाञ्चित हुने गर्दछु, कहिलेकाहीँ लज्जाबोध पनि हुने गर्दछ । कस्तो बेला हो त्यो ? अहिले मेरो छोराको बाल्यकाल र मेरो बाल्यकालको तुलना गर्दछु । एक छेउ पनि मिल्दैन उसको र मेरो ।  कम्युटर र टेलिभिजन कहाँ थियो र त्यसबेला गाउँको ठुलाठालु भनाउँदाले रेडियो भिरेको देख्दा कस्तो रहर लाग्थ्यो, अहिले रेडियोको त जमाना नै छैन भने पनि हुन्छ । तर मलाई रेडियोमा बोल्ने भोक जागेको छ, विसं २०७५ भाद्रदेखि नियमित कार्यव्रmम प्रस्तोता भएर बोलिरहेको छु रेडियो अन्नपूर्ण नेपाल ९४ एफएममा । एफएममा प्रवेशको पनि रोचक कथा छ, यो प्रसङ्ग अर्को आलेखमा प्रस्तुत गर्ने छु ।

त्यसबेला डन्डी–बियो, कपर्दी, निकै खेलिन्थ्यो । अहिले ती खेल पनि गाउँमा खेल्न छोडिसकेको देख्दा आफ्नो मौलिकपन हटेको महसुस भएको छ मलाई । हामीले मोजामा कपडा हालेर बनाएको बल धेरै खेल्यौँ । नाङ्लाको बिँड र पाइपको पाङ्ग्रा बनाएर कति गुडाइयो भनिसाध्य छैन । हाम्रा यी खेलौनाहरू अहिले लोप भइसकेछन् । तर समयको परिवर्तनसँगै भएका विकासले पनि राम्रै गरेको छ । यही समयको नियम हो । हिजो हाम्रा पुर्खा कन्दमूल खाएर रुखका बोव्रmा लागउँथे, आज हामी त्यही रुखका बोक्रा र रुखमा नै फलेका अनेकौँ चिजबाट बनेका लुगा लगाउँछौँ । यो राम्रो कुरा हो, समय घुमिरहन्छ, कुमालेको चव्रm जस्तै, हामी पनि घुमिरहेछौँ समयको घट्टमा फनफनी ।

त्यो समय स्वणर््िाम समय थियो, आफ्नो अर्काको केही थाह हुँदैन थियो, सबै समान लाग्ने, अहिले सम्झिँदा मिठो अनुभूति हुन्छ । खाली खुट्टा पूरै गाउँ हिँडिन्थ्यो । कसैको घरमा कुनै कार्जे भएमा अहोरात्र खटेर काम गरिन्थ्यो । सवैको सह्ृदयी भावना । गा¥योसा¥होमा सबै एक हुने । युवा शक्ति गाउँमै थिए । दुःख, सुख सबैको एउटै हो भन्ने भावना थियो । पर्म, मेलापात, घाँस, दाउरा गर्न सबैसँगै कस्तो रमाइलो ! त्यो क्षण अहिले सम्झँदा पनि निकै आनन्द लाग्ने गर्दछ ।

हुन त गाउँ छोडेको धेरै वर्ष भए पनि बुबाले छोडेका नासोहरू आज पनि छँदैछन् गाउँमा । बेला बेलामा घर पुग्दा यी याद मेरो मानसपटलमा ठोेक्किने गर्दछन् । परिवर्तन धेरै भएको छ, भावना एउटै छ आज पनि हाम्रो गाउँमा । यही भावनाले गर्दा म मेरो गाउँप्रति निकै मोहित भएको छु । म मेरो गाउँको गर्व गर्छु । फुर्सदिला क्षणमा म आफ्नै गाउँमा रमाउने गर्छु । माधवप्रसाद घिमिरेको शब्द तथा जनार्दन सम, लसमित राई र यशोदा पराजुलीको स्वरमा रहेको–‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो...।’ यी कालजयी गीत बजिरहेको छ, यही धुनमा म मेरो गाउँ र बाल्यकालको सम्झनामा डुबिरहेको छु । 

हुन त पहिले र अहिलेमा निकै अन्तर छ मेरो गाउँ । पहिले अत्यावश्यक सामान लिनका लागि धुलिखेल नै पैदल आउनु पथ्र्यो, अहिले घरघरमा मोटर पुग्छ । भकुन्डेमा ठुलै बजार छ । कलेज तथा जिल्ला स्तरीय अस्पताल खोलिएको छ । बनेपा बर्दिबास सडकको निर्माण सकिएर यातायात सुचारु भएको धेरै वर्ष भएको छ । यस कारण मेरो गाउँले विकासको गतिलाई तीव्ररूपमा अगाडि बढाएको छ । यो गौरवको कुरा हो । अहिले गाउँ होइन सहर भएको छ । गाविस होइन, नगरपालिका भएको छ, नमोबुद्ध नगरपालिका । म मेरो गाउँको कल्पनामा भुल्दा यस्तै कुराले मेरो मन–मष्तिस्कलाई एक किसिमको आनन्द प्राप्त हुन्छ र आत्मबल बढेको आभाष हुन्छ । आफ्नो बाल्यकालको सम्झनाले निकै रोमाञ्चित बनाउँछ । तर दुःखको कुरा गाउँ रित्तिसकेको छ । सहर मौलाएको छ । यो सबै समयको खेल हो । समयको परिधिलाई कसैले रोकेर रोक्न सकिन्न । समय अनुसार हामी पनि परिस्कृत हुँदै जानु पर्छ ।

पहिले पाउडर दुध र चनाको पिठो गाउँमा बाँडिन्थ्यो । गाउँका मान्छेहरू पाउडर दुध र चनाको पिठो लिनको लागि कानपुरमा (कथाकार गुरूप्रसाद मैनाली जन्मेको गाउँ) जान्थेँ । हामी बुबाको पछि लागेर जान्थ्यौँ । हामीलाई त रमाइलो न थियो । करिब एक घण्टाको हिँडाइपछि कानपुर पुगिन्थ्यो । पाउडर दुध र चनाको पिठो लिने लामो लाइनमा बुबा र दाइहरू बस्नुभयो । हाम्रो त के नै काम थियो र ?  घरि यता घरि उता घुम्ने । मसँगै गएका केही  साथीसँगै झलकप्रसाद (राम) पनि थिए । त्यहीँ पनि निकै साथीहरू बनेका थिए । बालकहरू साथी बनाउन निकै सिपालु हुन्छन् । हाम्रो पनि अवस्था यस्तै थियो ।

झलकप्रसाद (राम) निकै बाठो थियो । म भन्दा अलि ठुलो पनि थियो । दाजु हरिकृष्ण त्यहाँको शिक्षक थिए । त्यहाँ भएको भिड र अब कसरी वितरण गर्ने भन्ने कुरामा अफिसमा छलफल भइरहेको थियो । हामी एक हुल बच्चा अफिसमा गयाँै । मेरो दाजुभएका नाताले मलाई त त्यहाँ जान कुनै बन्देज भएन, मेरो सहारामा अरू मेरा साथी मसँंगै गए । अफिसबाहिर दुध र पिठोका बोराका चाङ थिए । भित्र टेबुलमा थुप्रै मान्छे गफ गरिहेका थिए । मसँग गएका केही साथीले बोरा च्यातेर धमाधम दुधको पिठो हाताभरि लिएर खाँदै थिए । कोही बाहिर गएका थिए । एवं व्रmममा निकै बच्चा जम्मा भएर खाँदै थिए । भित्र अफिसमा कुराकानी चल्दै थियो । म पनि के कम एकमुठी दुधको पिठो लिएर खान थालेँ । त्यही बखत भित्रबाट एक जना मान्छेले देखेछन् । हत्तपत्त बाहिर आएर सबैलाई गाली गर्न थाले । म उनकै अगाडि थिए, मलाई मज्जाले चड्काए । अरू सबै साथी भागेछन् । भित्रबाट दाजु आएर मलाई चड्काउने मान्छेलाई गाली गर्न थाले । ‘यो मेरो भाइ हो किन पिटेको’ भन्दै कराए । तिनले उल्टै दाजुलाई प्रश्न गरे– ‘के तपार्इंले नै भाइलाई दुध चोर्न पठाएको हो ?’ दाजु अवाक भएर मेरो गाला पुछपाछ गरेर बाहिर पठाउनु भयो । एकै छिनमा ढोकाको कापमा लुकेर दुध खाइ सकेर गाला मुर्सार्दै झलकप्रसाद (राम) बाहिर निस्कियो । खानु न पिनु पुर्पुरोमा चिनु भने झैँ म पनि आफ्नो गाला मुसार्दै बाहिर निस्कँे । ती त त्यहाँका प्रमुख नै रहेछन्, उनले दाजुलाई भनेको वाक्यले आज पनि निकै ग्लानि हुने गर्दछ ।

निष्कलङ्क रूपमा रहेको त्यो बेलाका बाल्यकालमा भएका ती स्मरण अहिले सम्झँदा आनन्द महसुस हुन्छ । तिनै सम्झनाले हामी बाँच्ने आधारलाई बलियो बनाएका छन् । जेजस्तो भए पनि हामीलेसँगै ल्याएका दुःख, सुख, हाँसो, रोदनलाई यही धर्तीमा छोडेर बिदा हुनु पर्छ । त्यो समय बित्यो, अहिले ती स्मृति प्रिय भएका छन् । समयले हामीलाई दिने हरेक निर्णय स्वीकार गर्दै जानु छ, यसैमा म पनि लामबद्ध भएको छु ।