• २ कात्तिक २०८२, आइतबार

जोखिम क्षेत्रमै बस्छन् साँगाटियाका नागरिक

blog

पहिरोको उच्च जोखिममा रहेको रास्कोट ३ को साँगाटिया बस्ती र खेत तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, कात्तिक २ गते ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिका बाढी पहिरोका हिसावले सुरक्षित क्षेत्र मान्छिन् । जिल्ला विपद प्रतिकार्य योजना पुस्तिकामा रास्कोट नगरपालिकाको वडा नं ७ र ८ बाहेक अरु क्षेत्र सुरक्षित छ भनेर उल्लेख छ । तर नगरपालिकाको वडा नं ३ को साँगाटिया बस्ती पहिरोको उच्च जोखिममा रहेको २०७९ सालको असोजमा आएको हिउँदे झरीले पुष्टि गरेको छ ।

गत असोज १९ देखि २४ गतेसम्म परेको अबिरल वर्षाका कारण जिल्लाको रास्कोट नगरपालिकामा धेरै क्षति पुग्यो । मानविय क्षति नभए पनि भौतिक क्षति धेरै भयो । नागरिकका घर भत्कियो, खेतीयोग्य जमिन भाँसियो, बाढीले खेत पुरेर लग्यो भने पहिरोले खेत बगरमा परिणत समेत गरेको थियो ।

जमिन भाँसिदा गाउँ नै उच्च जोखिममा रहेको साँगाटियाको बस्ती स्थानान्तरण गराउनु पर्ने अवस्थासम्म पुगेको थियो ।

तर सरकारले तत्काल त्रिपाल दिएर बासको व्यवस्था गरेको थियो भने त्यसपछि कर्णाली प्रदेश सरकारले घर मर्मतका लागि भनेर सहयोग गरेसँगै उहि बस्तीमा घर मर्मत गरेर नागरिक जोखिम स्थानमै बस्न बाध्य भएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले जोखिम देखिन आएमा स्थानीय सरकारले संघ प्रदेश सरकारलाई सिफारिस गरेर बस्ती राख्ने ठाउँको एकिन गरी बस्ती सार्नेसम्मको अधिकार छ ।

तर अहिलेसम्म कालीकोटको नरहरीनाथ गाउँपालिका बाहेक अरु कुनै पनि स्थानीय तहले बस्ती स्थानान्तरण अभ्यास गरेको पाइँदैन ।

रास्कोटको साँगाटिया बस्तीका विषय रास्कोट नगरपालिका अहिले बेखर जस्तै छ । निमित्त प्रमुख प्रशासकिय अधिकृत जवानसिंह बमले पछिल्लो समय खासै जोखिम नदेखिएकाले थप प्रक्रिया केही सुरु नभएको बताउनुभयो ।

उतिबेला सहयोग भयो, घर मर्मत गर्ने, पुनर्निमार्ण गर्ने काम प्रदेश सरकारको सहयोगमा भयो । त्यसको प्रत्यक्ष निग्रानी नगरपालिकाले गरेपनि बस्ती सार्ने विषयमा खासै प्रक्रिया केही सुरु नभएको बमको भनाइ छ । अहिले साँगाटियाका नागरिक त्यही भाँसिएको जमिनमा बसोबास गर्दै आएका छन् ।

स्थानीय मेगे दमाईले भन्नुभयो, ‘‘घर भर्खर निमार्ण गरेको थिए, जमिन बगेर हो या बाढीले हो पूरै चिरा परेको थियो । पछि सरकारले सहयोग गरेर निमार्ण भयो । तर अन्य ठाउँ जाने विषयमा अहिलेसम्म खासै कुरा भएको छैन ।’’

यस्तै समय पचालझरना गाउँपालिकाको खाददु गाउँ, शुभकालिकाको वडा नं ८, रास्कोटकै वडा नं ७ का केही बस्तीमा छ । तर सरकारी क्षेत्रबाट खासै पहल नहुँदा नागरिक भगवान भरोसामा जोखिमयुक्त ठाउँमा बस्दै आएका छन् ।