चन्द्रपुर समाचारदाता
चन्द्रपुर (रौतहट), कात्तिक २ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा पुनः निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिन थालेको छ । मन्त्रालयले रौतहटको राजदेवी नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत खटाएर विवादमा तानिएको छ ।
नगरपालिकाका वरिष्ठतम कर्मचारी अधिकृत सातौँ तह इन्जिनियरिङ सेवाका सञ्जयकुमार पाण्डेलाई मन्त्रालयले असोज ३१ गते शुक्रबारका दिन आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिएको छ ।
जिम्मेवारी दिइएको पत्रमा उल्लेख गरिएको छ । सो पत्रमा लेखिएको बेहोरा अनुसार प्रस्तुत विषयमा नगरपालिकाको च. नं. ६९० मिति २०८२ असोज ३० को पत्रबाट आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिन लेखिआएको सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम प्रमुख प्रशासकीय अधिकृत नखटाएसम्मका लागि बढीमा २०८२ कात्तिक मसान्तसम्मका लागि मात्र जिम्मेवारी दिइएको छ ।
दरबन्दी अनुसार खटाइएको प्रमुख प्रशासकीय अधिकृत हाजिर हुने वातावरण मिलाउनुको सट्टा निमित प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी दिएपछि स्थानीयस्तरमा असन्तुष्टि छाएको छ ।
स्थानीय तहमा दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापनबाट पुनः मन्त्रालय आफैँ पछाडि हटेको छ । स्थानीय तहमा लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी समालेको र यसले सुशासन, पारदर्शितामा प्रत्यक्ष असर पार्ने गरेकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समय समयमा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत व्यवस्थापन गर्ने निर्णय गरे पनि कार्यान्वयन गर्न सकेको छैन ।
रौतहटका १८ वटा स्थानीय तहमध्ये निमित्त प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारीमा रहेका १६ वटा स्थानीय तहमा मन्त्रालयले दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो ।
रौतहटको गरुडा, कटहरिया र यमुनामाई गाउँपालिकामा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत हाजिर भए पनि बाँकी अन्य १३ वटामा अझै प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन सकेका छैनन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दसैँमा कर्मचारी तथा शिक्षकको तलब भत्ताका लागि साबिक निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई प्रथम त्रैमासिकका लागि आर्थिक तथा प्रशासनिक अख्तियारी दिएको थियो ।
सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले राजदेवी नगरपालिकामा सरुवा हुनुभएका उपसचिव तिलोचन रिमाल इलाम जानुपर्ने भएकाले बढीमा एक महिनाका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत खटाइएको बताउनुभयो । दरबन्दी अनुसार खटाइएका प्रमुख प्रशासकीय अधिकृत तिहार, छठपछि हाजिर हुन जाने जानकारी गराएकाले तिहार, छठमा स्थानीय सरकारको कामकारबाही तथा तलब भत्तालगायतका काममा प्रभावित नहोस् भन्ने उद्देश्यले कात्तिकसम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी दिनु परेको उहाँले बताउनुभयो ।