• २ कात्तिक २०८२, आइतबार

किसानलाई कामको चटारो

blog

मेसिन प्रयोग गरेर धान काट्दै किसान । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, कात्तिक २ गते ।  दसैँतिहार जस्ता नेपाली समाजका मुख्य चाडपर्वका समयमा सर्लाहीका किसान धान बाली भित्र्याउने काममा व्यस्त देखिएका छन् । 

कृषि ज्ञान केन्द्र सर्लाहीले धानको चाँडो पाक्ने जात (अर्ली भेराइटी) धमाधम भित्र्याउने बेला भएको जनाएको छ । तिहार र छठपर्वको रौनक छाइरहेका समयमा खेतको धानबाली पाकिसकेको किसान भने पहिले धानबाली काट्ने काममा लागिपरेका छन् । साउनमा खडेरी जाँदा ढिलो गरी रोपिएको धानबाली भने भर्खर पसाउन थालेको किसानले बताएका छन् । 

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले जिल्लामा अहिलेदेखि मङ्सिरसम्म पाक्ने धानबाली लगाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सिँचाइ सुविधा कम रहेको क्षेत्रमा लगाइएको चाँडो पाक्ने जातको धान काट्ने बेला भएको छ तर हाम्रोमा धेरै किसानले मङ्सिरतिर पाक्ने धान लगाएका छन् ।” 

कुशवाहाका अनुसार आकासे पानीको धेरै भर रहेको चुरेवर्ती क्षेत्रमा प्रायः किसानले चाँडो पाक्ने धान रोप्ने गरेका छन् । लालबन्दी नगरपालिका रानीगन्जका किसान गोपाल अधिकारीले आफूहरूको क्षेत्रमा अधिकांश किसानले धमाधम धानबाली भित्र्याइरहेका जानकारी दिनुभयो । 

यो वर्ष धान रोप्ने समयमा खडेरी परेर समस्या भए पनि त्यसपछि भने बेला बेलामा पानी परेकाले धानको उत्पादन राम्रै रहेको किसानले बताएका छन् । धान काट्न र झार्न खेत खेतमै मेसिन पुग्न थालेपछि किसानलाई बाली भित्र्याउन सहज भएको अधिकारीले बताउनुभयो । 

सर्लाहीमा बागमती सिँचाइ आयोजना तथा विभिन्न खोलाको पानी र विद्युतीय प्रणालीबाट सिँचाइ हुने क्षेत्रमा ढिलो पाक्ने धान रोपिएको छ । ब्रह्मपुरी गाउँपालिका–६ का किसान फकिरा रायले दक्षिणी भेगमा धेरै जसो किसानले ढिलो गरी पाक्ने धान रोपेकाले छठपर्वपछि मात्रै धान काट्न सुरु गरिने जानकारी दिनुभयो । मध्य असोजमा भएको वर्षाले जिल्लाको दक्षिणी भेगमा धान बाली डुबानमा परेकाले धान उत्पादनमा असर पर्न सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।