हेटौँडा समाचारदाता
हेटौँडा, कात्तिक २ गते । हेटौँडा उपमहानगरपालिकाले निःशुल्क शववाहन सेवा सुरु गरेको छ । जेनजी समूहको आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको शववाहन बुधबारबाट पुनः हेटौँडा उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हो ।
हेटौँडा उपमहानगरसहित जिल्लाका अन्य स्थानबाट दाहसंस्कारका लागि शव सागरसम्म लैजाने समस्या अब हटेको छ । अघिल्लो कार्यकालमा उपमहानगरपालिकाले २३ लाख रुपियाँमा खरिद गरेको शववाहन जलेर पूर्ण रूपमा क्षति भएको थियो ।
“गत भदौ २४ गतेको आन्दोलनका क्रममा शववाहन पनि जलाइयो भन्ने सुनेपछि म निकै रोएकी थिएँ, जलाउन त हेटौँडामा रहनुभएका मेरा अग्रज, समकालीन र अनुज नेतासँगै मेरो घर पनि जलाइएको थियो । आफ्नै घरमा आगलागी हुँदा पनि मन दुःखेको थिएन, सिङ्गो देश जल्दै गर्दा मेरो घर जल्नु गौण बन्यो सायद,” हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले भन्नुभयो ।
“उपमहानगरपालिकाको कार्यालय पनि जलाइएको थियो, यस्तो काम देशैभर भएका कारण मैले आफूलाई समालेकी छु तर उपमहानगरपालिकाको शववाहन पनि खरानी भयो भन्ने सुनेपछि मैले मन थाम्न सकिनँ, निकै रोएँ,” नगरप्रमुख लामाले सामाजिक सञ्जालमार्फत पीडा पोख्नुभएको छ ।
जीवनको अत्यन्तै दुःखद समयमा शववाहनकै कारण नगरवासीले सास्ती झेल्नु नपरोस् भनेर सजिलैसँग शववाहन सम्बन्धित परिवारसम्म पु¥याउनका लागि तत्कालै शववाहनको व्यवस्था गरिएको हो । शववाहन सेवाले हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र निकै प्रभावकारी सेवा पु¥याएको थियो । हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडामा निःशुल्क शववाहन सेवा पु¥याउन थालिएको छ ।