सुनयना बिहानै उठिन् र नजिकैको ‘विडालसर’ पोखरीमा एक ‘डुबकी’ हालेर आइन् । छठको चटारो आफूलाई जत्तिको कसैलाई हुँदैन जस्तो लाग्छ उनलाई । सासूले पाँच घर दलितबाट भिक्षामा प्राप्त भएको चामल र गहुँबाट छठ परमेश्वरीलाई प्रसाद बनाएर छठपूजा गर्ने ‘कौबला’ गरेकी थिइन् । सोही वर्षदेखि उनलाई छठ सुरु नहुँदैको हतारो र चटारो हुन्छ ।
“सबैका घरमा ‘ठकुवा’ र ‘भुसवा’ का लागि गहुँ र चामल धोइपखाली गरी सुकाउन थालिसक्यो । दिन नै कति छ र अब खरनाको ? यसपालि मैले निकै ढिला गरेँ, कतिबेला भिक्षा मागेर ल्याएको अनाज धोएर सुकाउनु, पिसाउनु ? त्यसमाथि यसपालि बर्खा पनि बेठेगान बर्संदो छ । हटियाबाट गुड, नाङ्लो, कनसुपती, आरतीपात, केराको हत्ता र फुलफूल, तरकारी सबै आजै ल्याउनु पर्छ । नभए अब छठपछि अर्को बुधबार मात्र हटिया लाग्ने हो । लोकल बजारमा किनेर साध्य छैन । कुन्नि यसपालि कति भिक्षा आउने हो ? शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाउन पनि त खर्च चाहिन्छ नै । यस्तो महँगीमा... यो आमाले पनि के के भाकल गर्नुपर्ने ?” सुनयनालाई प्रसादका लागि आज दुसाध र मुसहरहरूका घर गएर आफ्नो आँचल फैलाई भिक्षा माग्नु छ । उनलाई कहिलेकाहीँ सासूको भाकलले सकस हुन्छ । हुनेखाने बाह्मण कुलकी बुहारी भएर यसरी आफूभन्दा हैसियतमा कमजोरसँग भिख माग्नु लाजमर्दो हुन्छ । तर उनले त्यो दिन कसै गरी बिर्सन सक्दिनन्; जुन दिन उनको एकमात्र सन्तानको जीवन एक दलित महिलाकै कारण जोगिएको थियो ।
अनेक डाक्टर, वैद्यलाई देखाएर पनि उनले आमा हुने सुख पाउन सकेकी थिइनन् । टोलछिमेकको दुर्वचन मानौँ आजसम्म पनि उनको कानमा गुन्जन्छ । अनेक कौबला–पातिपछि झन्डै अधबैँसे उमेरमा छठ परमेश्वरी पष्ठी भगवतीले एउटा छोरा दिएकी थिइन् । उनैका लागि त बर्सौंदेखि उनी चार दिनसम्म चल्ने कठिन व्रत बस्दै आएकी थिइन् । छोरो जति जति हुर्कंदो छ, सुनयनाको आँचल ती दलित महिलाको अगाडि त्यति नै विनीत भएर फैलँदो छ । सोच्छिन्, त्यो दिन उनले मेरो छोराका लागि आफ्नो ज्यानको बाजी नथापेको भए...?
जनकपुरको बिडालसर पोखरीको चारैतिर सघन बस्ती छ । जहाँ ठुलो सङ्ख्यामा छठ गर्नेको भिड लाग्छ । भनिन्छ, छठ मात्र यस्तो महापर्व हो जहाँ एकै पटक जलाशयमा सबै जातजातिले छठ गर्न पाउँछन् । बुद्धिजीवीले यसलाई अनादिदेखि मिथिला संस्कृतिको सुन्दर धरोहर भनेर नाक ठाडो पार्दै हिँडे पनि वास्तवमा समाज–व्यवस्था कहाँ त्यस्तो छ र ? सूर्यले सबै प्राणीलाई समान रूपमा प्रकाश दिन्छन्, त्यसैले सबैमाथि समान व्यवहार गर्नु पर्छ भन्ने सोच विकास गर्न सूर्यको पूजा गर्न थालेको पनि हजारौँ वर्ष बित्यो तर विडम्बना ! पछौटे समाजका लागि यी कुरा त हात्तीको देखाउने दाँत मात्रै हो ।
बिडालसरको तीनतिरका घाट ब्राह्मण–कायस्थ, राजपुत, साहु–यादव, हलुवाई र धानुक आदिका लागि आरक्षित छ । टोलमा एउटा मात्र मुसहर परिवार खोइ कताबाट उठेर चुरोट फ्याक्ट्रीतिर बर्सौंपहिले आएर बसेको थियो; जो सोही पोखरीको डिलमा छठपूजा गर्न आउँछ । उनको पनि त कुनै भाकल होला, नभए त मुसहर जातिले त्यतिविधि छठ गर्दैनन् प्रायः । उनले त्यस स्थानमा छठ गर्न थालेदेखि अन्य सबै परिवारले त्यो चौथो डिललाई अपवित्र झैँ त्यागिदिएका छन् । मानौँ, सिङ्गै पोखरीको त्यो एउटा डिल ‘अछोप’ छ । मानौँ, उताको पानी उतै जमेर बसेको छ । पानीको ‘हिलकोर’ लाई दह जस्तै अर्को किनारा छुने छुट छैन । अनुमति छैन । न उनीहरू यतातिर आएर छठ गर्छन् न यताकाहरू उता जाने गर्छन् । पोखरीको त्यो किनारा छठमा पनि अँध्यारो नै हुन्छ प्रायः । यताको जस्तो झिलिमिली र सजिसजाउ कसले गरिदिने ?
त्यस दिन सझिया ‘अरग’ थियो । सधैँ झैँ लाउडस्पिकरमा शारदा सिह्नाको छठगीत ‘हे करेलु छठ बरतिया से केकरा लागि ?’ ठुलो स्वरमा बजिरहेको थियो । अर्घका लागि महिला र पुरुष जलाशयमा उत्रिसकेका थिए । सुकिला वस्त्रमा के महिला/पुरुष, के बालबालिका; सबैमा महापर्वको उत्साह थियो । वातावरणमा मानौँ अलौकिक ऊर्जा व्याप्त थियो । यत्तिकैमा हातमा अर्घको डालो लिएर जलाशयमा उभिएका व्रतालुबिच अनायास बालक डुब्न लागेको हल्ला सुरु भयो । पोखरीमा एउटा बालक डुब्दै उत्रिँदै गरेको सबैले देखे । झन्डै बिच पोखरीमा पुगिसकेका ती बालक कसका बच्चा हुन् भन्ने हल्ला भयो । सबैले आआफ्ना बालबच्चा खोज्न थाले । यत्तिकैमा सबैले देखे– बिच पोखरीमा पहेँलो धोती लगाएकी एक महिला ती बच्चाको उद्धार गर्न पुगिसकेकी छन् । हेर्दा भर्खरकी ती महिलाले बालकलाई तानेर डिलमा ल्याउने प्रयास गर्दै थिइन् तर मानौँ पानीले उनलाई आफूतिर तान्न खोज्दै थियो । यता तीनतिरबाट सबै रमिता हेरिरहे । यत्तिकैमा सुनयनाले पोखरीमा डुब्दै गरेको आफ्नो छोरालाई चिनेर पाताल भासिने गरी चिच्याइन् । रोइकराइ सुरु भयो । अँजुलीमा नरिवल लिएर अघिसम्म सूर्य उपासना गर्दै पानीमा उभिएकी उनी सबै फ्यालेर छोरोतिर बढिन् । उनका पति जो अघिदेखि रमिता हेरिरहेका थिए, पोखरीमा फालहाले तर ती महिलाले बालकलाई डिलमै ल्याइपु¥याएकी थिइन् । सुनयनाकी सासू अर्थात् बालककी हजुरआमाले देखिन्– पीतवस्त्र धारण गरेकी ती महिलाको मस्तकपछाडि सूर्यको किरणको अद्भुत छटा बनेको छ; जसले उनलाई दिव्य बनाएको छ । मानौँ उनी साक्षात् पष्ठीमाता, साक्षात् भवानी हुन् । सात वर्षका ती बालकलाई बाहिर ल्याइयो । तीनतिरका मान्छेको भिड नै लाग्यो । धन्य जीवित थिए बालक । ती महिला तिनै व्रतालु थिइन्; जो ‘मुसहरी घाट’ मा परित्यक्ता झैँ सधैँ एक्लै छठ गर्थिन् ।
उतिखेरै सुनयनाकी सासू, पार्वतीदेवीले नातिलाई पुनः छठ परमेश्वरीको कृपाको रूपमा पाएको भन्दै भाकल गरिन्, “हे छैठ परमेश्वरी, मेरो नातिलाई बचाउने यी देवीको हातबाट र उनी जस्तै अन्य चार जनाबाट भिक्षा प्राप्त भएपछि मात्र हामी छठ गर्छौं । मेरो नातिको दीर्घायुका लागि हामी सधैँ यी देवीको अगाडि हात पसारेर मागेर भए पनि तिम्रो पूजा गर्छौं । यसको सधैँ कल्याण गर्नू ।” आफ्नो ज्यानको पर्बाह नगरी पानीमा फालहाल्ने ती दलितमा उनले देवीको स्वरूप देखिन्, मानवता देखिन्; जो कुनै उच्च भनाउने जातिमा देखिएन र उनले देवीको कृपाका रूपमा त्यो घटनालाई लिइन् । छठपर्व आस्थाको एउटा अनौठो पुञ्ज नै त हो नि ! पर्वतीदेवी टोलकै अगुवा महिला थिइन्, शिक्षित र कुलीन घरानाकी उनी सबैलाई सहयोग गर्न अघि सर्थिन् । उनले बर्सौंदेखि ती मुसहर परिवारलाई एक्लै छठ गर्दै आएको देखेकी थिइन्; जो यो समाजको व्यवहारका कारण अलगथलग देखिन्थ्यो । उनले अनौठो भाकल गरिन्; जसको कल्पना मिथिलाका ब्राह्मण समाजले गर्न सक्थेन । छठपर्वमा चोखोनितो र शुद्धताको ख्याल गरिने ठाउँमा उनको भाकल एक क्रान्ति नै थियो । ज्यान जोगाउने हातहरू कसरी पो ‘अछुत’ हुन सक्छन् र ? कस्तो खोक्रो र ढोँगी समाज ? दलितले छोएको अनाजबाटै छठको महाप्रसाद बनाउँदै आएकी छन् उनी, कतै कुनै अनिष्ट भएको छैन । आज उनका नाति १२ वर्षका भइसके । कम्तीमा पाँच घर दलितसँग भिक्षा मागेर छठपूजा गर्ने उनको भाकलकै कारण ती दलित महिलाको अगाडि उनको सिङ्गो टोल विनीत भएको छ । पाँच वर्ष भयो, सुनयनाले भिक्षा मागेर छठ पर्व गर्न थालेको । नुहाइधुवाइ गरी पोखरीबाट आएर उनले बाँसबाट निर्मित डालो लिइन् । पहिले चुरोट फ्याक्ट्रीतिर बस्ने तिनै महिलाको घर पुगिन् र बाहिरबाट भनिन्, “ऐ बहिन, घरमा हुनुहुन्छ भने मलाई छठका लागि भिक्षा हालिदिनु है ।”
उनी घरबाट नाङ्लोमा थोरै चामल लिएर आइन् र प्रेमपूर्वक उनको डालोमा हालिदिइन् र सोधिन्, “तपाईंको बाबुलाई कस्तो छ ?” सुनयनाले भनिन्, ‘तपाईंको कृपाले बाँचेको छु । दोस्रो जन्म दिने आमा तपाईं नै हो, छठको दिन आउँछु तपाईंको आशिष् लिन ।” त्यसपछि उनी दुसाध टोलतिर अघि बढिन् । अचेल विडालसर पोखरीको चारैतिर छठ गर्नेको घुइँचो लाग्ने गर्छ । टोलका युवाले सूर्यदेव र पष्ठीमाताको प्रतिमा त्यही घाटमा बनाउन थालेका छन्; जो कहिले परित्यक्ता त कहिले अँध्यारोको साम्राज्य हुन्थ्यो ।