• १ कात्तिक २०८२, शनिबार

न्याउलेको उत्खनन : रसरङ्गको सौगात

blog

सुदूरपश्चिम र मध्यपश्चिमतिर खेलिने गीतिखेल र गाइने गीत न्याउलेको सैद्धान्तिक र व्यावहारिक पक्षको खोजमूलक कृतिका रूपमा नेपाली वाङ्मयमा भित्रिएको पुस्तक हो– ‘रसरङ्गको सौगात’ । न्याउलेको जन्म मानव सभ्यताको उत्पत्तिसँगै भएको हुन सक्छ । कुनै ठोस प्रमाणको अभावमा भन्न सकिन्छ, न्याउले न्याउली चरीको जीवन भोगाइको अनुभूतिबाट मानव मस्तिष्कमा प्रस्फुटन भएको कुरालाई पुस्तकले विवेचना गर्दै उजागर गरेको छ । न्याउली चरी जहिलेदेखि यस धर्तीमा आयो र आफू जस्तै दुःखको भुमरीमा घुमेको मान्छेसँग मितेरी लगाएर विरहका गीतहरू सुसेल्न सिकायो; त्यसै बेलादेखि न्याउलाको उत्पत्ति भएको हुन सक्ने कुरालाई पुस्तकमा उल्लेख गरिएको छ । 

जीवन जिउने क्रममा उद्भव र विकास हुँदै आएका मार्मिक र सारपूर्ण गीतहरूद्वारा मनोरञ्जन प्रदान गर्न मानव जीवनमा न्याउले गीतिखेल र गायनका रूपमा प्रवेश पाएको हुन सक्ने यथार्थलाई पुस्तकले सारभूत रूपमा उत्खनन गरेको छ । मानिसको जीवन दुःख, सुख, हाँसो, खुसी, रोदन र क्रन्दनका घटना र परिघटनाबाट अछुत हुन सक्दैन र यिनै परिवेशलाई गीतको माध्यमबाट आदानप्रदान गरी वस्तुगत यथार्थलाई चित्रण गर्ने संस्कार र संस्कृतिको विकास मानव जातिको विकाससँगै भएको हुन सक्छ भन्ने कुरालाई पुस्तकले बडो बेजोड ढङ्गले उठान गरेको छ । लेखककै शब्दमा “समयको परिक्रमासँगै एकपछि एक आउने गिताउडाहरू र एउटै गाउँका बहुगिताङ्गेका मनमस्तिष्कबाट प्रस्फुटन हुने र गिताङ्गेकै मस्तिष्कभित्र सुरक्षित रहने अलिखित र अदृश्य श्रव्य धाराको काव्य हो न्याउले । यो श्रव्य धारा जतिखेर गाउने र खेल्ने हो, त्यतिखेर बर्सन्छ आकाशबाट पानी बर्से झैँ । न्याउला जहाँ हुन्छ त्यहाँ क्षणिक समयका लागि भए पनि सबैका सम्पूर्ण दुःखानुभूतिलाई बिर्साएर अनौठो स्वाद चखाउँदै आनन्दविभोर तुल्याइदिन्छ रमिते र श्रोताहरूलाई । काव्यशास्त्रको जन्म नहुँदै जेठो भएर मान्छेको उत्पत्तिसँगै जन्मेको हुनु पर्छ न्याउले ।” यो यसको व्यावहारिक जीवनको पाटोसँग सम्बन्धित छ । जीवनदर्शनसँग सम्बन्धित छ । 

पुस्तकमा न्याउलेलाई संस्कृतिका रूपमा स्थापित गर्न खोजिएको छ र यो मानिसबाट अलग हुन नसक्ने कुरालाई प्रस्ट्याइएको छ । न्याउलेलाई दुःखको औषधी र मनोरञ्जनको सन्दुकका रूपमा परिभाषित गरिएको छ । न्याउलेको तुलना पन्छी, सागर र शीतसँग गरिएको पाइन्छ । मुटुको स्पन्दनभित्रको व्यथालाई मानवीय संवेदनातिर पस्केर आफूलाई हलुको बनाउने सम्पूर्ण विधाका रूपमा न्याउलेको चिरफार गरिएको छ । न्याउले अलिखित, अपरिचित, अप्रकाशित र अदृश्य काव्य हो र इन्द्रेणीका सबै रङ्गको एकै नाउँ हो भन्ने कुरालाई सैद्धान्तिक र व्यावहारिक रूपले न्याउलेका गीति फाँकासहित पुस्तकमा मिहिन ढङ्गले केलाइएको छ । काव्यगत विशेषताहरू जस्तै संरचना र स्वरूप, तुक्काबन्दी, छन्द र लयसँग न्याउलेको काव्यात्मक सम्बन्धलाई न्याउले गीतकै माध्यमबाट पस्केको पाइन्छ । 

कि स्वादी सुन्तली दाना कि रे स्वादी केला ।

गाली माम खाइहेलु सुत्तो भेट भएका बेला ।। 

मासले मितेरी लायो मुसुरी दालसँग । 

चमाफूल चुँडेर लैग्यो क्याभनु कालासँग ।। 

दाइबाली बुजाउन बाइगे दर्ना काँडाकोट । 

तेरो माया मद्दो हो क्या सुन्तलीका बोट ।। 

न्याउले गणमुक्त वा स्वतन्त्र छ तर अन्त्यानुप्रासको समायोजनले गीतमा माधुर्य थप्छ भन्ने कुरा उदाहरणसहित गीतकै माध्यमबाट व्यक्त गरिएको छ । न्याउले गद्य–पद्य कुनै विधामा पनि आबद्ध छैन । यो पद्यशैलीको गीत हो; जुन खेलिन्छ र गाइन्छ जसमा काव्यका सबै तत्व जस्तै– कथावस्तु, पात्र र चरित्र, कथोपकथन, देशकाल, भाषाशैली र उद्देश्य क्रमबद्ध एवं स्वस्फूर्त रूपमा गिताङ्गेहरूबाट प्रयोग हुने कुरा पुस्तकले सप्रमाण पेस गरेको छ ।

न्याउलेमा प्रयुक्त हुने रसालङ्कारको सजीव वर्णन गरिएको छ । साहित्यिक रचनाहरूमा कला र भाव आत्मा र शरीर हुन् भन्ने कुरालाई स्थान दिइएको छ । रसालङ्कारले नै न्याउलेलाई रूपवती परी जस्तै सुन्दर र कर्णप्रिय बनाउँछ । न्याउलेमा प्रयोग हुने रसालङ्कारलाई यसका पारखीहरूले मात्र बुझ्छन् भन्ने कुरा स्पष्ट पारिएको छ । न्याउले गीतमा मर्मस्पर्शी भावको बाहुल्य हुन्छ । यही भावले श्रोता र दर्शकमा कौतुकी पैदा गरिदिन्छ र त्यसको तरङ्ग जनहृदयमा प्रवेश गरेर वृद्धलाई नवजवान बनाउने जादुगरी ल्याइदिन्छ न्याउलेले भन्ने कुरालाई गीतबाटै यसरी व्यक्त गरिएको छ पुस्तकमा– 

राजा बस्यो विव्रापानी स्वाँर बस्यो सरानी । 

साइ मेरा शीलान्या पानी गलाको परानी ।। 

न्याउलेमा जानअन्जान रूपमा सोह्र शृङ्गारका रूपमा साहित्यका नौ वटा रस– शृङ्गार, करुण, हास्य, वीर, रौद्र, भयानक, बीभत्स, अद्भुत र शान्त सबैको उच्चतम प्रयोग भएको देखाइएको छ । लेखकले पुस्तकमा न्याउलेमा प्रयोग भएका नवरसको सैद्धान्तिक र व्यावहारिक पक्षलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको पाइन्छ । न्याउलेमा अलङ्कारको प्रयोग सर्वत्र हुने कुरालाई प्रयोग गरेरै देखाइएको छ । काव्यशास्त्रमा काव्य सर्जक बन्नका लागि प्राज्ञ र पण्डितीय व्यक्तित्व हुन आवश्यक छ तर न्याउलेमा दोहोरो प्रणय द्वन्द्व, प्रणय प्रकोप, प्रणय प्रतिज्ञा, प्रणय प्रतीक्षा र प्रणय भङ्गको प्रश्नोत्तर भिडन्तमा गोठालो पनि आँसुकवि बन्न सक्छ । किसान, बन्जारा, हली–बाउसे र रोप्न्यारीहरू महाकवि र कवयित्री बन्न सक्छन् । न्याउलामा विद्वताको कुनै साइनो र सम्बन्ध छैन, केवल भावना र संवेदना भए पुग्छ । पुस्तकमा लेखकले यसलाई स्पष्ट पारेका छन् । 

न्याउलेमा शब्दालङ्कार अनुप्रास (छेकानुप्रास, वृत्यानुप्रास, श्रुत्यनुप्रास, लाटानुप्रास र अन्त्यानुप्रास), यमक, श्लेष र वक्रोक्ति अनि अर्थालङ्कार (उपमा, रूपक उत्प्रेक्षा, समासोक्ति, अतिशयोक्ति र दृष्टान्त) को प्रयोग सूक्ष्म ढङ्गले देखाइएको छ । न्याउले शास्त्रीय काव्यधारामा प्रवाहित हुने सबै तत्व बोक्ने र साहित्यिक आत्मा तथा शरीर भएको खेलका रूपमा लिइने दर्शक÷श्रोताको अन्तरआत्मासम्म पुग्न सक्ने काव्य हो । यो काव्य किताबाकारमा पाइँदैन । लिखित रूपमा छैन तर गिताङ्गेका मनमस्तिष्कमा सञ्चित हुने र आवश्यक परे हाँगा हल्लाएर पाकेको फल झारे झैँ झार्न सकिने काव्यका रूपमा अथ्र्याइएको छ पुस्तकमा । 

गिताउडो–गिताउडी आँसुकविका रूपमा प्रस्तुत हुनु र एक रातमा खेलमा गाइएका गीतहरूले महाकाव्यको आकार लिनु न्याउलाको प्रमुख विशेषता हो भनिएको छ । न्याउले मौलिक र अनुकरणविहीन संस्कार, संस्कृति र जीवनदर्शन हो । यो लोकप्रिय मात्र छैन, व्यापक पनि छ । न्याउले समावेशी र विभेदरहित संस्कृतिको उत्तम नमुना पनि हो । न्याउले रसरङ्गको कुण्ड, अण्ड र पिण्ड हो । न्याउलाको पछ्यौरीभित्र मान्छे हुन्छ र मान्छेभित्र अन्तर्निहित न्याउला हुन्छ । न्याउलाको भावभक्तिका कारण एउटाको आँखामा आँसु देख्नेबित्तिकै अर्काको आँखा रसाइदिन्छ । न्याउले भावनाको भेल हो । रुष्टता, तिक्तता, दीर्घ वेदना, हर्ष, घृणा र हाँक सबै थोक एकै ठाउँमा पाइने काव्यात्मक शैली न्याउले हो । हारजित, अप्रत्यक्ष गाली, यथार्थवादी, झिट्टो, उखान, प्राकृतिक चित्रणको संयोजन हो न्याउले । दुई पटके, तीन पटके र लम्मरी गरी तीन किसिममा विभाजन गरिएको छ । 

यस पुस्तकका लेखक कण्ठराज गिरीले न्याउलेलाई अदुवाको अचारसँग तुलना गर्नुभएको छ; जसमा पिरो, स्वाद र बास्ना हुन्छ । न्याउले कल्पवृक्ष हो । यसमा शास्त्रीय ज्ञान र सकारात्मक ऊर्जा एकैसाथ प्राप्त हुन्छ । सनातन संस्कृति हो; जुन जीवन्त छ । पुर्खाले सञ्चय गरेर राखेको धरौटी हो भनेर पुस्तकलाई विश्राम दिइएको छ । अन्त्यमा दिइएका शब्दार्थले बुझ्न सजिलो मात्र भएको छैन, भाषागत ज्ञानको आदानप्रदानमा पनि सहयोग पुग्नुका साथै नेपाली शब्दकोषमा बढोत्तरी हुन जाने छ ।