हरिकृष्ण ऐडी
मुगु, कात्तिक २ गते । मुगुको सोरु गाउँपालिका र मुगुमकार्मारोङ गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन अहिलेसम्म निर्माण हुन सकेका छैनन् । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण अस्पताल भवन विगत चार वर्षदेखि अलपत्र परेका हुन् ।
नागरिक समाज मुगुका अभियान्ता रुपबहादुर मल्लका अनुसार नेपाल सरकारले सबै स्थानीय तहमा अस्पताल बनाउने कार्ययोजना अनुरुप जिल्लाको सोरु गाउँपालिका र मुगुमकार्मारोङ गाउँपालिकामा २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता अनुसार हालसम्म अस्पताल भवन निर्माण हुनसकेका छैनन् । पालिकाका स्तरीय अस्पतालको भवन निर्माणको समय सकिएको भए पनि सम्पन्न हुन नसक्दा निर्माणधिन अस्पताल भवन हाल अलपत्र जस्तै भएका छन् ।
सोरु गाउँपालिकाको अस्पपाल भवन निर्माणको जिम्मा पाएको सगुन प्रेरणा जेभीले हालसम्म दुई तलासम्म ढलान गर्ने कार्य मात्र गरेको सोरु गाउँपालिकाका उपाध्यक्ष केशरजंग शाहीले जानकारी दिनुभयो । निर्माणको जिम्मा पाएको निर्माण कम्पनीलाई छिटोछरितो अस्पताल भवन निर्माण कार्य सम्पन्न गर्नु भनि पालिकाले निर्माण कम्पनीलाई पटकपटक पत्रचार गर्दा पालिकाले पनि हैरानी खेप्नु परेको शाहीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अहिलेको अवस्थामा काम गर्दै जाने हो भने अझै अस्पताल भवन निर्माण हुनलाई दुईदेखि तीन वर्षसम्म निर्माण कार्य सम्पन्न हुने देखिन्छ । निर्माणको जिम्मा पाएका यता सगुन प्रेरणा जेभीका सञ्चालक खड्कबहादुर शाहीलाई सम्पर्क गर्नखोज्दा उहाँ सम्पर्कमा आउन खोज्नु भएको छैन ।
मुगुमकार्मारोङ गाउँपालिकाको अस्पताल भवनको निर्माण कार्य सबै सम्पन्न भएको छ । अबको तीन–चार महिनाभित्र पालिकालाई हस्तान्तरण गर्ने तयारी भएको नेपाल पब्लिक निर्माण कम्पनीका सञ्चालक कार्मा लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सडक देखि निर्माण स्थलसम्म एकदिन लगाएर ग्रैरस्थानिय सामाग्री हरु ढुवानी गर्नुपर्दा निर्माण कार्यमा अलि ढिलाई हुनगएको हो ।
सोरु गाउँपालिकाका वडा नं ८ का स्थानीय दान बहादुर शाहीका अनुसार यहाँका स्थानीयले केहीले सेवा लिन सक्ने हुन्। उक्त अस्पताल भवन निर्माण हुन ढिलाई हुँदा सर्वसाधारणहरुले जिल्ला सदरमुकाम पुग्नु पर्ने बाध्यता भएको छ । अस्पताल बनेपछि गाउँमै सेवा लिने आशा थियो तर भवन निर्माण नै कहिले हुने टुंगो नहुँदा निराश बनेका छौ, स्थानिय वासिन्दा दान बहादुर शाहीले बताउनुभयो ।
सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार २०७७ पुस १५ गते सोरु गाउँपालिकाको वडा नम्बर ८ स्थित तारापानीमा अस्पताल भवनको शिलान्यास गरिएको थियो । अस्पताल भवन निर्माणका लागि गाउँपालिकाले सगुन प्रेरणा जेभीसँग दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको पालिकाको तथ्यांकमा उल्लेख रहेको छ ।
सोरु गाउँपालिकाको अस्पताल भवन निर्माणलाई गति दिन गाउँपालिकाले पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीले खासै चासो नदिएको स्थानीय राम बहादुर रोकायाले बताउनु भएको छ ।
आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधी, भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको र अपाङ्गमैत्री भवन निर्माण हुने योजना रहेको छ ।
सोरु गाउँ पालिकाको अस्पतालका लागि तारापानीमा र मुगुमकार्मारोङ गाउँपालिकाका लागि गाउँपालिकाले रिउस बगरमा जग्गा व्यवस्थापन गरेको छ ।