• ५ जेठ २०८१, शनिबार

दसैँ मनाउन ताक्लाकोटबाट फिर्ता

blog

हुम्ला समाचारदाता

हुम्ला, कात्तिक ५ गते ।  चार महिनाअघि काम तथा व्यापार व्यवसायका लागि चीनको पुराङ काउन्टीको ताक्लाकोटमा गएका हुम्लावासी दसैँ मनाउन फिर्ता भएका छन् । सिमकोट गाउँपालिका–२ का जय भण्डारी चार महिनाअगाडि कामका लागि ताक्लाकोट जानुभएको थियो । 

दसैँ सुरु भएपछि घरपरिवारका सदस्यसँग मनाउन काम छाडेर जिल्लामा फिर्ता भएको उहाँ बताउनुहुन्छ । काम राम्रै पाएको र कमाइ पनि राम्रो भइरहेका बेला नेपालीको ठुलो चाड दसैँ सुरु भएका कारण आफू फिर्ता भएको जानकारी उहाँले दिनुभयो ।

ताक्लाकोटमा काम गरेर पाँच लाख रुपियाँभन्दा बढी कमाइ गर्नुभएका भण्डारीले दसँैतिहारपछि हिमपात नभए ताक्लाकोटमै जाने बताउनुभयो । खार्पुनाथ गाउँपालिका–१ का उज्ज्वल विक पनि शनिबार घर आइपुग्नुभएको छ । 

दसँैमा घरपरिवारका सदस्यलाई आवश्यक लत्ताकपडासमेत बोकेर आएका विकले ताक्लाकोटमा काम गर्ने अधिकांश हुम्लावासी फिर्ता भएका बताउनुभयो । ताक्लाकोटमा तीन महिना लगातार काम गरेका उहाँले साढे तीन लाख रुपियाँभन्दा बढी कमाइ गरेर घर ल्याएको जनाउनुभयो ।

मङ्सिरमा मात्र घरमा आउने सोच बनाएका विकलाई दसैँ मनाउन आउनैपर्ने दबाब आएपछि १५ जना साथीसँगै उहाँ पनि फिर्ता हुनुभएको हो । सीमा सुरक्षा बल हिल्साका सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवले शुक्रबार मात्र ताक्लाकोटबाट ७३ जना हुम्लावासी दसैँ मनाउन नेपाल फिर्ता भएको बताउनुभयो । उहाँले दसैँ मनाउन जिल्ला फिर्ता हुने हुम्लावासी दसैँका लागि आवश्यक पर्ने सरसामानसहित आएको जनाउनुभयो । घटस्थापनायता दैनिक एक सयदेखि १५० नेपाली ताक्लाकोटबाट फिर्ता आउने गरेका छन् । 

सात सयभन्दा बढी नेपाली ताक्लाकोटबाट नेपालमा फिर्ता भएका प्रहरीले जनाएको छ । दुई हजारभन्दा बढी हुम्लावासी ताक्लाकोटमा काम तथा व्यापारका लागि गएका छन् । उनीहरूमध्ये केही भने पहिल्यै फिर्ता भइसकेका छन् । हिउँ नपरे मङ्सिरमा पुन ताक्लाकोटमा काम गर्न जाने गर्छन् ।