• ११ मंसिर २०८१, मङ्गलबार

तराई–मधेशमा बलिप्रथा

blog

बलिप्रथाविरुद्धको अभियान हरेक साल चल्दछ । पशुअधिकारकर्मी निरन्तर आन्दोलनमा छन् । विभिन्न सङ्घसंस्था पनि यसविरुद्ध संलग्न मात्र होइन, सक्रिय छन् तर पनि यो प्रथा निरन्तर चलिरहेको छ । यो दुःखद कुरो हो ।

तराई मधेशमा केही धार्मिक स्थलमा बलिप्रथाको प्रचलन छ, जसमध्ये एउटा हो– सिराहाको लहान–१५ स्थित पञ्चावती राजदेवी मन्दिर । चण्डी पूर्णिमाको दिन पशुपन्छीको बलि दिने प्रथा अझै पनि यहाँ जीवित छ । यस राजदेवी मन्दिरमा तीन दिनसम्म भव्य मेला पनि लाग्ने गर्दछ । नेपाल र छिमेकी मुलुक भारतका हजारौँ भक्तजनको यहाँ घुइँचो लाग्छ । प्रत्येक वर्ष भाकल पूरा भएपछि बलि चढाउने भक्तजनको सङ्ख्यामा दिनप्रतिदिन बढोत्तरी भएको पाइन्छ । त्यस्तै भाकल गर्नेहरूको सङ्ख्या पनि प्रतिवर्ष बढ्दै गएको पाइन्छ ।

स्थानीय जनप्रतिनिधिहरूले यस राजदेवी मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रकै रूपमा विकास गर्ने अठोट लिएका छन् । लहान नगरपालिकाको विकासनिर्माणमा पनि जनप्रतिनिधिहरू प्रतिबद्ध छन् । यहाँसम्म आउने सडकको निर्माण कार्य, धर्मशाला निर्माण र यस मन्दिरलाई रङ्गरोगन गरेर राम्रो बनाउने सङ्कल्प पनि लिएको पाइन्छ । भक्तजनको सेवासुविधा, बसोबासको व्यवस्था आदिमा चासो देखिन्छ । यहाँ सडक सुविधा भएपछि नेपाल र भारतका विभिन्न स्थानका भक्तजनको भिड बढ्न थालेको देखिन्छ ।

लहान सदरमुकामबाट १० किलोमिटर उत्तरमा अवस्थित जङ्गलसँगै जोडिएको यस राजदेवी मन्दिरमा आउने भक्तजन विशेषतः सन्तान प्राप्ति, रोग निदान र आफ्नो कार्यमा सफलता प्राप्त होस् भनेर पूजाआजा गर्ने गर्दछन् । बिहानैदेखि भक्तजनको भिड देख्न सकिन्छ । आन्तरिक पर्यटनको अभिवृद्धिमा पनि यस मन्दिरबाट अत्यधिक लाभ प्राप्त हुने सम्भवना देखिन्छ । फलस्वरूप यहाँ लाग्ने मेलामा भक्तजनको सुविधाका लागि विभिन्न किसिमका सेवा प्रदान गर्न थालिएको छ । थारू समुदायको घना बस्ती यस क्षेत्रमा भएकाले उनीहरू बढी सव्रिmयतापूर्वक यसमा भाग लिने गर्छन् । उनीहरू पूजाआजापछि प्रसाद आपसमा मात्र होइन, कुटुम्ब र इष्टमित्रलाई पनि खुवाउन खुसी मान्छन् । 

यस मन्दिरमा बलि दिएका पशुपन्छीको रगतले मन्दिर रक्ताम्मे देखिन्छ तर दुर्गन्ध आउँदैन । यहाँसम्म कि झिँगासमेत लाग्दैन । यो सबै राजदेवीको चमत्कारको फल हो भनेर जनमानसमा वर्षौंदेखि विश्वास रहिआएको छ । यस मन्दिरको कहिले स्थापना भएको हो, कसैलाई थाहा छैन तर धामीलाई देवीले सपनामा यस क्षेत्रमा मन्दिर स्थापना गरी चण्डी पूर्णिमाको शुभ अवसरमा बलि दिनू भन्ने आदेश दिएको कुरा लोकविश्वास छ । 

राजदेवी यस्तो प्रचलित र लोकप्रिय देवीको नाम हो कि तराई मधेशका धेरैजसो दुर्गादेवीको मन्दिरलाई राजदेवी भन्ने गरिन्छ । राजदेवीले एउटा धर्मको प्रतीक धार्मिक स्थलका रूपमा मान्यता प्राप्त गरिसकेको छ । सप्तरी जिल्लाको सदरमुकाम राजविराजको ठिक केन्द्रमा स्थापित दुर्गाको मन्दिरलाई पनि राजदेवी नै भनिन्छ । राजदेवी र राजविराजमा नङमासुको जस्तो अभिन्न एवं अविच्छिन्न सम्बन्ध रहँदै आएको छ । भनिन्छ कि राजविराजको नामकरण राजदेवीकै आधारमा भएको हो । यस मन्दिरमा स्थापित मूर्ति कुनै कुशल कालिगढद्वारा निर्मित नभए पनि यो आस्था र विश्वासको केन्द्र बन्न पुगेको छ । 

यस मूर्तिलाई ध्यानपूर्वक नहेर्दा यो ढुङ्गा नै हो जस्तो लाग्दछ । मन्दिरको भित्री प्रवेशद्वार दुई वटा छन् । पूर्वपट्टिको प्रवेशद्वारमा दुई वटा सिंहका ढङ्गे मूर्ति छन् र उत्तरपट्टिको प्रवेशद्वारमा चाहिँ गणेशको मूर्ति । मन्दिरको वरिपरि २४ वटा ढुङ्गामा कुँदिएका साना साना मूर्ति छन् । प्रवेशद्वारमा एकातिर रक्षाका प्रतीक हनुमानको ध्वजा छ । मन्दिरको उत्तरपट्टि एउटा कुण्ड छ । त्यसमा भगीरथको मूर्ति छ । मन्दिरको पूर्वपट्टि दुई÷तीन वटा पुराना रुख छन्, जुन जर्जर अवस्थामा छन् । राजदेवीका सम्बन्धमा किंवदन्ती पनि प्रचलित छन् । राजदेवी आफैँ उत्पत्ति भएकी देवी हुन् । प्राचीन युगमा धेरै साना साना ढुङ्गे मूर्ति थिए, जसमध्ये धेरै मूर्तिलाई उठाएर अर्को ठाउँमा लगिएको सुनिन्छ । ठुलो मूर्ति राजदेवीलाई विस्थापित गर्न खोज्दा सफलता नभेटिएपछि अनि राति सपनामा देवीले मलाई यहीँ पूजाआजा गर्नू भन्ने आदेश भएबमोजिम यस मूर्तिलाई यथास्थानमा स्थापना गरी पूजा गर्ने परम्परा प्रचलित भएको पाइन्छ । सपनामा देवीको आदेशानुसार उनलाई राजदेवी भनेर नामकरण गरिएको छ तर दुःखको कुरो यस मन्दिरको ऐतिहासिक, पुराताìिवक र धार्मिक अध्ययन–अनुसन्धान अहिलेसम्म भएको छैन । यहाँ बलिप्रथा चढाउने परम्परा दिनानुदिन बढ्दै गएको पाइन्छ, जसलाई निरुत्साहित गर्नु सराहनीय हुन्छ । 

छिन्नमस्ता देवी सप्तरीमा मात्र होइन, नेपाल र छिमेकी मुलुक भारतको बिहार राज्यमा विशेष रूपमा प्रसिद्ध एवं प्रख्यात देवीका रूपमा पुजित र सम्मानित छ । सदरमुकाम राजविराजदेखि झन्डै आठ माइल दक्षिण सप्तरीको छिन्नमस्ता गाउँपालिका (सखडा) मा यस देवीको मन्दिर अवस्थित छ । मन्दिर धेरै भव्य र विशाल बाहिरबाट नदेखिए पनि यो मन्दिर धेरै प्रसिद्ध छ । भित्रपट्टिबाट भव्य र दिव्य मन्दिर र चारैतिर निकै चौडा बरण्डा भएकाले यसको भव्यता, शुद्धता र स्वच्छता तथा निर्मल वातावरण छ । यस मन्दिरको परिसरले प्रशस्त भूभाग ओगटेको छ । मन्दिरभित्र छिन्नमस्ताको एक मात्र ठुलो मूर्ति स्थापित छ, जुन नेपाल र भारतका भक्तका लागि आस्था र विश्वासको केन्द्र बनेको छ । छिन्नमस्ताको मूर्ति ठुलो रहेको छ र यसको दुवैतिर अन्य देवीका मूर्ति स्थापित भए पनि छिन्नमस्ताको नाम नै विशेष रूपमा प्रचलित र प्रसिद्ध रहन गएको छ । यी मूर्तिबाहेक अन्य दुई वटा साना साना पत्थरका मूर्ति र एउटा पित्तलको सानो मूर्ति पनि राखिएका छन् । छिन्नमस्ता देवीलाई सखडा भगवती पनि भन्ने गरिन्छ । दुइटै नामले अभिहित र अलङ्कृत भए पनि यस मन्दिरको ख्याति र प्रसिद्धिमा केही फरक पर्दैन । 

यस भव्य र दिव्य मन्दिरभित्र छिन्नमस्ता भगवतीको टाउकोबिनाको प्रस्तर मूर्ति प्रतिस्थापित भएको छ । यिनको दायाँबायाँ एउटै लहरमा दक्षिणकाली र महिषमर्दिनी भगवतीको पनि टाउकोबिनाकै प्रस्तर मूर्तिहरू स्थापित गरिएका छन् । यी मूर्तिको टाउको काटिएको सम्बन्धमा यस्तो किंवदन्ती छ – भगवती छिन्नमस्ताले कुनै पनि बलि नपाएपछि दक्षिणकाली र सिंहवाहिनीको टाउको काटी रगत पिएको र तत्पश्चात् आफ्नै शिर छेदन गरेकी थिइन् । यसै गरी त्यहाँ गणेश, चामुण्डा, भैरवी र सिंहवाहिनी देवीको ढलौटे प्रस्तर मूर्ति प्रतिस्थापित गरिएका छन् । 

छिन्नमस्ता मन्दिरको नियमित खुल्ने र बन्द गरिने नियम निर्धारित छ । बिहान ५ बजे खोलिने र ७ बजे बेलुकासम्ममा नित्य पूजा समाप्त गर्ने र यही बेला दर्शनार्थीले पूजाआजा गर्न पाइने प्रचलन रहेको पाइन्छ । विजयादशमीको शुभ अवसरमा यहाँ पूजाआजा र दर्शन गर्नेहरूको भिड लाग्छ । दसैँको दसौँ दिनसम्म यहाँ ठुलो मेला लाग्दछ । यसबाहेक विशेषतः शनिबार, कार्तिक शुक्ल एकादशी, माघ शुक्ल एकादशी आदि दिनहरूमा दर्शनार्थीको भिड लाग्छ । मुख्य मेला लाग्ने बेलामा यहाँ हजारौँ बोकाको बलि चढाउने गरिन्छ र बलि चढाउनका लागि मन्दिर बाहिरपट्टि आग्नेय कोणमा मौलो राखिएको छ । 

भगवतीको इच्छा र आज्ञा अनुसार मौलोमा बलि दिन थालिएको प्रचलन रहेको भनिन्छ । बलिबाट प्रवाहित रगत मन्दिरको पूर्वतर्फ अलि पर रहेको पोखरीमा निकास गर्ने गरिन्थ्यो तर अचेल पक्की ढल निर्माण गरी मौलाबाट बगेको रगत दक्षिणतिर अवस्थित विशाल पोखरीमा सिधै पु¥याउने व्यवस्था गरिएको छ । विजयादशमीको अवसरमा यहाँ पूजा र दर्शन गर्नेहरूको घुइँचो लाग्छ । दिनभरमा हजारौँको सङ्ख्यामा बलि प्रदान हुनुको साथसाथै दुर्गापाठ, रामायण पाठ आदि हुनु धार्मिक आस्था र विश्वासको प्रतिफल हो । 

यस्तै जनकपुरधामस्थित राजदेवी मन्दिरमा पनि बलि चढाइन्छ । जलेश्वरस्थित (महोत्तरी) राजदेवी मन्दिरमा पनि बलि प्रदान गरिन्छ । विराटनगरस्थित दुर्गा मन्दिर, सप्तरीको कङ्कालिनी मन्दिर, महोत्तरीको सोनामाइथानमा बलि प्रदान गरिन्छ । वीरगन्जको माइथानबाहेक शक्तिपीठहरूमा अष्टमी र नवमीका दिन बलि प्रदान गरिन्छ । सप्तरीस्थित कङ्कालिनी माई र अन्य शक्तिपीठमा बोकाको बलि प्रदान गरिन्छ । यसबाहेक राँगाको बलि पनि प्रदान गर्ने गरिन्छ । मधेश प्रदेशको सबैभन्दा प्रसिद्ध गढीमाई बारामा अवस्थित शक्तिपीठहरू सर्वाधिक बलि दिने धार्मिक स्थल मानिन्छ । हजारौँ खसी, बोका र राँगाको बलि यहाँ दिइन्छ । बलि प्रथाविरुद्धको अभियान हरेक साल चल्दछ । पशुअधिकारकर्मी निरन्तर आन्दोलनमा छन् । विभिन्न सङ्घसंस्था पनि यसविरुद्ध संलग्न मात्रै होइन, सव्रिmय छन् तर पनि यो प्रथा निरन्तर चलिरहेको छ । यो दुःखद कुरो हो । गढीमाईको पञ्चवर्षीय मेलाको अवसरमा असङ्ख्य बोका, खसी र राँगाको बलि प्रदान गर्ने गरिन्छ र यी विभिन्न सङ्घसंस्था पाल टाँगेर यसविरुद्धमा लागिरहेका हुन्छन् । यसले गर्दा बिस्तार बिस्तार बलि प्रथा दिनेहरू हतोत्साहित भइरहेका छन् तर यसमा उल्लेखनीय प्रगति भइराखेको छैन । यो चाहिँ सबैभन्दा दुःखको कुरा हो ।