• १४ मंसिर २०८१, शुक्रबार

पाथीभरामा दर्शनार्थीको घुइँचो

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक ५ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शनार्थीको घुइँचो लागेको छ । पाथीभरामा दसैँको घटस्थापनादेखि दर्शनार्थीको घुइँचो लाग्न थालेको हो । पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क अनुसार घटस्थापनायता शनिबार बिहानसम्ममा २१ हजार ६३९ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन् ।

समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार घटस्थापनाको पहिलो दिन एक हजार १४८ जना दर्शनार्थी पाथीभरामा पुगेका थिए । त्यसपछि हरेक दिन एक हजारभन्दा बढी दर्शनार्थीले पाथीभराको दर्शन गर्दै आएका छन् । सप्तमी अर्थात् दसैँको फूलपातीको दिन शनिबार पाथीभराको दर्शन गर्ने दर्शनार्थीको सङ्ख्या सबैभन्दा बढी देखिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार शनिबार बिहान ८ः३० बजेसम्ममा तीन हजार २२५ जना तीर्थयात्री पाथीभराको दर्शन गर्न पुगेका थिए । मन्दिर परिसरमा दर्शनार्थीको अत्यधिक भिड लागेको र दर्शनार्थीले बिहान सबेरैदेखि दिउँसो ३ बजेसम्म लाइन लागेर देवीको दर्शन गरेका पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । उहाँका अनुसार अत्यधिक भिडका कारण दर्शनार्थी व्यवस्थापनमा निकै हम्मेहम्मे परेको थियो ।

दसैँ तिहारको समय पाथीभरा दर्शन गर्ने मुख्य सिजन भएकाले घटस्थापनादेखि दर्शनार्थीको भिड लाग्ने गर्दछ । विशेष गरी हिन्दु धर्मावलम्बीले पाथीभरालाई महत्वपूर्ण धार्मिक स्थलका रूपमा लिने गर्दछन् भने यो मौसममा हिन्दु धर्ममा आस्था राख्ने अधिक दर्शनार्थीले पाथीभराको दर्शन गर्ने गरेको समितिले जनाएको छ । हिन्दुबाहेक बौद्ध, किराँत, युमालगायतका धर्ममा आस्था राख्ने तीर्थयात्रीको समेत बाक्लै उपस्थिति हुने गरेको पाइएको छ । 

पाथीभरा देवीको नामले प्रख्यात तीर्थस्थल धार्मिक आस्थासँगै किराँती अर्थात लिम्बू समुदायले ‘मुक्कुमलुङ माङ’ को नाममा दर्शन गर्ने गरेका स्थानीय विव्रmमसिंह माबोहाङ लिम्बूले बताउनुभयो । दसैँतिहार तथा रामनवमी अर्थात् चैतेदसैँको समयलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन मानिन्छ । त्यसो त मुख्य सिजनमा मात्र नभई बाह्रै महिना पाथीभरामा तीर्थयात्रीको आगमन हुने गरेको समितिको तथ्याङ्क रहेको छ । 

समितिका अनुसार अहिलेको मुख्य सिजन भएसँगै ताप्लेजुङसहित पाँचथर, इलाम, तेह्रथुम, झापा, मोरङ, सुनसरीलगायत पूर्वी नेपालका जिल्लाबाट उल्लेख्य रूपमा तीर्थयात्री आएका छन् । यस्तै काठमाडौँसहित विभिन्न जिल्लाबाट र नेपालबाहिर भारतको दार्जिलिङ, सिक्किम, आसाम, पश्चिम बङ्गाललगायतबाट तीर्थयात्री आएका पनि पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।