कालीकोट समाचारदाता
कालीकोट, असोज २६ गते । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट खुला प्रतिस्पर्धाबाट गरेको छ ।
गाउँपालिका अध्यक्ष र जनप्रतिनिधिको नजिक भएको व्यक्तिले जिम्मेवारी पाउँदै आएको पुरानो परम्परालाई तोड्दै गाउँपालिकाले खुला प्रतिस्पर्धा गराएर प्रधानाध्यापकको छनोट गरेको हो । पूर्वजनप्रतिनिधि ध्वजबहादुर शाहीले पालिकाले यस्तै मन जित्ने र निःस्वार्थ काम गर्नुपर्ने सुझाव दिनुभयो । प्रधानाध्यापकको छनोट जुन असल नियतबाट भएको छ, त्यसप्रति धन्यवाद व्यक्त गर्दै उहाँले अन्य पालिकाले पनि यस्तै गर्नुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष पार्वती सिंहले क्षमता नभएका तर अध्यक्ष उपाध्यक्षको कार्यकक्ष धाउनेभन्दा पनि केही गर्छौं भन्ने व्यक्तिलाई जिम्मेवारी दिनु पर्छ भन्ने कार्यपालिकाको बैठकको निर्णय अनुसार खुला प्रतिस्पर्धा गराएर प्रधानाध्यापकको छनोट गरिएको बताउनुभयो ।