बुलबुले समाचारदाता
सुर्खेत, असोज २६ गते । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलटाकुरास्थित कृषि क्याम्पसले सम्बन्धन नपाउँदा अत्याधुनिक भवन प्रयोगविहीन बनेको छ।
कृषि क्याम्पस सञ्चालनका लागि सो स्थानमा २०७५ साल भदौदेखि भौतिक संरचना निर्माणको काम थालिएको थियो। हाल त्यहाँ दुई वटा भवन निर्माण सम्पन्न भएका छन्। उक्त प्रस्तावित क्याम्पस सञ्चालनका लागि बजेट जुटाउन महायज्ञ सञ्चालन गरिएको थियो। २०७६ साल कात्तिक २२ देखि २९ गतेसम्म महायज्ञ लगाएर डेढ करोड रकम सङ्कलन गरिएको थियो । सो रकम भवन निर्माणका लागि जग्गा खरिदमा खर्च गरिएको जनाइएको छ । महायज्ञबाट जम्मा भएको रकमले ९२ रोपनी जग्गा खरिद गरी भवन निर्माण गरिएको कृषि क्याम्पस सञ्चालन समितिका अध्यक्ष मोहन बडुवालले जानकारी दिनुभयो । उहाँका अनुसार क्याम्पस सञ्चालनका लागि दुई वटा भवन तयार भएका छन् । दुई वटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।
क्याम्पस सञ्चालन गर्न भौतिक संरचना बनिसके पनि अध्यापन अनुमतिको भने टुङ्गो लाग्न सकेको छैन। पाँच वर्षअघि नै मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा सम्बन्धनका लागि फाइल पेस गरिएको थियो तर अहिलेसम्म पनि कुनै टुङ्गो लागेको छैन। प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा भवन निर्माण गरिएको हो। चौकुनेमा कृषि क्याम्पस सञ्चालनका लागि कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा ८० लाख बजेट दिएको थियो । उक्त भवनको निरन्तरताका लागि आव २०७८/७९ मा पनि ८० लाख बजेट प्रदेश सरकारले दिएको हो । अहिले क्याम्पस सञ्चालनका लागि भवन निर्माण भएका छन्।
आव २०७९/८० मा गाउँपालिकाले करिब ५० लाख बजेट विनियोजन गरेको थियो। चालु आवमा पनि पालिकाले करिब ८० लाख विनियोजन गरेको छ। क्याम्पस सञ्चालनका लागि भवन तयार भएको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिनुभयो। उहाँका अनुसार चार वटा भवन तयार भएका छन्। दुई वटा भवन पालिकालाई हस्तान्तरण गरिएको छ । दुई वटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सम्बन्धन पाए क्याम्पस सञ्चालनका लागि पूर्वाधार तयार अवस्थामा रहेको जनाइएको छ ।
क्याम्पस सञ्चालन गर्न भौतिक संरचना बनिसके पनि अध्यापन अनुमतिको भने टुङ्गो लाग्न सकेको छैन। पाँच वर्षअघि नै मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा सम्बन्धनका लागि फाइल पेस गरिएको थियो। कृषि क्याम्पस सञ्चालन समितिका अध्यक्ष बडुवालका अनुसार तर अहिलेसम्म पनि कुनै टुङ्गो लागेको छैन। क्याम्पसको सम्बन्धनका विषयमा विभिन्न क्षेत्रसँग पहल भइरहेको छ । पटक पटक क्याम्पसको सम्बन्धनका लागि मध्यपश्चिम विश्वविद्यालयसँग प्रक्रिया अघि बढाइएको थियो । कोरोना महामारीले गर्दा काम समयमा नै सम्पन्न नभएपछि विश्वविद्यालयसँगको सम्बन्धन प्रव्रिmया टुटेको छ ।