• १३ मंसिर २०८१, बिहिबार

लालबन्दीमा जापानिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

blog

लालबन्दी नगरपालिकाको कार्यालय ।

जनार्जन खत्री

सर्लाही, असोज १९ गते । सर्लाहीको लालबन्दीमा पहिलो पटक जापानिज इन्सेफ्लाइटिसका सङ्क्रमित फेला परेका छन् । नगरपालिकाको उत्तरी भेगस्थित वडा नं. १६ परवानीपुर भोर्लेनीमा १४ वर्षका एक बालकमा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण पुष्टी भएको हो । 

बालकको अहिले पाटन अस्पताल, ललितपुरको सघन उपचार कक्ष (आइसियु) मा उपचार चलिरहेको लालबन्दी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रोशन चौधरीले जानकारी दिनुभयो । 

जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । यो रोग लामखुट्टेले घोडा, सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई टोकेपछि मानिसलाई टोक्यो भने सर्दछ । 

मानिसबाट मानिसमा भने सङ्क्रमण नसर्ने चिकित्सकले बताएका छन् । बालकमा सङ्क्रमण देखापरेपछि भोर्लेनी क्षेत्रमा लामखुट्टे मार्नका लागि घर, गोठ र बङ्गुरको खोरमा औषधि छर्कने काम गरिसकिएको नगरपालिकाका स्वास्थ्य सह–संयोजक सुरेन्द्र खतिवडाले बताउनुभयो । 

जापानिज इन्सेफ्लाइटिसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टे नियन्त्रणको उपचार अपनाउन चिकित्सकको सुझाव छ ।