नेत्र शाही
जुम्ला, असोज १९ गते । उच्च अदालत सुर्खेत जुम्ला इजलासले न्याय सम्पादनलाई छिटो, छरितो र सहज बनाउन भर्चुवल प्रणाली सुरु गरेको छ । साविक कर्णालीका ५ जिल्लालाई न्यायिक सेवा लिन खर्चिलो र असज भएको भन्दै यसलाई प्रविधिमैत्री बनाउन सुरु गरेको हो ।
उच्च अदालत सुर्खेत जुम्ला इजलासका रजिष्ट्रार यामप्रसाद बाँस्कोटाका अनुसार विहीबार डेमो प्रदर्शन गरेर सेवा प्रणाली प्रविधिबाट पनि सुरु गरिने जानकारी गरिएको बताउनुभयो । उहाँले जुम्ला बाहिरबाट सम्वन्धित जिल्लाको अदालतमा गएर जुम लिंकमा जोडिएर अधिवक्ता तथा सेवाग्राहीले यो सेवा लिन पाउनेछन् ।
उहाँका अनुसार कर्णालीका मुगु, हुम्ला, कालिकोट र डोल्पाका लागि कुनै व्यक्तिले सम्बन्धित जिल्ला अदालतमा पुगेर त्यहाँको प्रविधि प्रयोगगरी भर्चुअल रुपमा बहस, बकपत्र र तारिख बोक्न पाइने भएको छ । हुम्लाबाट जुम्लामा आउँदा एक हप्ता लाग्नेगरेको गुनासो आएपछि उनीहरुको सहजताका लागि प्रविधिमैत्री न्याय सम्पादन गर्ने कामको थालनी भएको छ ।
उहाँका अनुसार यो प्रविधिले न्याय महंगो भयो, छिटो न्याय पाएनौ भन्ने गुनासो कम हुने आशा समेत गरिएको छ । उहाँले भन्नुभयो, ‘नियमित वकपत्र गर्न, बहस गर्न तारिख भोग्न भौतिक रुपमा अदालत आइराख्नु पर्ने झन्झटलाई अब अन्त्य हुने भएको छ ।
बिहीबार पत्रकार सम्मेलनमार्फत अदालतले प्रविधिको उच्चतम प्रयोगगरी न्याय सम्पादनलाई छिटो छरितो र कम खर्चिलो बनाउने अभ्यासको थालनी गरेको उच्च अदालत सुर्खेत जुम्ला इजलासका वरिष्ठतम न्यायाधीश श्रीमणकुमार गौतमले बताउनुभयो ।
उहाँका अनुसार अदालतका सबै सेवालाई सकेसम्म प्रविधियुक्त बनाउने प्रयासमा छौं । जसले गर्दा छिटो न्याय सम्पादनमा टेवा पुग्नेछ । अनलाइन प्रविधिबाटै तारिख लिनेदेखि, बकपत्र, मुद्दामा बहसलगायतका काम भर्चुअल रुपमै गर्ने अभ्यास गर्दैछौं ।
प्रविधिको प्रयोग गरी सेवा ग्राहीलाई सजिलो र छरितो बनाउने यो सेवा सुरु गरिन थालिएको न्यायाधीय डाक्टर नवराज थपलियाको भनाइ छ । उहाँका अनुसार अब सेवाग्राहीलाई दुःख कम हुने अनुमान छ ।