• २२ असार २०८१, शनिबार

एउटै गाउँमा दूधबाट दुई करोड आम्दानी

blog

चौतारा (सिन्धुपाल्चोक),  असोज १९ गते ।  सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४  विन्जेलका कृषकले दूध बेचेर एकै आर्थिक वर्षमा रु. दुई करोडभन्दा बढी आम्दानी गरेका छन् । 

गाउँमै सञ्चालनमा गरेको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बेचेर ती कृषकले उक्त आम्दानी गरेका हुन् । कृषक डिल्लीराम नेपाल एक वर्षमा १३ हजार नौ सय ७९ लिटर दूध बेचेर रु आठ लाख २३ हजार छ सय आम्दानी गरेको बताउनुहुन्छ । चार वटा गाई पाल्नुभएका उहाँ दैनिक ३० देखि ३५ लिटरसम्म दूध बेच्ने गर्नुहुन्छ ।  नेपाल संस्थाका सदस्यमध्ये सबैभन्दा बढी दूध बेच्ने कृषक हुनुहुन्छ । 

अर्का कृषक ताराप्रसाद नेपालले पनि ११ हजार चार सय ५४ लिटर दूध बेचेर रु छ लाख ८२ हजार एक सय ९९ आम्दानी गर्नुभएको छ । त्यसैगरी तोयानाथ नेपालले ११ हजार लिटर दूध बेचेर रु. छ लाख ३३ हजार तीन सय र रवीन्द्र नेपालले तीन हजार तीन सय २४ लिटर दूध बेचेर रु. छ लाख २१ हजार दुई सय कमाउन सफल हुनुभएको छ । 

मिहिनेत गर्ने हो भने घरमै बसेर मनग्य आम्दानी गर्न सकिने उदाहरण बित्तजेलका कृषकले  देखाएका छन् । घरमै बसेर खेतीपती र वस्तुभाउ दुवै पेसालाई सँगै लगेर लखपति बन्न सकेकोमा कृषक तोयानाथ खुसी हुनुहुन्छ । उहाँजस्तै दुई सय ८० कृषकले नियमितरुपमा दूध बेच्दै आइरहेका छन् । उक्त संस्थाले गत आवमा मात्रै चार लाख ७७ हजार सात सय ७९ लिटर दूध सङ्कलन तथा बिक्री गरेको व्यवस्थापक द्वारिका नेपाल जानकारी दिनुहुन्छ । दूध बिक्रीबाट मात्रै संस्थाले एक वर्षमा रु. दुई करोड एक लाख दस हजार आम्दानी गरेको छ ।  उक्त संस्थाले एक वर्षमा रु. सात करोड ५१ लाख २८ हजार पाँच सय २२ को कारोबार गर्नाका साथै दूध बिक्री, ढुटो पिना खरिद तथा बिक्री र रासायनिक मल खरिद तथा बिक्रीको कारोबार पनि गर्दै आएको छ ।

संस्थाको शेयर सदस्य भने चार सय ३६ छन् । सबै सदस्य बचत कार्यक्रममा नियमित सहभागी रहँदै आएको संस्थाका सचिव मायानाथ नेपाल बताउनुहुन्छ । रासस