• २३ वैशाख २०८१, आइतबार

बागमती प्रदेश सभाको बैठक आज बस्दै

blog

बागमती प्रदेश सभा बैठकमा अवरोध गर्दै नेकपा एमालेका प्रदेश सभा सदस्यहरु ।

राममणि दाहाल
हेटौँडा, असोज १६ गते । 
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि स्थगित भएको बागमती प्रदेश सभाको बैठक आज (मङ्गलबार) दिउँसो २ बजे बस्ने गरी तय भएको छ ।

प्रदेश सभा बैठकमा प्रस्तुत गर्न लागिएको प्रदेशस्तरको चिठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पुनर्विचार गरियोस् भन्ने प्रस्तावका बारेमा सत्ता पक्ष र विपक्षबिच विवाद भएपछि सोमबारको बैठक स्थगित गरिएको थियो ।

प्रदेश प्रमुखको सन्देशसहित उक्त विधेयकलाई पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीका तर्फबाट प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा तामाङले बैठकमा पेस गर्ने क्रममा एमालेका प्रदेश सभाका सदस्यहरूले अवरोध गरेका थिए ।

मन्त्री तामाङले प्रस्तावमा भएको ब्यहोरा वाचन गर्ने क्रममा एमाले प्रदेश सभा सदस्यहरूले प्रस्ताव नराख्न माग गर्दै सभामुखको अगाडि पुगेर अवरोध गरेका थिए । मन्त्री तामाङले विरोधका बिच प्रस्ताव पेस गर्न थालेपछि एमालेका प्रदेश सभा सदस्यहरू र मर्यादापालकबिच घम्साघम्सीसमेत भएको थियो ।

गत वैशाख १२ गते प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइएकोमा उक्त विधेयक चिठासम्बन्धी सङ्घीय ऐनसँग बाझिएको भन्दै प्रदेश प्रमुखबाट पुनर्विचारका लागि जेठ ७ गते फिर्ता पठाउनुभएको थियो ।

बैठकमा एमालेका प्रदेश सभा सदस्य केशवप्रसाद पोखरेलले प्रदेश सभा सदस्यलाई पूर्व सूचना बिना चिठा विधेयक पेस गर्न लागेको भन्दै आपत्ति जनाउनुभएको थियो । यस्तै, एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले चिठा विधेयक कसको स्वार्थका लागि ल्याउन लागेको भन्दै प्रश्न गर्दै चिठा विधेयक अगाडि बढ्न नसक्ने चेतावनी दिनुभएको थियो ।

एमाले प्रदेश सभाका सदस्यहरूको निरन्तरको विरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक दलहरूबिच सहमति नजुटेपछि सूचना टाँस गरेर मङ्गलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।