• १० चैत २०८२, मङ्गलबार

‘अधुरा कामलाई पूर्णता दिने छु’

blog

प्रेमराज सिम्खडा

कालीकोट, चैत १० गते  । कालीकोटको पचालझरना गाउँपालिका–९, कोटिलामा जन्मिएका महेन्द्रबहादुर शाही चौथो पटक संसदीय यात्रा गर्ने क्रममा हुनुहुन्छ । यस पटक उहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट संसदीय यात्रा तय गर्दै हुनुहुन्छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उहाँ ११ हजार ७३४ मतसहित विजयी हुनुभएको हो । 

आमा रनकौणाको कोखबाट २०३३ सालमा जन्मिएका शाही यसअघि भने तत्कालीन नेकपा माओवादीका तर्फबाट निर्वाचनमा भाग लिएर विजयी हुँदै आउनुभएको थियो । 

शाही नेकपा माओवादीले २०५२ सालमा सुरु गरेको जनयुद्धका क्रममा लामो समय भूमिगत हुनुभयो । गाउँकै विद्यालयबाट एसएलसीको परीक्षा दिएर रोजगारीको खोजी गर्दै गरेको अवस्थामा तत्कालीन सरकार पक्षबाट धरपकड गर्न सुरु भएपछि शाही १९ वर्षकै उमेरमा भूमिगत हुनु परेको स्मरण गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “त्यहीबाट तत्कालीन माओवादीले खडा गरेको सैनिक फौजमा भर्ना भएँ । फौजी कमिसारसँगै २०६२ सालमा सातौँ डिभिजनको कमान्डर भएँ ।’’

उहाँ २०७० सालमा संविधान सभा सदस्य हुनुभयो । २०७४ सालमा भएको प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि कर्णाली प्रदेशको प्रथम मुख्यमन्त्रीसमेत बन्नुभयो । २०७९ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । उहाँ आगामी संसदीय यात्रामा विगतमा आफूले थालेका कामलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । देशको अस्थिर राजनीति र बारम्बारको सत्ता फेरबदलगायतले विगतमा काम गर्न निकै चुनौतीको सामना गर्नु परे पनि अहिलेको राजनीतिक परिणामले आगामी दिनमा काम गर्न सहज हुने उहाँको विश्वास छ ।

उहाँ भन्नुहुन्छ, “विगतमा थालिएका केही काम अधुरा र अपूरा छन् । त्यसलाई पूरा गर्नुपर्ने छ । विभिन्न कानुन निर्माणमा लाग्नुपर्ने छ ।” उहाँले जिल्लाको विकासका लागि तीन वटा कामलाई प्राथमिकतामा राख्नुभएको छ । उहाँ भन्नुहुन्छ, “निर्माण सम्पन्न भएको सुनथराली विमानस्थल सुचारु गर्ने, मान्म–कोडबाडा केबुलकार जडान गर्ने र लालु–लैफुको कृषि सडकलाई पूर्णता दिएर अगाडि बढ्नु पर्छ । योसँगै पूर्वाधार विकासका अन्य काम पनि पूरा गर्नुपर्ने छ ।” 

उहाँ फुकोट जलविद्युत् योजनालाई सुचारु गराउन सके कालीकोटको गरिबी, आर्थिक विपन्नलाई हट्ने अपेक्षा पनि गर्नुहुन्छ । त्यस्तै निजी लगानीकर्तालाई सहजीकरण र प्रोत्साहन गर्दै जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने, कृषि क्षेत्रमा आधुनिकीकरणमा जोड दिने र सबै नागरिकलाई उत्पादन जोड्ने उहाँका योजना छन् । उहाँ भन्नुहुन्छ, “यहाँका गरिबीको रेखामुनि रहेका नागरिकलाई आत्मनिर्भर बनाएर उनीहरूको जीवनस्तर उकास्नु मेरो पहिलो कर्तव्य हुने छ ।” यसै गरी सामाजिक विभेद अन्त्य गर्ने, शिक्षा, स्वास्थ्यका अपूरा काम पूरा गर्ने शाहीका योजना छन् ।