• १० चैत २०८२, मङ्गलबार

‘सुशासन र समृद्धिका पक्षमा काम गर्छु’

blog

जयकृष्ण यादव 

इनरुवा, चैत १० गते  । सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापा फराकिलो मतान्तरसहित निर्वाचित हुनुभयो ।  

थापा निकटतम प्रतिद्वन्द्वीभन्दा भारी मतान्तरले विजयी हुनुभएको हो । थापाले ५७ हजार ३४८ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम  प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार सुजन लामाले आठ हजार ३०३ मत र श्रम संस्कृति पार्टीका चेतन राईले सात हजार ४८४ मत प्राप्त गर्नुभएको थियो । 

सिभिल इन्जिनियरिङ अध्ययन गरेका उहाँले समाजसेवामा संलग्न हुनुभएको थियो र कलेज सञ्चालनसमेत गर्नुभएको थियो । उहाँले समाजसेवा गर्दै तीन वर्षअघि २०७९ साल असार ७ गतेबाट राजनीतिक यात्रा तय गर्नुभएको हो । थापा देशमा सुशासन, जवाफदेहिता र विधिको शासनको अनुभूति दिलाउने प्रयासस्वरूप निर्वाचनमा होमिनुभएको हो । 

उहाँ २०७९ सालको निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका उहाँ नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारभन्दा पछि तेस्रो स्थानमा हुनुहुन्थ्यो । यस पटक भने प्रतिस्पर्धी दलसँग तेब्बरभन्दा बढी मतले विजयी हुनुभयो । 

उहाँले नेपालमा प्रतिनिधि सभाको निर्वाचन केवल सत्ता परिवर्तनको प्रक्रिया मात्र नभएर नागरिकको गुमेको विश्वास र भरोसा फिर्ता ल्याउने ऐतिहासिक अवसर भएको बताउनुभयो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले युवादेखि आमनागरिकको निराशा पोखेको उल्लेख गर्नुभयो । इमानदार राजनीति, भ्रष्टाचारमुक्त सार्वजनिक प्रशासन, सुशासन र वास्तविक परिवर्तनको स्पष्ट माग अघि सारेकाले आफूलाई जनताले जिताएको उहाँको भनाइ छ । 

उहाँले जनआवाज, आशा र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट जारी गरिएको वाचापत्रलाई मार्गदर्शन मानी सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवार भएको र आफ्ना तर्फबाट पार्टीको केन्द्रीय घोषणापत्रसँगै स्थानीय आवश्यकता सपना र सम्भावनालाई केन्द्रमा राखी क्षेत्रीय घोषणापत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले वाचापत्रमा राजनीति सेवा हो, नेतृत्व जिम्मेवारी हो र परिवर्तन सम्भव छ भन्ने विश्वास र दृष्टिकोण राख्नुभएको थियो । उहाँ शिक्षा, स्वास्थ्य, सुरक्षा, सडक र सिँचाइ तथा जनजीविकासम्मको काम गर्न अग्रसर हुने बताउनुहुन्छ । ओझेलमा परेको इनरुवा–कौवाखोच सडकमा निर्वाचनअघि नै सडक डिभिजनसँग समन्वय गरेर मर्मतका लागि उहाँले पहल गर्नुभएको थियो । 

नागरिकको जनजीविकामा सुधारमा जोड दिने उहाँको भनाइ छ । उहाँले निर्माण भएका सडक र पुल सञ्चालन नभएको गुनासो आएको ठाउँमा पुगेर सञ्चालनको वातावरण बनाइरहनुभएको छ । उहाँले प्रदेश र स्थानीय सरकारसँग भेट गरी क्षेत्रको विकासका गतिविधि र गर्नुपर्ने कामबारे छलफल सुरु गरिसक्नुभएको छ । 

उहाँले देशको प्रमुख पर्यटकीय क्षेत्र र रामायणको कथासँग जोडिएको रामधुनी धार्मिक पर्यटन विकास, स्थानीय भाषा, कला र सांस्कृतिक सम्पदाको संरक्षण आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । 

बाढी तथा डुबानको दीर्घकालीन समाधान, आधुनिक दाहसंस्कार स्थल विकास, पर्यटकीय पूर्वाधार विकास, वनजङ्गल र वन्यजन्तुको सुन्दरता, पर्यटन प्रवर्धन र रोजगार सिर्जनालाई जोड दिइने उहाँको भनाइ छ । स्वच्छ वातावरण र फोहोर व्यवस्थापन, वनजङ्गल वातावरण संरक्षणको आधार, खेलकुद एकेडेमी र पूर्वाधार विस्तार, आधुनिक र उत्पादनमुखी कृषिलगायतका वाचाका साथ चुनावी मैदानमा आएको उहाँको भनाइ छ । थापाले भन्नुभयो, “इटहरी उपमहानगरपालिकाको बुढीखोला र इनरुवा नगरपालिकाको सुनसरीखोलामा विद्युतीय शवदाहगृह र किरियापुत्री भवन निर्माण गरिने छ ।”