• १६ भदौ २०८१, आइतबार

अझै सञ्चालन भएन सुधारगृहको विद्यालय

blog

भक्तपुर, भदौ २६ गते । सहकर्मीको मृत्युपछि बाल सुधारगृह तोडेर भागेका बालबन्दी सुधारगृहमा फर्किए पनि बाल सुधारगृह पूर्ववत् सञ्चालन हुन सकेको छैन । सुधारगृहमै खाने, बस्ने, खेल्ने, पढ्नेलगायतका सुविधा सरकारले उलब्ध गराउँदै आएको भए पनि भदौ ४ गतेको घटनामा डेक्सबेन्च पूर्ण रूपमा क्षति भएकाले बालगृह सञ्चालन हुन नसकेको हो । 

सुधारगृहमा रहेका एक जना सहकर्मीको मृत्यु लापरबाहीका कारण भएको भन्दै सुधारगृहमा रहेका बालबालिकाले सानो ठिमीमा रहेको सुधारगृह तोडफोड गरेका थिए । उक्त घटनामा २११ जना सुधारगृहबाट भागेका थिए । 

भागेकामध्ये एक जनाबाहेक अहिले सबै सम्पर्कमा आएर सुधारगृहमा नै रहेका छन् । जबरजस्ती करणी मुद्दाका एक जना बन्दी भने अझै फरार छन् । फरार बन्दीको उमेर २० वर्षमाथिको छ ।

उनीहरू सुधार गृहभित्रै रहे पनि विद्यालयका डेक्सबेन्च तोडफोड भएका कारण अध्ययन हुन सकेको छैन । उक्त घटनापछि विद्यालय बन्द छ । मध्यपुर थिमि नगरपालिकाका प्राविधिकले भदौ ४ गते भएको तोडफोडमा १५ लाख रुपियाँको क्षति भएको विवरण सार्वजनिक गरेका थिए ।   

तोडफोडको घटनापछि भक्तपुरको बाल सुधारगृहका ५७ लाई अन्यत्र जिल्लामा स्थानान्तरण गरिएको छ । बाल सुधारगृहमा रहेका बालबालिकामा अझै पनि डर त्रासको अवस्था रहेकाले पूर्ववत् अवस्थामा आउन सकेको छैन । 

यसैबिच बाल सुधारगृहको पछिल्लो अवस्थाबारे बुझ्न प्रतिनिधि सभा महिला तथा सामाजिक मामिला समितिले स्थलगत अनुगमन गरेको छ । युसेप नेपालको व्यवस्थापनमा सञ्चालित बाल सुधारगृहको अनुगमनपछि व्यवस्थापन र सरकारले धेरै कुरा सुधार गर्न आवश्यक रहेको औँल्याएको छ । 

अनुगमनपछि समितिका सभापति किरणकुमार साहले सरकार र बाल सुधारगृहले धेरै कुराको सुधार गर्न आवश्यक देखिएको उल्लेख गर्नुभयो । सुधारगृहमा यसपछि पुनः अनुगमन गरेर सुधारबारे सुझावसहितको प्रतिवेदन दिने उहाँले जानकारी दिनुभयो । 

गृहको तोडफोडपछि बन्द रहेको विद्यालय सञ्चालन गर्न सरकारले तत्कालै क्षतिपूर्तिका लागि बजेट उपलब्ध गराउन आवश्यक देखिएको समितिका सदस्य सचिव इन्द्रविलास पौडेलले बताउनुभयो । 

अनुगमनका क्रममा सुधारगृहको सरसफाइमा विशेष ध्यान पु-याउन समितिले निर्देशन दिएको छ । बालबालिकालाई परामर्श आवश्यक रहेकाले तत्कालै मनोपरामर्शदाता राख्न आवश्यक देखिएको छ । 

बाल सुधारगृहमा रहेका बालबालिकामा अझै पनि डर त्रासको अवस्था रहेकाले त्यो घटाउन सरकार र सुधारगृहले तत्कालै योजना बनाउन आवश्यक रहेको निक्र्यौल निकालेको छ । 

यसअघि औपचारिक सेवा केन्द्र (इन्सेक) ले  बाल सुधारगृहमा एक जनाको ज्यान गएको र बालबालिका सुधारगृहबाट बाहिरिएको घटना बाल सुधारगृहको सञ्चालन गर्ने संस्था युसेपको लापरबाही र प्रशासनको उदासीनताका कारण भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । 

मानव अधिकार आयोगको अनुगमनमा बाल सुधारगृहको व्यवस्थापनको जिम्मेवारी लिएको युसेप नेपालले आफ्नो नियन्त्रण र निगरानीमा राखिएका बालकको स्वास्थ्योपचारमा संवेदनशीलता नदेखाएको उल्लेख गरेको थियो । 

युसेप नेपालका सञ्चालक केशव सुवालले प्रतिनिधि सभाको समितिले सोमबार अनुगमन गरेर सरसफाइमा ध्यान पु-याउन निर्देशन दिएको उल्लेख गर्नुभयो । सरकारसँग कुरा गर्ने र तोडफोडपछि बन्द रहेको विद्यालय तत्कालै खुलाउन भूमिका खेल्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । उहाँले विद्यालय सञ्चालनका लागि तत्कालै डेक्सबेन्च आवश्यक भएकाले सरकारले त्यसका लागि बजेट निकासा गरेमा विद्यालय चलाउन सकिने आफूहरूले जानकारी गराएको बताउनुभयो ।