शिवशङ्कर मिश्रा
कलैया, मङ्सिर ८ गते । बाराको पचरौत नगरपालिका–६ अन्तर्गत सीमावर्ती चिकनी-पकडिया नजिक आइतबार राति साढे १० बजे तस्करी नियन्त्रणका क्रममा नेपाल प्रहरी र तस्कर समूहबिच गोली हानाहान भएको छ ।
भन्सार छलीका मालवस्तु नेपालतर्फ भित्र्याउन लागेको ठोस सूचना पाएपछि प्रहरी टोली सीमातर्फ परिचालन गरिएको थियो ।
भारतको हनुमाननगरबाट ट्याक्टरमा लोड गरेर अवैध सामान नेपाल भित्र्याउन लागिएको सूचनाका आधारमा प्रहरीले रोकथाम गर्ने प्रयास गर्दा तस्कर समूहले पहिलो आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार नियन्त्रणका लागि अघि बढेको प्रहरीमाथि तस्करहरुले अचानक दुई राउन्ड गोली प्रहार गरेपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीतर्फबाट सात राउन्ड गोली फायर गरिएको हो।
घटनास्थलमा खटिएको टोली इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएका प्रहरी निरीक्षक कृष्णादेव प्रसाद साहको कमाण्डमा रहेको २० जनाको समूह थियो । प्रहरीले इँटाभट्टा नजिकै अवैध सामान लोड गरिएको ट्याक्टर नियन्त्रणमा लिएर जिल्लातर्फ ल्याउने प्रयास गर्दै गर्दा तस्कर समूहले फेरि आक्रमण गरेको थियो । संख्या बढी रहेका तस्करहरुले गोली प्रहार गर्दै ट्याक्टर तथा मालवस्तु छाड्न नदिई भारतीय सीमावर्ती बिन्धवासिनी गाउँतर्फ भागेका थिए ।
भाग्दै गरेका तस्करहरूले छाडेर भागेका चार वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल, दुई मोबाइल र आधारकार्ड प्रहरीले घटनास्थलमै फेला पारेको छ । नियन्त्रणमा लिइएको ट्याक्टरमा कस्तो किसिमका अवैध सामग्री थिए भन्ने बारेमा प्रारम्भिक रुपमा पुष्टि हुन बाँकी छ । तस्करतर्फ गोली प्रहारबाट के कति क्षति भयो भन्ने विवरण पनि सुरक्षा निकायले पुष्टि गर्न सकेको छैन ।
सशस्त्र प्रहरीले भूमिकामाथि प्रश्नचिन्ह भन्सार चुहावट र सीमा अपराध रोक्न जिम्मेवारी पाएको सशस्त्र प्रहरीको भूमिका पुनः शङ्काको घेरामा आएको स्थानीय सुरक्षा स्रोतहरुको दाबी छ । रातिको भिडन्तमा सशस्त्र प्रहरीको उपस्थिति नदेखिनुले र तस्करहरुले अवैध मालवस्तु सजिलै लिएर भाग्न सफल हुनुले सहयोगीको आशङ्का देखिएको हो ।
बारामा तस्करी नियन्त्रण गर्ने दुवै सुरक्षा निकाय-नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच आर्थिक भागबन्डा नमिलेको कारण वर्षमा एक-दुई पटक तस्कर समूहसँग दोहोरो भिडन्त, झडप र कहिलेकाहीँ प्रहरीको हतियारसम्म खोसिने घटना दोहोरिन थालेको सुरक्षास्रोतको भनाइ छ।
विशेष गरी सीमाक्षेत्रमा सक्रिय तस्करी सञ्जाललाई जरा उखेलेर नियन्त्रण गर्न दुबै सुरक्षा निकायबीच तालमेल, साझा रणनीति, सूचनाको द्रुत आदानप्रदानमा निरन्तर निगरानी अपरिहार्य रहेको सुरक्षा विश्लेषकहरु बताउँछन् ।