• २७ वैशाख २०८३, आइतबार

योजना दोहोरिएपछि समस्या

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख २७ गते । सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय कमजोर हुँदा विकास निर्माण र सिप प्रवर्धन कार्यक्रमका योजना दोहोरिने गरेका छन् । तीन तहबिच समन्वयको अभावमा एउटै प्रकृतिका समान प्रतिफल दिने योजना र कार्यक्रम दोहोरिने गरेका हुन् । 

जिल्ला समन्वय समिति काठमाडौँले शुक्रबार जिल्लाभित्रका स्थानीय तह, प्रदेश र सङ्घीय कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित कार्यक्रमको अर्धवार्षिक समीक्षा कार्यक्रममा तीन तहबिच समन्वयको अभावमा योजना र कार्यक्रममा दोहोरो र तेहोरोपना हुने गरेको सरोकारवालाले गुनासो गरेका छन् ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय कमजोर हुँदा योजना र कार्यक्रममा दोहोरो र तेहोरोपना हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ठुला योजना मात्र सङ्घीय र प्रदेश सरकारले हेर्नुपर्ने साना योजना स्थानीय तहलाई मात्र हेर्ने व्यवस्था भए पनि त्यसको व्यवहारमा कार्यान्वयन नहुँदा समस्या भएको हो ।” 

उद्योग तथा वाणिज्य कार्यालय काठमाडौँका प्रमुख श्रीकृष्ण आचार्यले अन्तरतह समन्वय हुन नसक्दा सङ्घ, प्रदेश र स्थानीय तहमा योजना र कार्यक्रम समान प्रकृतिका हुने गरेको बताउनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले सङ्घीयता कार्यान्वयन भएदेखि नै तीन तहबिच समन्वय र सहकार्य नभएको बताउनुभयो । तीन तहबिचको समन्वय, सहकार्य र सहअस्तित्व संविधानमा मात्र सीमित भएकाले अहिले व्यवहारमा समस्या सिर्जना भएको स्पष्ट पार्नुभयो । कार्यक्रममा काठमाडौँ जिल्लाभित्र भएका सबै स्थानीय तह, शिक्षा समन्वय एकाइ, पशु सेवा कार्यालय, कृषि विकास कार्यालयलगायतका सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधिको सहभागिता रहेको थियो ।