• २७ वैशाख २०८३, आइतबार

जोखिम न्यूनीकरणका लागि तयारी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख २७ गते । आगामी मनसुनलाई लक्षित गर्दै विपत् जोखिम न्यूनीकरण तथा सम्भावित क्षति नियन्त्रणका लागि सरकारी निकाय, सुरक्षा सङ्गठन र सरोकारवाला संस्था तयारीमा जुटेका छन् । 

नेपालको जटिल भू–संरचना, कमजोर भौगर्भिक अवस्था, अव्यवस्थित बस्ती विस्तार, वनविनाश तथा जलवायु परिवर्तनका प्रभावका कारण मनसुनजन्य विपत्ले हरेक वर्ष ठुलो क्षति पु¥याउँदै आएको छ । विशेष गरी पहाडी तथा हिमाली जिल्लामा पहिरो र तराई क्षेत्रमा बाढी तथा डुबानका घटना दोहोरिने गरेका छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो १० वर्षमा मात्रै मनसुनजन्य विपत्का कारण देशभर तीन हजार ७४ जनाले ज्यान गुमाएका छन् । सो अवधिमा ५०२ जना बेपत्ता भएका छन् भने चार हजार ७६९ जना घाइते भए । त्यस्तै ३३ हजार १९८ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित भएका तथ्याङ्कमा उल्लेख छ ।

गत वर्षको मनसुन पनि निकै पीडादायी बनेको थियो । प्राधिकरणका अनुसार बाढीपहिरो, भीषण वर्षा र चट्याङका घटनाबाट मात्रै १४० जनाको मृत्यु भएको थियो भने ३० जना बेपत्ता भएका थिए । ती घटनामा परी तीन सयभन्दा बढी घाइते भएका थिए भने पाँच हजार ९९५ परिवार प्रभावित बनेका थिए ।

सम्भावित जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि प्राधिकरणले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना’ परिमार्जन गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको जनाएको छ । कार्ययोजनालाई अन्तिम रूप दिन सोमबार सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सरोकारवालासँग विस्तृत छलफल गरिने प्राधिकरणका निर्देशक रामबहादुर केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार यस वर्ष विगतका अनुभव, जोखिमयुक्त क्षेत्रको अवस्थिति, पूर्वाधारको संवेदनशीलता तथा जलवायु परिवर्तनका प्रभावलाई समेत ध्यानमा राखेर योजना तयार पारिएको छ । विपत् हुनुअघि नै तयारी सुदृढ बनाउने र विपत् भए तत्काल उद्धार तथा राहतलाई प्रभावकारी बनाउने उद्देश्यले कार्ययोजना परिमार्जन गरिएको उहाँले बताउनुभयो ।

यता नेपाल प्रहरीले पनि मनसुनजन्य विपत्सँग जुध्न देशभर सुरक्षा तयारीलाई तीव्र बनाएको जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान, जनशक्ति परिचालन, उद्धार सामग्री व्यवस्थापन तथा नागरिक सचेतनाका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै प्रहरीलाई उच्च सतर्क अवस्थामा राखिएको बताउनुभयो । उहाँका अनुसार पहिरो जान सक्ने सम्भावित क्षेत्र पहिचान गरी निगरानी बढाइएको छ भने बाढी तथा पहिरोका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध हुन नदिन विशेष सतर्कता अपनाइएको छ ।

“विपत्बाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न दक्ष र स्रोतसाधनयुक्त प्रहरी कर्मचारी तयारी अवस्थामा छन्,” उहाँले भन्नुभयो, “देशभरका प्रहरी युनिटलाई आवश्यक निर्देशन दिइसकिएको छ र उद्धार सामग्री प्रदेश प्रदेशमा पठाइसकिएको छ ।”

प्रहरीले बाढीपहिरो तथा भत्किएका संरचनामा फसेका नागरिकको उद्धार, आगलागी नियन्त्रण तथा आकस्मिक प्रतिकार्यसम्बन्धी पूर्वाभ्याससमेत सम्पन्न गरिसकेको जनाएको छ । जिल्ला सुरक्षा समितिले विगतका विपत्जन्य घटनाको अभिलेखका आधारमा यस वर्ष उच्च जोखिममा पर्न सक्ने क्षेत्रको पहिचान गरी स्थानीय तहसँग समन्वय बढाएका छन् । यसैबिच विपत् प्रतिकार्य क्षमतालाई थप प्रभावकारी बनाउन प्रहरीले शुक्रबार बूढानीलकण्ठ नगरपालिका कपनस्थित केन्द्रीय विशेष कार्यदलमा विशेष अभ्यास प्रदर्शन गरेको थियो ।