• ९ मंसिर २०८२, मङ्गलबार

पर्यटकीय सम्भावनाले भरिएको मङ्गलाको चाङ्गा खर्क

blog

पर्यटकीय स्थल चाङ्गा खर्कमा पुगेका आन्तरिक पर्यटक र हिमालको दृश्य । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
चाङ्गा, मङ्सिर ९ गते ।
प्राकृतिक सुन्दरता, शान्त वातावरण र हिमश्रृङ्खलाको सुन्दर दृश्य अवलोकन गर्न सकिने मङ्गगला गाउँपालिका–५, चाङ्गा खर्क पर्यटकीय सम्भावनाले भरिपूर्ण भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।

समुन्द्री सतहदेखि दुई हजार दुई सय ५० मिटरको उचाईमा रहेको चाङ्गा खर्कबाट  पुथा हिमालदेखि धम्पुस हिमालसम्मको दृश्यवलोकन गर्न सकिन्छ । यहाँबाट बिहानीपख सूर्याेदय र साँझ सूर्यास्तको सुन्दर दृश्य पनि अवलोकन गर्न सकिन्छ ।

पुथा, गुर्जा, सिता, चुरेन, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र धम्पुस लगायत एक दर्जनभन्दा बढी हिमालको एकै ठाउँबाट अवलोकन गर्न सकिने चाङ्गा खर्क उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावनायुक्त क्षेत्र भए पनि प्रचारप्रसार र पर्यटकीय पूर्वाधारको अभावमा ओझेलमा परेको स्थानीयवासी मेखबहादुर बुढाथोकीले बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘‘चाङ्गा खर्क सिर्कुम गाउँको शिरमा पर्दछ । यहाँ १७ घरपरिवार बसोवास गर्दछन् । मङ्गला गाउँपालिकाको केन्द्रदेखि यहाँसम्म आउनका लागि सडक सुविधा उपलब्ध छ । हिमालको काखमा शान्त र प्राकृतिक वातावरण छ ।’’

प्राकृतिक रूपमा मनोरम स्थल भएकाले गाउँपालिकाले चाङ्गा क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्ने योजनाका साथ पर्यटन पूर्वाधार निर्माण र प्रचारप्रसारलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

चाङ्गा खर्क पर्यटकीय हिसाबले सम्भावनायुक्त क्षेत्र भएकाले पर्यटन पूर्वाधार निर्माण, सडक स्तरोन्नति र पर्यटकको सुविधाका लागि होमस्टे सञ्चालन गर्नसकेमा आन्तरिक पर्यटकको आकर्षकको केन्द्र बनाउने सकिने वडा नम्बर ५ का वडाध्यक्ष भुपेन्द्रबहादुर खत्रीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘चाङ्गालाई पर्यटकीय स्थलका रूपमा विकास गरी यहाँका स्थानीयहरूको जीवनस्तर उकास्ने हाम्रो लक्ष्य छ । यस क्षेत्र पशुपालन र कृषि उत्पादनमा पनि राम्रो भएकाले यहाँ आउने पर्यटकलाई स्थानीय अर्गानिक परिकारहरूले स्वागत गर्न सकिन्छ ।’’ चाङ्गादेखि बागलुङ र म्याग्दीको सिमानामा रहेको धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल तिनचुलेसम्म पदमार्ग निर्माण गर्ने योजना रहेको उहाँको भनाइ छ ।


बेनी–दरबाङ सडक हुँदै मङ्गला गाउँपालिकाको केन्द्र बावियाचौर पुगेपछि त्यहाँदेखि म्याग्दी खोला पार गरेपछि पिपलबोट, पाँखु, धारा, सिर्कुम, टिकाबाङ जस्ता ग्रामीण बस्तीहरू हुँदै पर्यटकीय स्थल चाङ्गा पुग्न सकिन्छ । यहाँका स्थानीय आमा समुहले पर्यटकलाई स्वागत गर्ने राम्रो संस्कार र संस्कृति पनि छ ।

बेनीदेखि गौश्वारा, बेलढुङ्गा, चिनाकोट दरबार, झाक्रीपानी, तिनचुले, चाङ्गा, निस्कोट, रुमको दुरुलेकसम्मका पर्यटकीय स्थलहरूलाई समावेश गरेर ग्रामीण पदमार्गको विकास गर्न सकेमा आन्तरिक एवम् बाह्यै पर्यटक ल्याउन सकिने चाङ्गाको भ्रमणमा आउनुभएका धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताउनभुयो ।