• ९ मंसिर २०८२, मङ्गलबार

गृहमन्त्री अर्यालबाट प्रदेशस्तरीय सुरक्षा गोष्ठीको शुभारम्भ

‘सुशासनलाई बलियो बनाउँदै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं’

blog

रुपन्देहीको भैरहवामा मङ्गलबार आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सम्बाेधन गर्नुहुँदै गृहमन्त्री ओमप्रकाश अर्याल । तस्बिर : भरत केसी / रासस

भैरहवा, मङ्सिर ९ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखी जेनजी युवाहरुबाट भदौ २३ र २४ गते भएको प्रदर्शन पश्चात् विषम परिस्थितिमा यो सरकार गठन भएकाले नै यो त्रासदिपूर्ण अवस्थालाई पार लगाउँदै सुरक्षाको अवस्थालाई सामान्य बनाउन सरकार सफल भएका बताउनुभएको छ ।

गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशद्वारा मङ्गलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी–२०८२ कार्यक्रममा आफ्नो उद्घाटन मन्तव्य राख्नु हुँदै मन्त्री अर्यालले सो कुरा बताउनु भएको हो ।  

अहिलेको सामान्य परिस्थितिमा आइपुग्न हामी सबैको अथक प्रयास र मिहिनेतको महत्त्वपूर्ण प्रयासका कारण मात्र शान्ति सुरक्षाको सामान्य अवस्था सम्भव भएको बताउनुहुँदै, मन्त्री अर्यालले सुशासन प्रवर्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारको रहेको बताउनुभयो ।

“हामी यसैलाई मूलमन्त्र मानेर काम गरिरहेका छौं । विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र  गर्न सक्दैनन् भन्ने कुराहरु कहिँ कतै सुनिएका छन् । सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयहरुलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ र दिईरहेको छ,’’ मन्त्री अर्यालले भन्नुभयो ।


“वर्तमान सरकार कसैको निगाहामा बनेको सरकार होइन । हामी कुनै अपेक्षाले आएका होइनौ र हाम्रो व्यक्तिगत इच्छाले आएका होइनौ । देशको विशिष्ट अवस्थामा, शून्यतालाई पूरा गर्न परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा त्यसका लागि आएका हौं । हामीलाई कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ छैन । प्राप्त जिम्मेवारीलाई अर्जुन दृष्टिमा राखेर सो हासिल गर्ने दिशामा सरकार केन्द्रित छ । त्यसैले हामी सुशासनको आधार बलियो बनाउने, भोलिको दिनमा विगार्न नसक्ने वातावरण तयार गरी निर्वाचीत सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं,’’ गृह मन्त्री अर्यालले भन्नुभयो ।  

हाम्रा छोराछोरीले हाम्रो कार्यसम्पादनको शैलीमा यत्रो प्रश्न उठाइसकेपछि पनि हामी नसच्चिने हो, एकले अर्कालाई दोषारोपण गर्ने, सहिलाई सहि र खराबलाई खराब नभनी आफ्नो अनुकूलतामा ब्याख्या गर्दै जाने हो भने फेरी अर्को दुर्घटना नहोला भन्न सकिन्न, भन्नुभयो । यसैले आफ्ना अभिव्यक्तिहरुलाई दिइरहँदा यसतर्फ पनि सबैको जिम्मेवारीबोध गर्न हुन अनुरोध गर्नुभयो ।

“भयरहित निस्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरुमध्ये यो सुरक्षा गोष्ठी पनि एक हो । हामीले यस सुरक्षा गोष्ठीमा लुम्बिनि प्रदेशको सुरक्षा चुनौती सश्लेषण गर्ने, त्यसका लागि आवश्यक रणनीति तय गर्ने, निर्वाचनका लागि आवश्यक तयारी गर्ने छौं,’’ मन्त्री अर्यालले भन्नुभयो ।  

यस सुरक्षा गोष्ठीले सबैलाई आश्वस्त पार्ने गरी निर्वाचनको सुरक्षा तयारी गर्नेमा समेत मन्त्री अर्यालले विश्वास व्यक्त गर्नुभयो को विशास छ ।


शान्ति सुव्यवस्था कायम गर्न एवम् निर्वाचनको वातावरण सृजनामा प्रदेश सरकारको पनि भूमिका उत्तीकै महत्त्वपूर्ण रहनेमासमेत मन्त्री अर्यालले जोड दिनुभयो ।

सरकारले निर्वाचन पूर्व, निर्वाचनको अवधि र निर्वाचन पश्चातका कार्यहरुमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरु बनाएको पनि गोष्ठीमा बताउनुभयो । केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढ प्रादेशिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने छ भन्ने मैले विश्वास लिएको छु, मन्त्री अर्यालले भन्नुभयो ।

राजनीतिक दलहरुले लुटिएका हतियार र फरार कैदी बन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औंल्याउनु भएको छ । हामीले धेरै परिणाममा विशेष अपरेसन मार्फत् यी हतियार फिर्ता ल्याईसकेक र ठुलो सङ्ख्यामा कैदीहरु पनि फिर्ता भइसकेका जानकारी गराउनुभयो ।

मन्त्री अर्यालले गोष्ठीमा गृह र प्रदेश सरकारका यी प्रयासहरुका बारेमा समीक्षा गरी थप प्रभावकारीरुपमा अगाडि बढ्ने गरी रणनीति तय गर्नेमा समेत विश्वास लिनुभयो ।

यस्तै, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन मन्तव्य राख्नु हुँदै प्रदेश र समग्र देशमा सुशासन कायम गर्न र भ्रष्टाचारको जरो मूलबाट नै  नियन्त्रण गर्न प्रदेश सरकारले पनि उत्तिकै काम गरिरहेको बताउनुभयो । उहाँले प्रदेशमासमेत २४ गतेको घटनाको बारेमा जेनजी युवाहरुले नगरेको बताउनुहुँदै त्यसमा घुसपैठ भएको बताउनुभयो । फागुनको चुनाव भयरहित वातावरणमा सम्पन्न गर्न पनि अहिलेको हतियार फिर्ता नभए र बाहिर रहेका कैदी बन्दी पुन पक्राउ नगर्ने हो भने चुनाव हुन मुस्किल हुने बताउनुभयो ।   

कार्यक्रममा स्वागत मन्तव्यसहित सुरक्षा गोष्ठीको उद्देश्य तथा कार्यक्रममाथि प्रकाश पार्नु हुँदै सहसचिव सुरेश पन्थीले सबै तहका सरकार अहिले विशेष परिस्थितिमा रहेकाले अहिलेको मुख्य कार्यभार भने देशमा शान्ति सुरक्षा कायम गर्दै फागुन २१ गते चुनाव गराउनु सबै राष्ट्र सेवक कर्मचारीको दायित्व रहेको कुरा बताउनुभयो ।  

सहसचिव पन्थीले यस गोष्ठीबाट प्रदेशको समग्र सुरक्षा चुनौती पहिचान गर्दै यसका लागि आवश्यक रणनीति बनाएर काम गर्न गोष्ठी सहयोग सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले विद्यमान हाम्रा कार्यशैलीमासमेत समीक्षा गर्नु पर्ने धारणा राख्नुभयो ।  

गोष्ठीमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका तीनै सुरक्षा निकायका प्रमुखहरु दानबहादुर कार्की, राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, लुम्बिनी प्रदेश प्रमुख सचिव कृष्ण प्रसाद काप्री, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, नेपाली सेनाका मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति तथा उपरथी प्रेम बहादुर पुन, गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले, गृह मन्त्रालय नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सुरेश पन्थी, आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्बिनी प्रदेशका सचिव लोकबहादुर सुनार, प्रदेश सुरक्षा निकायका पदाधिकारीहरु र सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारीहरु तथा विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको छ ।